ad ad

राजनीति


सुदूरपश्चिममा कांग्रेसले शक्ति बढायो, ९ मध्ये ८ जिसस नेतृत्व लियो

३ जिल्लामा एकल, अन्यमा गठबन्धन
सुदूरपश्चिममा कांग्रेसले शक्ति बढायो, ९ मध्ये ८ जिसस नेतृत्व लियो

गोकुल जोशी
असार १, २०७९ बुधबार ८:१३, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेसले शक्ति बढाएको छ। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा दोस्रो दलबाट पहिलो दलमा उक्लिएको कांग्रेसले जिल्ला समन्वय समिति (जिसस)मा पनि वर्चश्व जमाएको छ। 

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समिति  (जिसस) गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लामा जिसस गठन भएको छ। विवादपछि मतगणना रोकिएको बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरे पनि अझै मिति तोकिएको छैन। त्यहीकारण बाजुरामा जिसस गठन हुन सकेको छैन। 

बाजुराबाहेक अन्य ८ जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा जिसस बनेको छ। कञ्चनपुर, डडेल्धुरा र डोटीमा कांग्रेसको एकल जिसस बनेको हो।

बैतडी, दार्चुला, कैलाली, अछाम र बझाङमा सत्तारुढ गठबन्धनका दलहरूसँगको तालमेलमा कांग्रेसको नेतृत्वमा जिसस बनेको छ। 

यीमध्ये बैतडी, दार्चुला र कैलालीमा नेकपा माओवादी केन्द्रले उपप्रमुख पाएको छ भने बझाङमा नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ।

८८ स्थानीय तह रहेको सुदूरपश्चिममा मतपरिणाम सार्वजनिक ८७ पालिकामध्ये कांग्रेसले ४० पालिकामा प्रमुख र ४५ स्थानीय तहको उपप्रमुखमा जित निकालेको थियो। 

पहिलोबाट दोस्रो स्थानमा झरेको नेकपा एमालेले २५ पालिका प्रमुख र २४ उपप्रमुख जितेको थियो। 

यस्तै, नेकपा माओवादी केन्द्रले १४ पालिका प्रमुख र ११ उपप्रमुख तथा नागरिक उन्मुक्ति पार्टीले ४ पालिका प्रमुख र ३ उपप्रमुखमा बाजी मारेको छ। 

नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख र ३ उपप्रमुख जित निकाल्दा २ पालिका प्रमुख र १ उपप्रमुखमा स्वतन्त्र उम्मेदवार पनि जितेका छन्। 

कञ्चनपुर
स्थानीय तहको प्रमुख उपप्रमुखमा बहुमत भएकाले जिसस कञ्चनपुरमा नेपाली कांग्रेसको एकल नेतृत्व छ। 

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख कांग्रेसका दुर्गा बोहरा र उपप्रमुख रामकुमारी राना बनेका छन्। 
सदस्यहरुमा जयसिंह विष्ट, रामसिंह भण्डारी, मोहन महता, अञ्जुदेवी राना, लिला चौधरी, चन्द्रा देवी थापा र विमलाकुमारी सार्की रहेका छन्। 

९ स्थानीय तह रहेको कञ्चनपुरमा कांग्रेसले ५ पालिका प्रमुख र ७ पालिका उपप्रमुख जितेको थियो। 
नेकपा एमालेले ३ पालिकामा प्रमुख, २ पालिकामा उपप्रमुख जितेको थियो। यस्तै, नेकपा माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेको थियो।

कैलाली
कैलालीमा सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा सत्तागठबन्धनको जिसस बनेको छ। कांग्रेसका पदमबहादुर कलेल जिसस कैलालीको प्रमुख बनेका छन्। यस्तै, माओवादीका खगराज भुसाल उपप्रमुख बनेका छन्। 

निर्णायक मानिएका स्वतन्त्रबाट विजयी धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको साथले सत्ता गठबन्धन जिससमा विजयी भएको हो। 

१३ स्थानीय तह रहेको कैलालीको जिससमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले गठबन्धन गरेका थिए।

जिसस चुनाव होमिएका सत्तारुढ गठबन्धन र इतर गठबन्धनसंग समान १२/१२ मत थियो। 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन पाएनन्।

डडेल्धुरा
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि कांग्रेसको नेतृत्वमा एकल जिसस बनेको छ।

कांग्रेसका गगनसिंह भण्डारी जिसस प्रमुख र अमृताकुमारी ठडाली मगर निर्विरोध उपप्रमुख बनेका छन्। ७ स्थानीय तह रहेको डडेल्धुरामा प्रमुख उपप्रमुखमा नेपाली कांग्रेसको एकल बहुमत छ। 

नेपाली कांग्रेसले ५ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको छ। नेकपा माओवादी केन्द्रले २ पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ। 

बैतडी
बैतडीमा कांग्रेसको नेतृत्वमा सत्तारुढ गठबन्धनको जिसस बनेको छ। कांग्रेसका खगेन्द्रसिंह धामी प्रमुख र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख बनेका छन्। 

