ad ad

राजनीति


डीआईजी बढुवा ढिलाइका तीन कारण

हेडक्वाटरदेखि ब्युरो र प्रदेश डीआईजीविहीन, एआईजीका ‘ट्वाइसी’ एसएसपी
डीआईजी बढुवा ढिलाइका तीन कारण

उजिर कार्की
जेठ २९, २०७९ आइतबार १९:५४, काठमाडौँ

नेपाल प्रहरीमा झण्डै डेढ महिनादेखि १७ जना डीआईजीको दरबन्दी रिक्त भएको छ। वैशाख १९ गतेदेखि नै रिक्त डीआईजीमा सरकारले बढुवा गर्न ढिलाई गर्दा प्रदेश नै एसपीको जिम्मामा छन्।

प्रहरी मुख्यालयमा एउटा पनि डीआईजी छैनन्। एआईजीले नेतृतव गर्ने विभाग, ब्युरो र कार्यालय पनि डीआईजीविहीन भएका छन्।

मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा मात्रै डीआईजी छन्। प्राविधिक बाहेक नेपाल प्रहरीमा २० जना डीआईजीको दरबन्दी छ। ८ जना एआईजी कार्यरत रहेपनि कुनै पनि एआईजीको साथमा डीआईजी छैनन्।

अन्य दर्जामा निर्वाचन आचारसंहिताकै बिचमा पनि निर्वाचन आयोगसँग अनुमति लिएर बढुवा गरेको सरकारले डीआईजी बढुवामा भने अश्वाभाविक ढिलाई गरेको हो।

हाल लुम्बिनी प्रदेशमा नलप्रसाद उपाध्याय, मधेश प्रदेशमा मसाउद आलम खाँ र सुदूरपश्चिममा मोहन कुमार आचार्य कार्यरत छन्। उनीहरु गत वैशाख पहिलो साता बढुवा भएका हुन्।

यसअघिका सबै डीआईजी एआईजी भइसकेका छन्। हालै ५ डीआईजी एआईजीमा बढुवा भएसँगै प्रदेशहरु एसपीको नेतृत्वमा झरेका हुन्।

कर्णालीमा एसएसपी राजेशनाथ बास्तोलाले जिम्मा पाएका छन्। अन्य प्रदेशमा भने वरिष्ठ एसएसपी समेत खटाइएको छैन। वरिष्ठ एसएसपीहरु लामो समयदेखि बढुवाको दौडधुपमा छन्।

कार्यालय प्रमुख रहेका एसएसपीहरु पनि बढुवाको दौडधुपमा लाग्दा प्रहरीका काम नै प्रभावित भएका छन्। बढुवामा ढिलाई हुनुका पछाडी केही कारण रहेको श्रोतहरु बताउँछन्।

आरजु भारतमा
प्रहरीका सरुवा बढुवामा प्रत्यक्ष हस्तक्षेप राख्दै आएकी प्रधानमन्त्री पत्नी आरजु राणा उपचारका लागि दिल्लीमा छन्। उनी नभएका कारण पनि डीआईजी बढुवामा ढिलाई भएको श्रोत बताउँछ। अधिकांश एसएसपी डीआईजी बन्न आरजुकै भरमा छन्।

यसअघि आईजीपी नियुक्ती होस् वा अन्य तल्ला दर्जा देउवा सरकार बनेदेखि नै आरजुले प्रहरीमा देखिने गरी नै हस्तक्षेप गर्दै आएकी छन्। आरजुको अनुपस्थितिले डीआईजी बढुवा रोकिएको श्रोतको दाबी छ।

पछिल्लो ब्याचको दबाव
डीआईजी बढुवामा ढिलाई हुनुको अर्को कारण हो प्रहरीबीचकै अस्वस्थ प्रतिस्पर्धा। १७ डीआईजीका लागि दुई ब्याचका २७ एसएसपीहरु दाबेदार छन्। उनीहरु २०७५ फागुन र २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका थिए। यी पनि तीन चरणमा भर्ना भएका थिए।

तर आफ्नो मान्छे शक्तिमा आउँदा ह्वात्तै माथि आउने परम्पराले अहिलेको बढुवामा सकस परिरहेको छ। २०७५ मा एसएसपी भएका १३ जनालाई छुटाउन नहुने गृहमन्त्री बालकृष्ण खाँण र आईजीपी धिरजप्रताप सिंहको मत छ।

त्यसो हुँदा २०७७ वैशाखमा एसएसपी भएका चार जना मात्रै डीआईजी बन्न सक्छन्। तर प्रधानमन्त्रीले पछिल्लो ब्याचबाट अगाडि ल्याउन चाहनेको संख्या यो भन्दा बढी छ।

एसएसपी अशोक सिंह पछिल्लो ब्याचबाट प्रधानमन्त्रीको रोजाइका एक नम्बर पात्र हुन्। यस्तै सुदीप गिरी, दुर्गा सिंह, राजेशनाथ बास्तोला, भरतबहादुर बोहरा, किरण राणा र कुवेर कडायत बालुवाटारको सूचीमा छन्। बोहरा देउवाको पीएसओ थिए। कडायत पनि पहिलेदेखिनै देउवासँग नजिक छन्।

दुर्गा सिंहलाई गृहमन्त्रीले अगाडि ल्याउन चाहेका छन्। बास्तोला उपसभापति पूर्णबहादुर खड्काको जोडमा बढुवा हुँदैछन्। कीरण राणालाई डीआईजी बनाउन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जोड छ।

तर एसएसपी हुँदाको  बरियतामा यी सबै पछाडी छन्। २०७७ मा पहिलो नम्बरमा जनक भट्टराई र दोश्रोमा केन्द्रीय प्रवक्ता समेत रहेका विष्णु कुमार केसी हुन्।

बालुवाटार अगाडिका छुटाएर भएपनि पछाडीका ७ जना तान्नु पर्नेमा देखिन्छ। तर गृह र हेडक्वार्टर यसमा सहमत छैनन्। यसमा कुरा नमिल्दा पनि ढिलाई भइरहेको श्रोतको दाबी छ।

बजेट पास
अर्को ढिलाईको कारण भनेको बजेटमाथिको छलफल हो। अहिले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ। डीआईजी बढुवाले सत्ताभित्रै असन्तुष्टि बढ्ने भएकाले पनि केही ढिलाई भएको दाबी छ।

बजेट पास गर्न अझै करिव एक हप्ता लाग्ने अनुमान गरिएको छ। सत्ताभित्रै डीआईजी बढुवामा पनि सहमती बन्ने देखिएको छैन। हाल बढुवा हुने डीआईजी मध्येबाटै आगामी चैतदेखि आईजीपी बन्ने भएकाले पनि यो पटकको बढुवामा विशेष चासो देखिएको छ। सत्ता गठबन्धनभीत्र सहमती जुटाउन पनि बजेटको छलफलले प्रभावित गरेको गृह मन्त्रालय श्रोतको दाबी छ।

एक नम्बर बन्ने दौडमा ५ एसएसपी
भावि नेतृत्वमा बलियो दाबी र एआईजी सुनिश्चित जस्तै हुने भएकाले अहिलेका डीआईजीहरुबीच एक नम्बरमा बढुवा हुन चर्को लविइङ देखिएको छ। एसएसपीहरु रामदत्त जोशी, उमेशराज जोशी, वशन्तबहादुर कुँवर, सन्दीप भण्डारी र अशोक सिंहको चर्चा एकनम्बरमा छ।

एसएसपी हुँदा एक नम्बरमा रहेका भण्डारीभन्दा जोशीद्वयलाई अगाडि ल्याउने सम्भावना बढी छ। दुवै देउवाका निकट हुन्। उपत्यका अपराध महाशाखा प्रमुख कुँवर भर्ना हुँदा पहिलो नम्बरमा र पछि तीन नम्बरमा थिए। एसएसपी हुँदा अझै पछाडी धकेलिएका कुँवर पनि अहिले कम्तिमा टप ३ मा फर्किने जोडमा छन्।

यी हुन् प्रतिस्पर्धी २७ एसएसपी
१७ जना डीआईजीका लागि दुई ब्याचका २७ जना एसएसपीहरु प्रतिस्पर्धामा छन्।

यीमध्ये २०७५ फागुनमा बढुवा भएका १३ एसएसपीको बढुवा हुने सम्भावना बलियो छ।

एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोसराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल हुन्।

२ वर्ष पहिले नै एसएसपी भएकाहरु नछुट्ने हो भने पछिल्लो पटक एसएसपी भएका चार जना मात्रै डीआईजी बन्ने छन्।

२०७७ वैशाखमा एसएसपीमा १४ जना बढुवा भएका थिए। त्यतिबेला बढुवा भएका वीरेन्द्र कुमार बस्याल, नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेश कुमार सिंह एसएसपीबाटै अवकाश भइसकेका छन्।

५ जना अवकाशमा गएसँगै यो ब्याचका एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल र चन्द्रकुवेर खापुङ डीआईजीका प्रतिस्पर्धी हुन्।

तर अहिले नै डीआईजी बन्न यी दुई ब्याचपछि बढुवा भएका केही एसएसपी पनि लविइङ गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .