ad ad

राजनीति


विश्व सम्मेलनमा जब आयोजकले नेपालका स्वास्थ्य मन्त्री खोजिरहे !

विश्व सम्मेलनमा जब आयोजकले नेपालका स्वास्थ्य मन्त्री खोजिरहे !

दीपक खरेल
मंसिर १३, २०७६ शुक्रबार ११:१६,

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मंसिर २ गते दिल्ली पुगे। उनी त्यहाँ आयोजित एउटा विश्व सम्मेलनमा स्वास्थ्य मन्त्रीको हैसियतमा नेपालको प्रतिनिधित्व गर्दै दिल्ली गएका थिए।

विश्व स्वास्थ्य संगठनले भारतको नयाँ दिल्लीमा औषधीजन्य वस्तुमा पहुँचसम्बन्धी विश्व सम्मेलन आयोजना गरेको थियो। दिगो विकास लक्ष्य २०३० का लागि पाँचवर्षे योजनासहित १ सय ३७ देशका मन्त्री तथा प्रतिनिधीहरु सम्मेलनमा सहभागी थिए।

भारतको नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा मंसिर ३ देखि ५ सम्म सम्मेलनको आयोजना गरिएको थियो।

यादवले उद्घाटन, प्लेनरी र समापन सत्रलाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर उपेन्द्र यादवलाई नेपालको प्रतिनिधित्व गर्न सरकारले पठाएको थियो।

स्वास्थ्य क्षेत्रमा अनुभव नपुग्ने हो कि भन्दै मन्त्री यादवले तीनै सत्रका लागि तयारी गरेका थिए।  विश्व सम्मेलनको उद्घाटन सत्रमा नेपालले समेत विश्वका बिकसित राष्ट्रका प्रतिनिधीसहित मञ्च साझेदारी गर्यो।

मन्त्री यादवले त्यो सत्रको विशेष सम्बोधनमा नेपालको धारणा राखे। यो मंसिर ३ गतेको कुरा थियो। त्यसदिन सबै सहभागी मन्त्री र प्रतिनिधीसँग छलफलपछि मन्त्री यादव होटेल फर्के।
बुधबार मन्त्री यादवले पुरै दिन सम्मेलनमै बिताए। यो सम्मेलनबाट नेपाललाई के फाईदा पुग्नसक्छ भन्ने जिज्ञासा सहित उनी कार्यक्रमभर सक्रीयरुपमा सहभागी रहे।

त्यसका लागि उनी आफ्ना समकक्षीहरुसँग कुराकानी गरिरहेका थिए। त्यसपछि उनलाई प्लेनरी सत्रको तयारी गर्नु थियो।

उनी मंसिर ४ मा नियमित समयमै प्लेनरी सत्रका लागि सहभागी भए। सत्र चल्दै थियो। बीचमै उनको मोबाइलमा कसैले म्यासेज पठायो।

‘नेपालबाट पोर्टफोलियो (मन्त्रालय) परिवर्तन भएको म्यासेज आएको रहेछ,’ कानून मन्त्रीका हैसियतमा यादवले शुक्रबार न्याय तथा संसदीय मामिला सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारबीच पनिर मःम खादै गतसाताको घट्नाक्रमबारे सुनाए। ‘यो सूचनापछि मेरो नैतिकताले त्यो सम्मेलनमा सहभागी हुन उचित ठानेन।’

उनले अघि भने ‘म स्वास्थ्य मन्त्रीका हैसियतमा सहभागी थिएँ, अब त्यहाँ मेरो त्यो पोर्टफोलियो नै नरहेपछि कसरी बस्ने?’ उनी सम्मेलन स्थलबाटै बाहिरिए।

‘मैले सहभागी अन्य साथीहरुलाई म अब सहभागी हुँदिन, तपाईहरु बस्नुहोस भनेर म निस्किएँ,’ मन्त्री यादवले भने ‘यो चाँही प्रधानमन्त्रीबाट राम्रो भएन।’

76695059 2906233322721138 2387950899738705920 o

उनी सम्मेलनबाट बाहिरिएको औपचारिक जानकारी आयोजकलाई थिएन। जब उनको बोल्ने पालो आयो, आयोजकहरु नेपालका स्वास्थ्य मन्त्रीको खोजी गर्न थाले।

केही समयमैं आयोजकले समेत नेपालमा मंसिर ४ मा भएको राजनीतिक परिवर्तनको जानकारी पाए। मन्त्रीले बीचमैं सहभागिता छाडेर हिँडेको बिषयबारे विश्व स्वास्थ्य संगठनले कुनै प्रतिक्रिया जनाईसकेको त छैन। तर यसले नेपालले विश्व सम्मेलनमा पाएको सहभागितासहित धारणा र योजना राख्ने अवसर भने गुुमाएको छ।

‘तपाई तत्काल नर्फिएर ढिलो आउनु भयो नी?’ एकजना संचारकर्मीले जिज्ञासा राखे। ‘मेरो टिकट २२ गतेको थियो, म त्यती बेला नै फर्किएँ,’ मन्त्री यादवले सुनाए।

उनले आफ्नो प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग त्यसपछि भेट नभएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .