ad ad

राजनीति


धरानका नयाँ मेयर भन्छन्ः कर प्रणाली अवैज्ञानिक छ, पुनरावलोकन हुन्छ

धरानका नयाँ मेयर भन्छन्ः कर प्रणाली अवैज्ञानिक छ, पुनरावलोकन हुन्छ

सागर न्यौपाने
मंसिर १७, २०७६ मंगलबार ११:४,

मंसिर १४ गते ३७ जिल्लामा भएको विभिन्न ५२ रिक्त पदको उपनिर्वाचनमध्ये सुनसरीको धरान उपमहानगरपालिकाको नतिजा धेरैका लागि सबैभन्दा अप्रत्यासित लाग्यो। प्रमुख प्रतिपक्षी कांग्रेसले सत्तारुढ नेकपालाई ठूलो धक्का दिँदै धरानको मेयर पद खोस्न सफल भयो।

२०४८ सालदेखि कम्युनिष्ट गढका रुपमा रहेको उक्त क्षेत्रमा कांग्रेसले २८ वर्षपछि विजयी शुरुवात गर्याे। कांग्रेस नेताहरुले सो नतिजालाई ‘लालकिल्ला ढालेको’ भनी ठूलो उपलब्धीको रुपमा चर्चा गरे। नेकपाभित्र भने धरानको क्षतिलाई गम्भिररुपमा लिनुपर्ने भन्दै पार्टीभित्र समीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ।

सत्तारुढ नेकपाका मेयर उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतअन्तरले पराजित गरेका नेपाली कांग्रेसका तिलक राईले आफूले ३० वर्षसम्म उक्त क्षेत्रमा गरेको योगदानको जनताले कदर गरेको बताए।

नेपालखबरसँग कुरा गर्दै उनले कम्युनिष्टले अपुरो र अलपत्र पारेका केही योजना पूरा गर्ने दाबी गरे। उपनिर्वाचनमा कांग्रेसका शीर्ष नेताहरुलाई अहोरात्र खटाएका राईसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

२८ वर्षपछि कम्युनिष्ट गढ भत्काउन कसरी संभव भयो?
जनताको मनोभावना मुख्य कुरा हो। मैले केही गर्छ भन्ने जनतालाई लाग्यो। मुख्य कुरा म धरानमै जन्मेर हुर्केको हुँ। धराने जनताको सुख दुखमा ३० वर्षदेखि लागेको छु। यहाँका जनताले मेरो व्यवहार निहालिरहनुभएको छ। जे बोल्छु त्यो गर्छु भन्ने कुरा सबैले महसुस गर्नुभयो। मलाई मत दिनुभयो, त्यसले गर्दा जित्न संभव भयो।

तर, यसअघि २०७४ मा पनि तपाईँ नै उमेदवार हुनुहुन्थ्यो। त्यसबेला जनताले किन पत्याएनन। अहिले के कुराले जनता आकर्षित भए?
म यसअघिको चुनावमा पनि उमेदवार थिएँ। त्यसबेला माओवादी केन्द्रको उमेदवार नभएको भए अहिलेको जस्तै नतिजा आउथ्यो। अर्को कुरा त्यसबेला कम्युनिष्टले जितेपछि यो क्षेत्रमा जुनरुपमा काम हुनुपथ्र्यो, त्यो भएको छैन। अपुरा, अधुरा काम धेरै छन्। विमानस्थल निर्माण, सडक निर्माण, धारा पानीको व्यवस्था गर्ने कुरामा जनतालाई मैले विश्वस्त पारेको छु। यसअघिका त्यहाँका मेयरहरुले यी काम नगरेका कारण जनताले मलाई मत दिएका हुन्। अब त्यसलाई पूरा गर्छु।

त्यहाँ स्थानीय करको पनि एजेन्डा रहेछ। त्यसलाई पनि चुनावी एजेण्डा बनाउनुभएको रहेछ, होइन?
चुनावको एजेण्डा बनाउने भन्दा पनि कर बैज्ञानिक छैन यसलाई बैज्ञानिक र व्यवहारिक बनाउने प्रतिवद्धता जनाएको हुँ। किनभने मनपरी पाराले जनतालाई अनावश्यक बोझ थप्नेगरी कर लगाउनु हुन्न। सबैतिरको अभ्यास हेरेर कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो जोड हो।

भन्नाले अब कर घटाउनुहुन्छ?
अब पुनरावलोकन गर्नुपर्छ। कर प्रणाली अवैज्ञानिक छ, यसको पूनःमूल्यांकन गर्नुपर्छ, घटाउने बढाउने भन्दा पनि व्यवहारिक र वैज्ञानिक बनाउने हो। विज्ञसँग राय लिएर सबैको सुझावका आधारमा निर्णय गरेर विधि स्थापित गराउनुपर्छ। आवश्यकताका आधारमा घट्न पनि सक्छ।

याे पनिः  नेकपा नेता भन्छनः करको कारण गुम्यो धरान

जातीय नारा पनि उचाल्नुभयो भन्दा रहेछन्?
जातीय भन्दा पनि त्यहाँका जनतारमतदाताको भावनाको कदर गरिनुपर्छ भन्ने हो। सत्तारुढ दल नेकपाले सबैतिर गरेको व्यवहार धरानमा कार्यान्वयन गरायो कि गराएनरु मुख्य कुरा यसमा छ। मैले पटक पटक भनेको छु, जे बोल्छु त्यो गर्छु। नसक्ने कुरा, जनतालाई अपाच्य हुने कुरा मैले गर्दिन। ३० वर्षको मेरो राजनीतिक जीवनमा जनताले मलाई चिनेको यही कुरामा हो। इमान्दारिता र सामाजिक सेवा भावना मसँग छ।

कांग्रेसका सबैजसो नेता धरानमा उतार्नुभयो नि?
त्यो त चुनाव प्रचारमा नेताहरु आउनुहुन्छ नै। नेकपाका पनि आउनुभयो। हाम्रा पनि शीर्ष नेता आउनुभयो। मुख्य कुरा उम्मेदवारको इमान्दारिता र काम गर्छ भन्ने विश्वास हो। मैले त्यो विश्वास दिलाएको छु।

अब के के गर्ने योजना के के छन्?
चुनावमा प्रतिवद्धता जनाएका कुरालाई कार्यान्वयन गर्छु। अलपत्र अवस्थामा रहेका विकास योजना सम्पन्न गराउनु छ। विमानस्थल, बाटाघाटा, खानेपानीको व्यवस्थापन तत्काल गराउनुपर्नेछ, त्यसमै केन्द्रीत हुन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .