राजनीति


माधव नेपालले भने : मन्त्री फेर्ने हाम्रो निर्णयले अरु पार्टीमा पनि भूकम्प गएछ

माधव नेपालले भने : मन्त्री फेर्ने हाम्रो निर्णयले अरु पार्टीमा पनि भूकम्प गएछ

नेपालखबर
जेठ २५, २०७९ बुधबार १७:२२, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सहभागी आफ्नो दलका मन्त्री सहमतिमै फेर्ने निर्णय भएको बताएका छन्। 

समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन्। 

यसअघि भएको सहमति अनुसार ६ महिनामै फेर्नुपर्नेमा दुई महिना थप बस्न दिएर नयाँलाई अवसर दिने निर्णय पार्टी सचिवालयले गरेको पनि उनले बताएका छन्। 

'हामीले मन्त्री फेरेका छौँ। असोजमा नियुक्त भएकाहरुलाई ६ महिनाको अवधि दिइएको थियो। सहमति नै हामीले ६ महिनाका लागि गरेका हौँ', उनले भने, 'हाम्रो पार्टीबाट मन्त्री भएकामध्ये जस-जसले राम्रो काम गरेकोमा धन्यवाद भनेका छौँ। उनीहरुले पनि पार्टीको निर्णयभन्दा दायाँ बायाँ गर्दैनौँ भनेका छन्। कुर्सीमा टाँसिएर बस्दिन भनेका छन्।'

यो भनाइ पार्टी निर्णयविपरीत मन्त्री पद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको चर्चा भएका पर्यटन मन्त्री प्रेम आलेतिर लक्षित थियो।

आलेले मंगलबार मात्रै पशुपतिमा पुगेर आफूले मन्त्री पद जोगाउन चलखेल नगरेको स्पष्टीकरण दिँदै पार्टीको निर्णय मानेर बाहिरिन तयार रहेको बताएका थिए।  

'मैले कुनै मन्त्रीमाथि आरोप लगाएको छैन। सबै मन्त्री हाम्रो पार्टीको आदेश अनुसार चल्छन्', उनले भने, 'तर हाम्रा महासचिव (वेदुराम भुसाल) ले पनि मन्त्रीहरुले निर्णय मान्छन् भन्नुपर्थ्यो। तर मानेनन् भने के गर्ने भनिदिएछन्। त्यसले गर्दा अलिक कुरो बिग्रियो। हामीले बोल्दा ख्याल गर्नुपर्छ, नत्र बनेको कुरो पनि बिग्रिन्छ।'

उनले मन्त्रीहरूमाथि आशंका गर्दा उनीहरुको चित्त दुख्ने पनि बताए। 'अनावश्यक आशंका गर्दा चित्त दुख्छ। हामीले पार्टीको आदेश मान्छौँ भन्दा भन्दै मानेनन् भन्दा उनीहरुको मन दुख्छ', उनले भने, 'पार्टीले निर्णय गर्‍यो, किन निर्णय लागु भएन होला भन्ने भयो। तर कुरो के भयो भने हाम्रो निर्णयले अरु पार्टीमा पनि भूकम्प गयो।'

समाजवादीको निर्णयले कांग्रेस, माओवादी र जनता समाजवादीमा पनि मन्त्री फेर्ने दबाब परेको संकेत गरे। 'हाम्रो निर्णयपछि अरु दलमा पनि भूकम्प गएछ। अनि उनीहरुले हामीलाई पनि समय दिनुस् भनेका होलान्', उनले थपे, 'त्यही भएर मन्त्रीको शपथ नभएको हो। तर अब हाम्रो निर्णय भइसकेकाले लागु हुन्छ।' 

नेपाले स्थानीय निर्वाचनको कमजोरीलाई ध्यानमा राखेर आगामी दिनको तयारी गर्नुपर्ने पनि बताए। 

'गठबन्धनको भविष्य छैन भन्ने खालका प्रचारमा नलागौँ', उनले भने, 'आगामी चुनावपछिको अवस्थासम्म गठबन्धन जान्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad