ad ad

राजनीति


वैकल्पिक राजनीतिको घनचक्कर : प्रचण्डदेखि रवि लामिछानेसम्म

वैकल्पिक राजनीतिको घनचक्कर : प्रचण्डदेखि रवि लामिछानेसम्म

अरुण बराल
असार ९, २०७९ बिहिबार १८:२४, काठमाडौँ

कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीको विकल्पमा नयाँ दल खोलेर राजनीतिमा सक्रिय रहेका विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय चुनावलगत्तै सामाजिक सञ्जालमा निराशाजनक अभिव्यक्ति दिए– अब म खुइलिएँ। 

मिश्रले लेखे, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, तपाईँलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस् – यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ!’

पूर्वपत्रकारसमेत रहेका मिश्र असल नियत बोकेर राजनीतिमा आएका  पात्र हुन्। तर, केही वर्षयता उनले पार्टीभित्र र बाहिर दुवैतिर चुनौतीको सामना गर्नुपर्यो। खासगरी विवेकशील साझा पार्टीभित्रैबाट समेत उनलाई ‘खुइल्याउने’ काम भयो।

स्थानीय चुनावमा पार्टीले सफलता नपाएपछि मिडियाले पनि मिश्रलाई ‘असफल’ सावित गर्न खोज्यो, जसका कारण चरम निराशा प्रकट भएको उनको अभिव्यक्तिमा प्रकट हुन्छ।

यसबीचमा मिश्रले समातेको ‘राजेन्द्र लिङ्देन निकटको राजनीतिक लाइन’ ले पनि उनलाई थप आलोचनाको शिकार बनायो।

वैकल्पिक राजनीतिको जग बसाउने मिश्रको अभियानमा किन धक्का लाग्यो? अब विवेकशील साझा पार्टीको भविष्य के हुन्छ? यस विषयमा प्रवेश गर्नुपूर्व वैकल्पिक राजनीतिका अर्का अभियन्ताको दुःखेसो सुनौं–

राजनीतिक विश्लेषक डम्बर खतिवडा

राजनीतिक विश्लेषक डम्बर खतिवडा अहिले डा. बाबुराम भट्टराईसँगै जनता समाजवादी पार्टीको नेतृत्व तहमा छन्। खतिवडाले पनि स्थानीय चुनावमा बालेन्द्र शाहको जितपछि सामाजिक सञ्जालमार्फत वैकल्पिक राजनीतिबारे केही प्रश्न उठाएका छन्।  

खतिवडा आफैंले हिँडिरहेको वैकल्पिक बाटोमा प्रश्न तेर्स्याउँदै सामाजिक सञ्जालमा लेख्छन्, ‘स्थानीय निर्वाचन परिणाम समीक्षाका अनेक पक्ष र आयाम होलान्। मेरो मनलाई सबैभन्दा धेरै सताउने प्रश्न चाहिँ वैकल्पिक राजनीति र राजनीतिक विकल्पको प्रयास किन अझै प्रभावकारी हुन सकेन?’

खतिवडा अगाडि लेख्छन्, ‘एकातिर मान्छे विकल्प चाहियो भनिरहेका हुन्छन्, अर्काेतिर केही अपवाद छोडेर अधिकांश पुरातन दलहरुले नै मत किन पाइरहेका छन्? विकल्प दिन्छौँ भन्नेहरु किन यति फितला भए?’

वैकल्पिक राजनीतिका व्याख्याकार खतिवडाको थप प्रश्न छ, ‘जनविश्वास हासिल गरी परिणाम पनि दिन सक्ने ल्याकत राख्ने वैकल्पिक प्रगतिशील–लोकतन्त्रिक दलको आवश्यकता कसले र कसरी पूरा गर्न सक्ला? के बितेका ३ दशक जस्तै अझै केही दशक खेर जाने हो?’

खतिवडाले उठाएका प्रश्नमाथि विचरण गर्नुअघि स्वयं उनकै राजनीतिक यात्राको चर्चा गरौं।

विगतमा नेकपा एमालेको सुनसरी जिल्ला नेतृत्वमा रहेर काम गरेका खतिवडा सादगी एवं अध्ययनशील चिन्तक हुन्। इटहरीमा कलेज पढाउँदै गर्दा खतिवडाले डिल्लीराम सिग्देल, केशव दाहाल र मोहन तिमल्सिनासँग मिलेर वैकल्पिक राजनीतिको जग बसाएका थिए। उनीहरुले इटहरीमा ‘वैकल्पिक विचार मञ्च’ खोलेका थिए।

पछि खतिवडा कलेजको जागिर छाडेर काठमाडौं आए र राजनीतिमा सक्रिय बने। आफ्ना सहयात्री केशव दाहालसँगै उनी डा. बाबुराम  भट्टराईको नयाँ शक्ति पार्टीमा लागे।

पूर्वप्रधानमन्त्री डा. भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी खोलेर कांग्रेस, एमाले र माओवादीको विकल्प दिन सकिन्छ भन्ने खतिवडा र दाहाललाई विश्वास थियो।

लेखक तथा विचारकको छवि बनाएका केशव दाहालले नयाँ शक्ति पार्टी छाडेर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी रोजे। तर, खतिवडा चाहिँ अझै डा. भट्टराईसँगै छन्। 

करिब आधा दशक बढी समय वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेका एक बुद्धिजीवीका रुपमा डम्बर खतिवडाले लामो अनुभव सँगालेका छन्। उनले यही तीतो अनुभवकै आधारमा प्रश्न उठाएका हुन्– मेरो मनलाई सबैभन्दा धेरै सताउने प्रश्न– वैकल्पिक राजनीति र राजनीतिक विकल्पको प्रयास किन अझै प्रभावकारी हुन सकेन?’

वैकल्पिक विचार मञ्च इटहरीका अभियन्ता डिल्लीराम सिग्देल, डम्बर खतिवडा, केशव दाहाल र मोहन तिम्सिना 

खतिवडाले वैकल्पिक विचार मञ्चलाई नयाँ शक्ति पार्टीमा समाहित गराउँदै गर्दा पनि एउटा गम्भीर प्रश्न उठाएका थिए– आम आदमीका नेता केजरीवालले पार्टी खोलेको १३ महिनामा दिल्ली कब्जा गरे, तर हामीले चार वर्षसम्म इटहरीमा प्रभाव बनाउन सकेनौँ।

आखिर किन यस्तो भयो त? वैकल्पिक विचारमञ्चका अभियन्ता मोहन तिम्सिनाका अनुसार वैकल्पिक राजनीति सफल नहुनुका पछाडि मूलतः दुईवटा कारण छन्। तिम्सिना भन्छन्–

‘पहिलो, जतिखेर हामीले सुरु गर्यौं, हामीसँग वैकल्पिक राजनीतिसम्बन्धी अवधारणा नै रहेनछ। नयाँ केही गर्नुपर्छ भन्ने हाम्रो मनमा भावनात्मक कुरा चाहिँ रहेछ तर त्यसको वैचारिक दिशा निर्देशन चाँहि हामीले जुन अनुसन्धानबाट पत्ता लगाउनुपर्थ्यो, त्यो चाहिँ गरेका रहेनछौँ।’

दोस्रो, माथि–माथि गफ गर्नेखालका सतही बुझाइहरु विकास भए। सतही कुरा गर्ने तर जनताको एजेण्डामा पस्ने राजनीतितिर ध्यान गएन। अर्थात् वैकल्पिक राजनीति वर्तमानमुखी हुनुपर्थ्यो। तर, कोही अतितमुखी भए, कोही भविष्यमुखी भए। वर्तमानमुखी कोही पनि भएनन्। हामी पनि भविष्यमुखी भइयो।’

अब बाबुराम भट्टराईको नयाँ शक्तिको चर्चा गरौं।        

१२ जुन २०१६ मा नयाँ शक्ति पार्टी घोषणा गर्दै डा. बाबुराम भट्टराई

इटहरीको वैकल्पिक विचार मञ्च र पूर्वमाओवादीका नेताहरूसमेत एक ठाउँमा भेला पारेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी स्थापना गरे। नयाँ शक्ति पार्टीलाई सुरुआती चरणमा अभिनेत्री करिश्मा मानन्धरदेखि लिएर पूर्व प्रशासक गणेश राईसम्मले साथ दिए।

०७३ साल जेठ ३० गते दशरथ रङ्गशालाबाट घोषणा गरिएको यो पार्टीले ५ वर्ष, १५ वर्ष र २५ वर्षमा गर्ने कामहरुको फेहरिस्तसहितको घोषणापत्रमा जारी गर्यो र ०७४ को चुनावमा सहभागिता जनायो।

तर, २५ वर्षे भिजनसहित स्थापना भएको तीन वर्षपछि नै नयाँ शक्तिको स्वतन्त्र अस्तित्व समाप्त भयो। पूर्वमाओवादीबाट डा. भट्टराईलाई साथ दिँदै नयाँ शक्तिमा आएका देवेन्द्र पौडेल (हाल शिक्षामन्त्री), खिमलाल देवकोटा, देवेन्द्र पराजुली आदि नेताहरु माओवादीमै फर्किए। डा. भट्टराईलाई साथ दिएका पूर्व प्रशासक गणेश राई, रामेश्वर खनालहरू पनि विस्तारै टाढिँदै गए। करिश्मा मानन्धरदेखि गंगा चौधरी सत्गौवासम्म उछिट्टिएर एमालेमा पुगे।  

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नयाँ शक्ति पार्टीलाई स्थापनाको तीन वर्ष नपुग्दै ०७६ बैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग मिसाए।

उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराई मिलेर मधेसी, जनजाति अनि खस आर्यको प्रतिनिधित्व गर्दै वैकल्पिक पार्टी बनाउने दाबी गरिएको थियो।

यही क्रममा संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादीले महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राजपालाई समेत जोडेर कांग्रेस–एमालेको विकल्प बन्ने प्रयास गर्यो। यही प्रयासस्वरुप बन्यो– जनता समाजवादी पार्टी (जसपा)। हाल डा. भट्टराई यही पार्टीको संघीय परिषद अध्यक्ष छन्।

डा. बाबुराम भट्टराई, अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ जस्ता नेताहरुको सहभागिता रहेको यो पार्टी एमाले र काँग्रेसको विकल्प बन्ने योजनामा थियो। ठूला पार्टीमा जनताको वितृष्णा बढिरहेका बेला चौथो विकल्प बन्ने सम्भावना पनि नभएको होइन।

तर, ०७७ साल बैशाख १० गते राति समाजवादी र राजपाबीच एकता भएर बनेको जनता समाजवादी पार्टीका नेताहरु आपसमा मिल्न सकेनन्। अहिले जसपा र राजपा (लोसपा) फुटिसकेका छन्। अब फेरि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि पार्टी फुटाउने योजनामा छन्।

तत्कालीन संघीय समाजवादी र राजपाबीच एकता सहमतिपछि नेताहरु

विगत लामो समयदेखि डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका जसपाका युवा नेता गंगा नारायण श्रेष्ठ नयाँ शक्ति पार्टी असफल नै भयो भन्न नमिल्ने बताउँछन्।

श्रेष्ठले नेपालखबरसँग कुरा गर्दै भने, ‘नयाँ शक्ति असफल भयो भन्ने पदावली प्रयोग नगरौँ। नयाँ शक्ति संस्थागत रुपमा बनेको हो, विघटन हैन, रुपान्तरण हुँदै अहिले जनता समाजवादी पार्टी बनेको छ।’

पुराना राजनीतिक दलका नेताहरुले समाज र देशमा रहेको अन्तरविरोधको सही ढंगले सम्वोधन गर्न नसक्दासम्म नयाँ विकल्पको आवश्यकता रहिरहने श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘पुराना शक्तिको नेतृत्व गर्ने नेताले सही काम गर्न नसक्दा विकल्प खोज्ने क्रम चलिरहन्छ।’

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको जसपाले एकीकरणको बाटो रोजे पनि किन आफूलाई बलियो पार्न सकेन? यो प्रश्न निरुत्तरित रहँदै आएको छ। तथापि कहिलेकाहीँ यादवले आफ्नो पार्टी दक्षिणी छिमेकीले फुटाइदिएको गुनासो गर्ने गरेका छन्।

मधेसी जनअधिकार फोरमबाट विजय गच्छदार अलग हुनु, जेपी गुप्ता र राजकिशोर यादवले पार्टी फुटाउनु अनि पछिल्लो समयमा जसपा फुटाएर लोसपा बनाउनुमा दक्षिणको चलखेलले काम गरेको यादव निकट नेताहरुले गुनासो गर्दै आएका छन्।

बाबुरामको नयाँ शक्ति समेत मिसिएर बनेको जसपाले अब कांग्रेस, एमाले र माओवादीको विकल्पमा आफूलाई उभ्याउला या विखण्डनको बाटोमा जाला? स्थानीय चुनावमा माओवादीपछिको चौथो स्थान हासिल गरेको यो पार्टीमा अहिले चरम निराशा पलाएको अवस्था छ।

प्रचण्डपथको ‘फेजआउट’
यतिबेला पुराना पार्टीहरूको चर्चा गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्रको नाम शुरुमै लिने गरिन्छ। त्यसपछि राप्रपा, जसपा, लोसपा, जनमोर्चा आदिको नाम आउँछ। त्यस्तै पुराना नेताहरुको सूचीमा शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डहरूको नाम र अनुहार सुरुमै झलक्क आउँछ।

तर, ०६४ सालतिर फर्केर हेर्ने हो भने माओवादी अध्यक्ष प्रचण्ड वैकल्पिक राजनीतिक धारका नेता थिए। हिंसात्मक संघर्षको पृष्ठभूमिबाट आएता पनि नेपालमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताको स्थापनामा प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनले योगदान पुर्‍याएकै हो। कांग्रेस र एमालेको विकल्पका रुपमा ०६४ मा जनताले माओवादीलाई सिंहदरबारमा पठाएकै हुन्।

तर, प्रचण्ड नेतृत्वको माओवादी यसरी बिग्रियो कि अहिले भ्रष्टाचार र बेथितिको आहालमा माओवादी नेताहरुले पनि काँग्रेस र एमालेसँगै मिलेर एउटै आहालमा पौडी खेलिरहेका छन्। घुस खानेमा माओवादीको नाम पनि काँग्रेस–एमालेसँगै आउँछ।

माओवादी पार्टी आन्तरिक किचलो र संकिर्ण स्वार्थका कारण धुजा धुजा भएर फुटेको छ, फाटेको छ। चुनावमा जति नै सिट ल्याए पनि माओवादी र काँग्रेस–एमालेमा कुनै फरक छैन। तीनवटै दलसँग जनता वाक्क–दिक्क बनेका छन्। प्रचण्डसँग अब इतिहास मात्रै छ, वर्तमान र भविष्य देखिँदैन। मनोगतवाद, परिवारवाद र भ्रष्टताले पार्टीलाई गाँजेको छ। जनतामा अपील गर्न सक्ने क्षमता भएका नेताहरु त्यहाँ देखिँदैनन्।

प्रचण्डले राजनीतिमा अझै आफ्नो औचित्य पुष्टि गर्न गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताको विरुद्ध राजावादीहरुले टाउको उठाउन खोजिरहेको बताउने गरेका छन्। साथै शान्ति प्रक्रियाको पूर्णताका लागि काम गर्न बाँकी रहेको बताउने गरेका छन्। यिनै दुई एजेण्डाका विरोधीहरुले प्रचण्डमाथि प्रहार गरिरहेको उनको तर्क छ। 

तर, अब गणतन्त्र र संघीयता आम जनताको एजेण्डा बनिसकेको छ। संविधान बनिसकेको छ। स्थानीय तहहरु संस्थागत भएका छन्। अब पुरानो भुतको त्रास देखाएर होइन, सुशासन र विकासको माध्यमबाट जनताको मन जित्नुपर्ने बेला छ, जुन कार्यमा प्रचण्ड दिनानुदिन असफल हुँदै गइरहेका छन्। जनताको विश्वास गुमाउँदै गइरहेका छन्। मुलुकको राजनीतिक परिवर्तन र क्रान्तिका योगदान दिएका नेता निर्माणकालमा असफलतातर्फ उन्मुख छन्।    

माओवादीबाट विद्रोह गरेका विप्लव ‘अति वामपन्थी’ विकल्प बन्लान् कि भन्ने कतिपयलाई लागेको थियो। तर, विप्लवको अवसान रविन्द्र मिश्रको जस्तै गरी भइसकेको छ। त्यसैले, अब विप्लव, बाबुराम, मोहन वैद्य वा अरु कोही पूर्वमाओवादी नेताहरुलाई जोडजाड गर्दैमा माओवादी पार्टी नयाँ विकल्प बन्ने चरित्र उसभित्र देखिँदैन। कहिले कांग्रेस त कहिले एमालेको ढोका चहार्दैमा माओवादीको दिन बितिरहेको छ।

