राजनीति


उपनिर्वाचनमा हारपछि साझा पार्टीले भन्यो : कमजोरी समीक्षा गर्नुपर्ने सन्देश पायौँ

उपनिर्वाचनमा हारपछि साझा पार्टीले भन्यो : कमजोरी समीक्षा गर्नुपर्ने सन्देश पायौँ

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ६:२७,

यही १४ गते सम्पन्न उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरूप्रति साझा पार्टीले बधाई तथा शुभकामना दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता सूर्यराज आचार्यले भने, ‘जनप्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छ।’

साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी/कमजोरीको समीक्षा गर्नुपर्ने सन्देशको रुपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ। यसलाई पार्टीले मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको साझाले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नु पर्ने हुन्छ। नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।’ पार्टीको संगठन सञ्जाल बन्ने क्रममा रहेको र जनतामाझ पार्टीबारे राम्रो सम्प्रेषण हुन नसकेको उल्लेख गरिएको छ।

पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर रहेको, विधिको शासन भत्काइएको, जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको भन्दै साझाले गाउँ टोलमा ठूला दलसँगको आबद्धताविना सामाजिक जीवन बहिष्कृत हुने जोखिम रहेको विज्ञप्तिमा जनाइएको छ।

साझाले छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागिपर्ने जनाएको छ। साझा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad