नेकपा एमालेबाट अलग रहँदै आएका वामपन्थी नेता वामदेव गौतमले नेकपा एकता अभियानको दोस्रो राष्ट्रिय भेला बोलाएका छन्।
असार ११ गते शनिबार बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा नेता गौतमले एकता अभियानको भेला बोलाएका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभाजनपछि राजनीतिमा निस्क्रिय रहेका गौतमले केपी ओली नेतृत्वको एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्ने अनुमान गरिएको थियो। तर, उनी ओली वा नेपाल कतै पनि नलागी स्वतन्त्र रहँदै आएका छन्।
नेकपाबाट राष्ट्रियसभा सदस्यसमेत रहेका पूर्वउपप्रधानमन्त्री गौतमले यसअघि नै ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गरेर पहिलो भेला गरिसकेका छन्। आगामी शनिबार दोस्रो भेला गर्न लागिएको नेता गौतमले नेपालखबरलाई बताए।
भेलामा करिब एक सयजनाको सहभागिता रहने नेता गौतमले जानकारी दिए।
पूर्वएमाले नेता गौतमलाई पूर्वमन्त्री हरि पराजुली लगायतले साथ दिँदै आएका छन्।
एमाले, माओवादी र एकीकृत समाजवादीहरु मिलेर पुन: नेकपा पुनर्गठन गर्नुपर्ने लाइनमा रहेका गौतमले पार्टी एकताका लागि दबाव दिन पुनः सक्रिय रहने बताएका छन्।
Shares
प्रतिक्रिया