आगामी चुनावमा गठबन्धन गरेर सरकारमा च्याँखे थाप्ने चाबी माओवादीले आफ्नो हातमा लिन सक्ला, तर सत्ताको सौदाबाजीबाहेक माओवादीले अरु गर्न सक्ने केही देखिन्न। टाढासम्म जानै पर्दैन, अहिले नै सरकारमा रहेका माओवादी मन्त्रीहरुको भूमिका हेर्दा यो कुरा स्पष्ट हुन्छ।

राजेन्द्र लिङ्देनको ‘ढोडिया’
कमल थापालाई समेत ‘वामपन्थी’ करार गर्दै राप्रपाको नेतृत्व सम्हालेको राजेन्द्र लिङ्देनले महाधिवेशन आसपासको समयमा खब देशै खाउँला जस्तो गरी गर्जन गरेको सुनिन्थ्यो। ‘सबै नेताहरु चोर हुन्’ भन्दै चर्चा बटुलेका लिङ्देनलाई अहिले रवि लामिछानेले चुनौती दिएका छन्।

आगामी चुनावमा राप्रपाले पाउने भोट कांग्रेस, एमाले र माओवादीबाट असन्तुष्टहरुको भोट नै हो। तर, त्यो असन्तुष्ट जनमतलाई समानुपातिक भोटमा कन्भर्ट गरेर आफ्नो बाक्सामा पार्नका लागि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी बनाइसकेका छन्। यो स्थितिमा लिङ्देनको ढोडियामा माछाको संख्या कम हुने सम्भावना बढेको छ।

लिङ्देनले भ्रष्टाचारको विरोध गरेर कांग्रेस र एमालेलाई चुनौती दिन त खोजेका छन्। तर, आर्थिक अनियमिततामा फसेर जोगी भेष धारण गरेका केही व्यक्तिहरुको तस्विर लिङ्देनकै वरिपरि देखिन थालेको छ।

त्यसर्थ नियत पवित्र भए पनि लिङ्देनको पार्टीले  विकल्प दिन सक्ने सम्भावना यो स्थानीय चुनावयताको परिस्थितिले देखाउन सकेन। जसरी स्वतन्त्रहरुको अभियानले साझा विवेकशीललाई कमजोर बनायो, राप्रपालाई पनि स्वतन्त्र अभियानले कमजोर पार्ने देखिएको छ।

यसअर्थमा जसरी विप्लवको ‘देब्रे’ बाटो अलोकप्रिय बन्यो, लिङ्देनको ‘दाहिने’ बाटो पनि बालेन्द्र र रवि लामिछानेका अगाडि ओइलाएको जस्तै देखिन थालेको छ।

पुराना पार्टीभित्रको बहस 
वैकल्पिक राजनीतिको कुरा गर्दा पुरानै पार्टीमा रहेका युवा पुस्ताका नेताहरुको पनि चर्चा हुने गर्छ। जस्तै– कांग्रेसका धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापाहरुले पार्टीभित्रै हस्तक्षेप गरेर सच्याउने दाबी गर्दै आएका छन्।

एमालेका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, एकीकृत समाजवादीकी रामकुमारी झाँक्री  आदिको नाम पनि बेलाबखत उठ्ने गरेको छ। तर, पुराना पार्टीमा अहिलेसम्म भ्रष्टाचार र बेतिथि घटेको छैन। यसले गर्दा पुरानो पार्टीका नयाँ नेताहरूमाथि भरोसा टुट्दै गएको अवस्था छ।

माओवादीभित्र त एकजना महासचिवसमेत चुन्न नसकेको अवस्थामा प्रचण्डको विकल्प खोज्ने कोही बहादुर–बीरंगनाको उत्पति हुने संकेतसम्म देखिँदैन।

अब चर्चा गरौं साझा विवेकशील पार्टीको।

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको पहलमा ‘सेन्टर–लेफ्ट’ लाइनमा नयाँ शक्ति पार्टीको जन्म भएसँगै बीबीसीका पूर्व पत्रकार रवीन्द्र मिश्रको पहलमा ‘सेन्टर–राइट’ धाराको साझा पार्टीको जन्म भयो।