जिसस बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो। एमाले एक्लै चुनाव लडेका थियो। 

समन्वय समितिका सदस्यमा पनि गठबन्धनकै उम्मेदवार विजयी भए। तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट र माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भए। 

यस्तै, तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भए। 

यस्तै एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएका छन्। 

१० स्थानीय तह रहेको बैतडीमा कांग्रेसले ४ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको थियो। नेकपा एमालेले ४ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो।

यस्तै, माओवादी केन्द्रका १/१ जना प्रमुख र उपप्रमुख जितेका छन् भने एक स्थानीय तहमा स्वतन्त्रले चुनाव जितेका थिए। 

दार्चुला
स्थानीय तहको प्रमुखविहीन बनेको नेपाली कांग्रेसले जिसस दार्चुलाको नेतृत्व पनि पाएको छ। 

नेपाली कांग्रेसका महादेव बडू  जिसस प्रमुख र नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना उपप्रमुख बनेका छन्। 

दार्चुलामा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। जिससमा एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनले बाजी मारेको हो।

९ स्थानीय तह रहेको दार्चुलामा सत्तारुढ गठबन्धनसँग १० मत थियो भने नेकपा एमालेसँग ८ मत थियो। दार्चुलामा नेकपा एमालेले २ नगरपालिकामा प्रमुख उपप्रमुख दुवै, ३ मा प्रमुख मात्रै र १ मा उपप्रमुख जितेको थियो।

यस्तै, कांग्रेससँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले भागबण्डामा पाएका ४ पालिकामा प्रमुख र २  पालिकामा उपाध्यक्ष जितेको थियो।

नेपाली कांग्रेसले भने भागबण्डामा पाएका कुनै पनि पालिका प्रमुखमा जित्न सकेको थिएन। दार्चुलाका पालिकामा प्रमुखविहीन रहेको कांग्रेसले ४ पालिकाको उपप्रमुख मात्रै जितेको थियो।

डोटी
स्थानीय तह प्रमुख र उपप्रमुखमा बहुमत रहेको कांग्रेसको डोटी जिससमा एकल नेतृत्व छ। डोटीमा जिसस प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा स्मृति चुनारा (विक) निर्विरोध निर्वाचित भएका थिए। 

अन्य जिसस सदस्यहरु पनि नेपाली कांग्रसकै छन्। कांग्रेसका राम बहादुर खड्का, नरेश खड्का, ठक्कर बोहरा, दीपा खड्का, शान्ता भुल, निर्मला भुल र झकडी कामी सदस्य रहेका छन्। 

९ स्थानीय तह रहेको डोटीमा  कांग्रेसले ७ मा प्रमुख र ८ मा उपप्रमुख जितेको थियो। यहाँ नेकपा एमालेका १÷१ जना प्रमुख र उपप्रमुख तथा माओवादी केन्द्रका १ जना प्रमुख मात्रै छन्।

अछाम
अछामका स्थानीय तह प्रमुख उपप्रमुखमा एकल बहुमत रहेको नेपाली कांग्रेसको नेतृत्वमा जिसस गठन भएको छ। कांग्रेसका ललित कुँवर जिसस प्रमुख र कांग्रेसकै दानमती बम शाही उपप्रमुख बनेकी छन्। 

कांग्रेसका चक्राकुमारी रावल, लक्ष्मी स्वर्णाकार, द्वारिकाप्रसाद उपाध्याय, नरेन्द्रबहादुर कुवँर र पूर्णबहादुर रावल तथा एकीकृत समाजवादीकी सीता भण्डारी र दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा सदस्य बने। 

अछामका स्थानीय तहमा नेपाली कांग्रेसका ७ जना प्रमुख र ४ जना उपप्रमुख छन्। यस्तै, नेकपा एमालेका २ प्रमुख र ४ उपप्रमुख तथा माओवादीका १/१ जना प्रमुख उपप्रमुख छन्।

बझाङ
बझाङमा सत्तारुढ गठबन्धनको जिसस बनेको छ। जिल्ला समन्वय समितिको प्रमुख कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुख नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट बनेका छन्। 

१२ स्थानीय तह रहेको बझाङमा कांग्रेसका ६ पालिका प्रमुख र ४ उपप्रमुख छन्। नेकपा माओवादी केन्द्रका २ प्रमुख र ३ उपप्रमुख, नेकपा एमालेका ३/३ प्रमुख उपप्रमुख र एकीकृत समाजवादीका १ प्रमुख र २ उपप्रमुख छन्।

बाजुरा
९ स्थानीय तह रहेको बाजुरामा ८ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले ठूलो दल छ। एमालेले बाजुरामा ५ प्रमुख र ४ उपप्रमुख जितेको छ। 

यहाँ नेपाली कांग्रेसका ३/३ जना प्रमुख र उपप्रमुख छन् भने एक स्थानीय तहको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। बाजुराको बूढीगंगा नगरपालिकाको मतपरिणाम नआउँदा जिसस पनि गठन हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .