सामूहिक स्वयंवर मञ्चमा बसेका दुलाहा आस्तिककुमार साह निकै हर्षित देखिन्थे। नहुन् पनि किन, उनी डेढ वर्षदेखिको प्रेमलाई विवाहमा बदल्ने वचन पूरा गर्दै थिए।
धनुषाको नगराइन नगरपालिका ६ लग्माका २१ वर्षीय आस्तिक जनकपुर उपमहानगरपालिका १० की २० वर्षीया प्रियंका गुप्तासँग स्वयंवरका लागि तयार थिए। उनीहरुसँगै जम्मा ३७ जोडीको विवाह हुँदै थियो। त्यो पनि १० औँ हजार मानिसको माझमा।
र, यो सामूहिक विवाहका लागि मञ्चमा बसेकाहरु आफ्नो जीवनसाथीसँग लगनगाँठो मात्र कसिरहेका थिएनन्, युगौँदेखि कुरीतिको रुपमा जरा गाडेर बसेको दाइजोप्रथालाई पनि चुनौती दिइरहेका थिए।
‘विनाखर्च आदर्श विवाह गर्ने हामी दुईको वाचा पूरा हुँदैछ, हाम्रो अभिभावक मानिरहनु भएको थिएन तर हामीले मनायौँ,’ दुलाहा आस्तिकले भने, ‘दाइजोको कुरा आएको थियो। तर, दाइजो नलिन पनि हामीले उहाँहरुलाई मनायौँ।’
उनले हजारौँलाई साक्षी राखेर विवाह गर्न पाउनु आफूहरुका लागि सौभाग्यको कुरा भएको बताए।
‘दाइजो प्रथा हटाउनुपर्छ भन्ने संदेश दिन हामीले यहाँ विवाह गर्न लागेका हौं, यो भन्दा ठुलो खुसी के हुन सक्छ र !’ उनले भने।
आस्तिक जस्तै खुसी थिए सप्तरीका बिहुलाका २२ वर्षीय दुलाहा भवेन्द्रकुमार यादव। उनी राजविराजकी २१ वर्षीया रिना ठाकुरसँग अन्तरजातीय विवाह गर्ने तयारीमा थिए।
जातीय भेदभावले जकडिएको समाजमा पक्कै पनि अन्तरजातीय विवाह गर्न उनीहरुलाई सहज थिएन। सुरुमा उनीहरुले घरपरिवारलाई मनाउने कोसिस गरे। विनादाइजो, त्यसमाथि अन्तरजातीय, परिवारले उनीहरुको विवाहलाई स्वीकार गरेन।
अन्ततः दुवैजना सामूहिक विवाहमा सामेल हुने निधोमा पुगे। घरपरिवारको साथ नपाए पनि हजारौँ मानिसले उनीहरुको साहसलाई अनुमोदन गरे, आशीर्वाद दिए।
त्यसैले यो क्षण यादवका लागि सुखद् सपनाभन्दा पनि सुन्दर थियो।
‘अन्तरजातीय भएकाले परिवारले स्वीकार्न मानेन। त्यसमा पनि दाइजोको कुरा चल्यो। हामीले विवाहको ढिपी छाडेनौँ। परिवारले पनि खर्च दिन अस्वीकार गर्यो,’ यादवले सुनाए, ‘यस्तो बेला सामूहिक विवाह हुँदैछ भनेपछि हामी पनि यहीँ विवाह गर्न राजी भयौं। विवाह गर्दैछौँ र खुसी छौँ। जातपातको भेदभाव र दाइजो प्रथालाई हटाउनुपर्छ।’
विवाहको सम्पूर्ण व्यवस्थापन विश्व हिन्दु परिषदले गरेको थियो। धार्मिक मान्यताअनुसार त्रेता युगमा सीता र रामको विवाह भएकै मणिमण्डपमा पहिलो पटक परिषदले सामूहिक विवाह आयोजना गरेको थियो। १०८ जोडीको विवाह गरिने बताइएपनि मञ्चमा ३७ जोडी मात्र भेटिए।
मधेसमा कलंकको रुपमा रहेको दाइजो, बालविवाह, जातीय भेदभावजस्ता कुरीतिविरुद्ध चन्दा उठाएर ३७ जोडीको आदर्श विवाह गरिएको परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए।
मञ्च कमसल भएकाले भत्केपछि सोमबार साँझ सामूहिक स्वयंवर हुन सकेन। तर, विवाहको लागि तयार गरिएको वेदीमा सबै जोडीको वैदिक परम्पराअनुसार सोमबार राति विवाह सम्पन्न भएको छ।
सबैको विवाहको खानपानको खर्च, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र, आदि चन्दाको रकमबाट जुटाइएको परिषदका अध्यक्ष धनुषधारी पाण्डेले बताए। सामूहिक विवाहमा बेहुलाबेहुलीको उमेर कानुन अनुसार पुगेको हुनुपर्ने सर्त राखिएको थियो।
विवाहका लागि मागिएको आवेदन फारममा वरबधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता माग गरिएको परिषदको भातृ संगठन सन्त मार्ग दर्शन मण्डलका सहसंयोजक महन्थ लक्ष्मण दासले बताए।
‘दाइजो प्रथा, बालविवाहलाई निरुत्साहित गर्न र आदर्श विवाहको प्रचलनलाई स्थापित गर्न यो विवाह समारोह आयोजना गरिएको हो,’ उनले भने, ‘विवाह गर्ने जोडीहरु गाउँ गाउँबाट छनौट गरेका थियौं।’
विवाह हेर्न आएका हजारौँलाई भोज समेत खुवाइएको थियो।
‘मधेसमा छोरी जन्मिनेबित्तिकैदेखि अभिभावकलाई बोझ लाग्न थाल्छन्, दुःखको दिन सुरु भएजस्तो महसुस गर्छन्। यसको कारण नै दाइजो हो। जसका कारण भ्रुणमै लिंग पहिचान गरी छोरीको हत्या गर्ने प्रवृत्ति देखिएको छ,’ प्रदेश सांसद रामआशिष यादवले भने ‘बालविवाह र दाइजो प्रथा विरुद्ध यो आदर्श विवाहले ठूलो संदेश दिएको छ।’
प्रतिक्रिया