साझा पार्टीले विशेष गरी काठमाडौं शहरको जनमतलाई आकर्षित गर्यो। मिश्रले काठमाडौं १ बाट झण्डै चुनाव जिते। काठमाडौं महानगरपालिकामा साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार मत पाए। बागमती प्रदेशसभामा पार्टीले प्रतिनिधि पठायो। खासगरी काठमाडौंबाट युरोप अमेरिकामा अध्ययन र कामका लागि गएका युवाले रविन्द्र मिश्रलाई सघाए। मिश्रको पार्टीका अगाडि बाबुरामको नयाँ शक्ति पनि झण्डै–झण्डै छायामा पर्यो।

अर्कोतर्फ, रवीन्द्र मिश्रले  साझा पार्टी बनाउनुभन्दा अघि नै अमेरिकाबाट फर्केका उज्जवल थापाले विवेकशील पार्टी खोजिसकेका थिए। सुरुमा बाल संगठनको देशव्यापी सञ्जाल बनाएका थापाले पछि त्यही शक्तिलाई विवेकशीलमा परिचालन गरे। साथै उनले सामाजिक सञ्जालको प्रयोग गरे।

थापाले कोठे बैठकहरूमा मात्र सीमित नभई राजधानीमा धुलो र बेथितिका विरुद्ध सक्रिय अभियान चलाए। नेपाल बन्दको विरोध गरे। यी सबै कार्यक्रमले गर्दा विवेकशीलले शक्ति आर्जन गर्यो। फलतः विवेकशीलकी रञ्जु दर्शनाले ०७४ मा काठमाडौंको मेयरमा २३ हजार बढी मत ल्याइन्।

०७४ को चुनावपछि विवेकशील र साझा पार्टी एक भए। तर, उनीहरु फरक कार्यशैली र विचारका कारण एक ठाउँमा बस्न सकेनन्। अहिले विवेकशील साझा पार्टी ४ टुक्रामा विभाजित भएको छ। विवेकशीलका नेता–कार्यकर्ताहरु पार्टीलाई बिर्सेर ‘स्वतन्त्र अभियान’ तिर लागेका छन्।

स्थानीय चुनावको स्वतन्त्र अभियानले कुनै पार्टीलाई सबैभन्दा कमजोर थिलथिलो बनाएको छ भने त्यो विवेकशील साझा पार्टी नै हो। अब विवेकशील साझाको ‘ब्राण्ड’ले काम नगर्ने स्वतन्त्रवालाहरुको दाबी छ।

पार्टीका नेताहरु रवीन्द्र मिश्र, मिलन थापा, केशव दाहाल, रञ्जु दर्शना, निर्देश तिम्सिना, कर्मा तामाङ, पुकार बम आदि चारतिर छरिएका छन्। डा. सूर्यराज आचार्य, मुमाराम खनाल आदिले त लगभग पार्टी छाडिसकेका छन्।

आखिर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन अघि बढ्न सकेन? वैकल्पिक राजनीतिको नेतृत्व यसले किन लिन सकेन? यो पनि अहिलेको अहम राजनीतिक प्रश्न बनेको छ।

यो दलले जहिलेसम्म सडकमा जनताका मुद्दाहरु उठाइरहेको थियो, त्यसबेलासम्म जनतामा आकर्षण बढ्दै गएको देखिन्छ। तर, इटहरीका राजनीतिक विश्लेषक मोहन तिम्सिनाले भनेझैं विगत(इतिहास) तिर बढ्ता ध्यान दिन थालेपछि यो दलमा जनताको आकर्षण घटेको पो हो कि भनेजस्तो देखिएको छ।

जब रवीन्द्र मिश्रले संघीयता र गणतन्त्रमाथि नै प्रश्न उठाउँदै यी विषयमा जनमत संग्रह गरिनुपर्ने माग गरे, त्यसपछि गणतन्त्र चाहने युवापुस्तामा विकर्षण देखिएको र मिश्रको पार्टीभित्र अन्तरविरोध बढेको देखिन्छ। हुँदाहुँदा मिश्रले आफूलाई राजतन्त्रवादी राजेन्द्र लिङ्देनसँग निकट देखाउन थालेपछि उनी थप कमजोर बन्न पुगेको देखिन्छ।

यसर्थ, ७० वर्षको आरोह–अवरोधपूर्ण राजनीतिक संघर्षबाट स्थापना भएको संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विरोध गरेका कारणले पनि मिश्रको पार्टी कमजोर बनेको हो कि? यो गम्भीर विश्लेषणको पाटो हो।

यदि रवीन्द्र मिश्रले लिएको राजनीतिक विचार सही भएको भए यो नारामा जनता थप आकर्षित हुनुपर्ने हो, तर भएनन्।

अब आफूले गरेको गल्तीबाट रवि लामिछानेले सिकून् भन्ने रविन्द्र मिश्रले शुभकामना दिएका छन्। यसको अर्थ, रवि लामिछानेले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे कस्तो नीति लिन्छन्, यसमा उनको भविष्य निर्भर रहनेछ।

अब बालेन्द्र र रवि लामिछानेको चर्चा गरौं।​

बालेन शाह र रवि लामिछाने

स्वभावको हिसाबले  काठमाडौंका मेयर बालेन्द्र शाह र रवि लामिछाने दुई फरक धारमा देखिन्छन्।

बालेन्द्र ‘इन्ट्रोभर्ट’ अर्थात अन्तर्मुखी स्वाभावका छन्। कम बोल्छन्, काममा जोड दिन्छन्। बालेन्द्र रहस्यका पात्रजस्तै छन्। उनको व्यक्तिगत जीवन विवादमा आएको छैन। उनी कतै टेस्टेड नभएर नयाँ मानिस हुन्। गीत संगीतको क्षेत्रबाट आएका हुन्। उनी अरुलाई गाली गर्दैनन्। चुनावमा पनि विपक्षीलाई गाली गरेनन्। अरुको विरोध र हल्लाखल्ला गरेर हैन, काम गरेर देखाउनुपर्छ भन्ने मान्यता उनमा देखिन्छ।

रवि लामिछाने चाहिँ बालेन्द्रको ठीक विपरीत ‘एक्स्ट्रोभर्ट’ अर्थात् बहिर्मुखी स्वाभावका छन्। उनी धेरै बोल्छन्। ठुल्ठूला कुरा गर्छन्। आफ्नो काम भन्दा पनि अरुलाई गाली गर्छन्। पार्टी घोषणा कार्यक्रममै उनले आफूले जित्ने भन्दा पनि अरुलाई हराउने घोषणा गरे। जबकि बालेन्द्रले कसैलाई गाली नगरी लुुसुलुसु काम गरेर चुनाव जिते।

रवि लामिछानेको व्यक्तिगत जीवन पनि बालेन्द्रको जस्तो लुकेको छैन। अमेरिकादेखि नेपालसम्म उनी पटक–पटक विभिन्न विवादमा फस्दै आएका छन्। खास गरी उनको व्यक्तिगत जीवन विवाद र उतार–चढावले भरिएको छ। उनी बालेन्द्रजस्तो बेदाग छैनन्।

यी दुई खाले स्वभावगत भिन्नताका बावजुद बालेन्द्रले मेयरमा चुनाव जितेपछि उत्साही बनेर रवि राजनीतिको मैदानमा उत्रिएका छन्। केही समर्थकहरूको साथ र हौसलाका अतिरिक्त अब रवि लामिछानेले डा. बाबुराम भट्टराई र रविन्द्र मिश्र समेतले गर्न नसकेको वैकल्पिक राजनीतिको धार विकास गर्न सक्लान् त? यो अहिलेसम्म निरुत्तरित प्रश्न हो।

यही प्रश्नको सेरोफेरोमा फेरि एकचोटि मोहन तिम्सिनाकै विश्लेषण सुनौं।

युवा राजनीतिक विश्लेषक तिम्सिना नेपालखबरसँग कुरा गर्दै भन्छन्, ‘यही चुनावमा त कहीँबाट दुई–चारजना स्वतन्त्र पनि निस्किएलान्। खासगरी राजधानी वरिपरिबाट त निस्किएलान्। तर, देशैभरि स्वतन्त्रले प्रभाव जमाइहाल्लान् अथवा वैकल्पिक राजनीतिवाला कुनै अवतार आउला र केही गरिहाल्ला भन्ने देखिँदैन।’

