प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले यसै वर्ष चिकित्साशास्त्र संकायको सुरुवात गर्ने बताएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्र संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाइने उनले बताए।
कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गरेको दोस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट समेत विनियोजन गरेको उल्लेख गरे।

‘लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ,’ सम्बोधनका क्रममा देउवाले भने, ‘आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयको समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ।’

सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकहरुको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको देउवाको भनाइ छ। विश्वविद्यालय र शिक्षा नीतिले रोजगारीका लागि विदेशीन बाध्यता अन्त्य गर्न योजना बनाउनु पर्ने उनले बताए।
दोस्रो पटक आयोजना भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न पदक प्राप्त दीक्षित विद्यार्थीहरुलाई पदक वितरण समेत गरेका थिए।
Shares

प्रतिक्रिया