जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्र पोखरेलविरुद्ध नेपाल बार काउन्सिलले म्याद जारी गरेको छ।
काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र त्यसपछि बसेको अनुसाशन समितिको बैठकले उनलाई ७ दिनभित्रमा यस बारेमा जवाफ दिन भनेको काउन्सिलकी सचिव मोना सिंहले जानकारी दिइन्।
सार्वजनिक भएको अडियो र नेपाल बार एसोसियशनको विज्ञप्तिलाई आधार मानेर बार काउन्सिलले म्याद जारी गर्ने निर्णय गरेको हो। बोर्ड बैठकले पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो।
महान्यायाधीवक्ता खम्मबहादुर खाती नेतृत्वको अनुसाशन समितिमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य छन्।
यस बारेमा पोखरेलले स्पष्टीकरण बुझाएपछि अर्को मिति तय गरेर थप प्रमाण बुझ्ने अथवा कारबाहीको निर्णय गर्न सक्नेछ।
काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने अथवा प्रमाण पत्र नै रद्द गर्न सक्ने निर्णय गर्नेछ।
पाेखरेल नेपाल बार एसाेसियसनका पूर्वकाेषाध्यक्ष समेत हुन्।
न्यायाधीश राजकुमार कोइरालालाई २ करोड रुपैयाँ घुस दिएर सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छुटाउन खोजेको आरोप पोखरेललाई लागेको छ। काउन्सिलले पनि पोखरेलले विचौलियाको भूमिका खेलेको ठहर गरेको छ।
इच्छाराजलाई १० करोड धरौटीमा छुटाउन उनले न्यायाधीशसँग आर्थिक बार्गेनिङ गरेको अडिओ बाहिर आएको छ।
पोखरेलसँग बार्गेनिङ गर्ने न्यायाधीश कोइरालाविरुद्ध पनि छानबिन सुरु भएको छ। न्याय परिषद्को बुधबारको बैठकले उनलाई जिम्मेवारी मुक्त गर्दै तीन सदस्यीय छानबिन समिति बनाएको हो।
Shares
प्रतिक्रिया