तर, अर्को चुनावपछि भने वैकल्पिक राजनीतिक शक्तिको जग निर्माण हुने तिम्सिनाको विश्वास छ। उनी भन्छन्,‘६,८ वर्षपछिको समयमा केही फेरबदल आउनेवाला देखिन्छ। पुराना दलहरूको निकम्मापन चाहिँ धेरै नै भयो। यो कारणले गर्दा अर्को चुनावसम्म पुग्दाखेरि मानिसहरुले अब केही न केही बाटो खोज्ने अवस्था चाहिँ आउँछ। तर, नयाँ धार विकास हुनलाई १० वर्षजति लाग्छ अझै।’

त्यसबेलासम्म वैकल्पिक राजनीतिले लड्दै पड्दै सिक्ने तिम्सिनाको विश्लेषण छ। उनी छन्,‘मान्छे आफूलाई जान्ने, बुद्धिमान भन्छ। तर मान्छेजस्तो मूर्ख प्राणी कोही छैन। उसले लड्दै पड्दै नै सिक्ने हो।’

उसो भए अर्को चुनावसम्म पुग्दा वैकल्पिक राजनीतिको नेतृत्व गर्ने पात्रचाहिँ को होला त? अहिले मैदानमा देखिएका रवि लामिछाने लगायतका पात्रहरू नै त्यसका नेतृत्वकर्ता होलान्?

यो प्रश्नमा तिम्सिना भन्छन्, ‘होइनन्। यी त लहडी पात्र मात्रै हुन्। यिनीहरु त स्वतन्त्रको सम्भावना देखेर राजनीतिलाई अत्यन्तै हल्काफुल्का ढंगले लिएर झ्याप्पै दाऊ मारिहालौं न त भनेर डाइस खेलमा दाउ थाप्नेहरुजस्ता मात्रै हुन्।’

तर, रवि लामिछाने लोकप्रिय युवा त हुन् नि? यो प्रश्नमा तिम्सिना भन्छन्, ‘लोकप्रियता भए पनि राजनीतिक अनुभव त चाहियो नि। त्यसखालको विचार पनि चाहियो। राजनीति भनेको त केवल भोट जित्नु मात्रै त होइन, सभ्यता निर्माण गर्नु पनि हो। सभ्यता निर्माण गर्नका लागि सुझबुझ चाहिन्छ। राजनीतिक सुझबुझ चाहियो, मान्छेको स्वभावको, मनोविज्ञानको अनुसन्धान गरेको हुनुपर्यो। यो प्रक्रियाबाट गुज्रिएपछि मात्रै उसको विचार बन्छ र त्यो विचारले मात्रै समाजको नेतृत्व गर्न सक्छ। चुनाव जित्नु नै राजनीति होइन।’

हामीले तिम्सिनालाई सोध्यौँ, ‘रवीन्द्र मिश्रजीको हकमा चाहिँ यहाँको विश्लेषण के छ? जवाफमा उनले भने,‘उहाँको चाहिँ अब शायद गयो राजनीति। उहाँको अध्याय समाप्त भयो। म के भन्छु भने मेरो स्व:धर्म नै राजनीति हो भन्नेहरु नै राजनीतिमा आउनुपर्यो। उहाँ लामो समयसम्म जागिरे जीवनमा लागेको मान्छे। जागिरे जीवनको कुण्ठा र असन्तुष्टिलाई चाहिँ यहाँ राजनीतिमा उपचार गर्न आउनुभयो उहाँ। त्यसैले उहाँ राजनीतिक मान्छे नै होइन। उहाँ त पत्रकार हो। उहाँले पत्रकारितामै बरु नयाँ पत्रकारलाई राम्रो तालिम दिनुपर्थ्यो। त्यही पेशा गरेर बस्नुपर्थ्यो। त्यसैले उहाँ राजनीतिक मान्छे नै हुनुहुने थिएन, उहाँसँग त्यस्तो कुनै विचार पनि थिएन। म इमान्दार हुँ भनेर घोषणा गर्दैमा राजनीतिक सिद्धान्त त बन्दैन।’

रवीन्द्र मिश्रकै जस्तो नियति रवि लामिछानेको पनि हुने तिम्सिनाले दाबी गरे। उनले भने, ‘म ठीक छु, म इमान्दार छु, म लोकप्रिय छु भन्दैमा राजनीति हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .