ad ad

राजनीति


स्वतन्त्रको भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी

स्वतन्त्रको भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी

सुमन पुरी
असार ४, २०७९ शनिबार २२:३०, विराटनगर

पश्चिम नेपालबाट सुरु भएको स्वतन्त्र उम्मेदवारी अभियानको देश दौडाह प्रदेश नम्बर १ सम्म आइपुगेको छ। स्वतन्त्र उम्मेदवारी अभियानले शनिबार सुनसरीको इटहरीमा सुझाव लिएको छ। 

इटहरीमा भएको भेलामा प्रदेशका विभिन्न जिल्लाका ३५ जनाको सहभागिता थियो। जहाँ सुनसरी, मोरङ, झापा, धनकुटा, पाँचथर, जिल्लाबाट सहभागिता थियो। 

सो भेलामा पूर्वकम्युनिस्टदेखि राजावादीसम्म सहभागी थिए। 

भेलामा सहभागीमध्ये एकथरीले स्वतन्त्रहरुको छुट्टै पार्टी बनाएर आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा जानु पर्ने बताए भने अर्काथरीले स्वतन्त्र रुपमा नै उम्मेदवारी दिनु पर्ने बताए। 

स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि साझा एजेन्डा तय गर्नुपर्ने र एक अर्कालाई सहयोग र समन्वय गर्नुपर्ने उनीहरुको धारणा थियो।

भेलाले पार्टी बनाउने कि नबनाउने भन्ने विषयमा भने ठोस पनि निर्णय गर्न नसकेको सहभागीले बताए।

भेलामा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उठेका मेयर, अध्यक्षदेखि वडा अध्यक्षसम्मको सहभागिता थियो। भेलामा सहभागी इटहरीका पदम अधिकारीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको विजयले अभियानका सहभागीहरु उत्साहित भएको बताए।

‘भेलामा फरकफरक विचारहरु आए। तर अहिले नै पार्टी बनाइहाल्ने निर्णय भने हुन सकेन,’ अधिकारीले भने। 

उनी इटहरी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार थिए। 

सल्यानका डम्बर साहु, काठामाडौँका अनिरुद्र तिम्सिना, आफूलाई सञ्चारविज्ञ बताउने धर्मेन्द्र सापकोटा, विराटनगरका अभिषेक घिमिरे, वीरेन्द्र झापाली र धरानका सुदीप श्रेष्ठले भेला आयोजना गरेका थिए।

उनीहरुमध्ये विराटनगरका घिमिरे बृहत् राष्ट्रिय शिक्षा अभियानका अभियन्ता हुन् भने, वीरेन्द्र झापाली शाही शासनकालमा माओवादीसँग वार्ता गराउन सक्रिय व्यक्ती हुन्। उनी लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय हुन्।

को को आए भेलामा?
यसअघि बुटवल र चितवनमा भेला सम्पन्न भइसकेको छ। भेलाले आगामी असार १७ र १८ गते राष्ट्रिय भेलाको आयोजना गर्दै छ। 

भेलामा कसकसको सहभागिता हुन्छ, अहिले नै टुंगो छैन। तर इटहरी भेलामा भने यसअघि कुनै न कुनै पार्टीमा आबद्धहरु नै आएका थिए। केही कवि र कलाकारको समेत सहभागिता थियो। पार्टी निकट पत्रकार संगठनमा सक्रिय पत्रकारले समेत भेलामा विचार राखे।

इटहरीका पदम अधिकारी, कमल गाउँपालिका झापाका फणिन्द्र दाहाल, इटहरीका देवी शिवाकोटी, कन्काइका राम खरेल, उर्लाबारीका रुद्र तामाङ, कन्काइकै शेरबहादुर थापाले स्थानीय तहमा पार्टीगत रुपमा नभई व्यक्तिगत रुपमा निर्वाचन लड्नु पर्ने बताए। 

गौरादहका इन्द्र न्यौपाने, सुन्दरहरैँचाका कमल लिम्बु, इटहरीका शालिग्राम पाण्डे, कमल गाउँपालिकाका गणेश बान्तवा र इटहरीका देवराज अधिकारीले दल दर्ता नगरे पनि संगठिन हुनुपर्नेमा जोड दिए।

उनीहरुकै मत बाझिँदा भेलामा सहभागीहरु स्वतन्त्रहरुको आगामी यात्रा कस्तो हुन्छ भन्ने स्पष्ट हुन सकेनन्। 

आफूहरुले दलको विरोध नगरेको बरु राष्ट्रघाती कामको विरोध गरेको वीरेन्द्र झापालीले बताए।

‘दलहरु विदेशीको दलाल भएको र विकृति र विसंगतिमा फसेकाले नेपाली कांग्रेस, एमाले,  माओवादी पार्टी  देशभक्त होइनन्,’ उनले भने, ‘स्वतन्त्रहरुको भेला देशभक्तहरुको ध्रुवीकरण अभियान हो।’

अभियानका संयोजक डम्बर साहुले आफूहरुसँग तीन तहको नेतृत्व बनिसकेको बताए। उनले अभियानमा ८ हजार ७ जना आबद्ध भइसको जानकारी पनि दिए।

उनले पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव भीम उपाध्याय, डा. नवराज खतिवडा, डा. वीरेन्द्र झापाली, डा. सूर्यराज आचार्य, डा. केदारभक्त माथेमा, डा. बद्री खतिवडा, डा. द्वारिका ढुंगेल आदिले आफूहरुलाई सहयोग गरिरहेको पनि बताए।

‘हामी स्वतन्त्र उम्मेदवारको मियो बन्न चाहन्छौँ। आगमी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुलाई कसरी सहयोग गर्ने भन्ने हाम्रो लक्ष्य छ,’ उनले भने।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा चुनाव जितेका जनप्रतिनिधिहरुलाई यो अभियानले सहयोग गरेको उनले दाबी गरे।

भेलामा एउटा रोचक दृश्य देखियो। शनिबार १२ बजेबाट सुरु भएको भेलामा सहाभागीहरु आए। सबैजना निर्धारित कुर्सीमा बसे। तर, मञ्चको एउटा कुर्सी भने खाली राखियो। त्यहाँ कोहि पनि बसेन।

कारण? 

अभियानका संयोजक साहुले भने, ‘हामी कुर्सीको लागि यो अभियान गरिरहेका छैनौँ। कुर्सीबिना पनि हामी काम गर्न सक्छौँ। कुर्सी खाली छ, योजना लिएर आए कुर्सीमा जो पनि बस्न सक्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .