राजनीति


पोखराका धनराज :  माधव नेपालको भरपर्दो लौरो

व्यापारमा लागेर धन कमाए, राजनीतिमा इज्जत
पोखराका धनराज :  माधव नेपालको भरपर्दो लौरो

वाशुदेव मिश्र
जेठ १० , पोखरा

२०४२ सालमा नेकपा मालेको युवा लिगमा संलग्न भएका धनराज आचार्यका लागि राजनीति नौलो विषय होइन। 

०५१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका धनराजले एमालेको राजनीति गरिरहे तर व्यापार–व्यवसायलाई सँगै अगाडि बढाए। 

अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट पोखराको मेयर जितेर उनले बालकोटलाई समेत धक्का दिएका छन्।

अहिले धनराजसँग दर्जनौं व्यवसाय र  करोडौं लगानी छ। २०५४ सालमा एमाले विभाजित हुँदा मालेतिर लागेपछि उनलाई व्यापारतिर ध्यान केन्द्रित गर्न झन सजिलो भयो। 

पार्टी एकतापछि उनी एमालेमै फर्किए। स्वर्गीय नेता रवीन्द्र अधिकारीका बालसखा धनराजको सक्रियता व्यवसायिक मोर्चातिरै बढी भयो।

नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य भएर उनले देशव्यापी सञ्जाल निर्माण गरे।

समाजसेवामा चिनिएको लायन्स इन्टरनेसनल ३२५ बी १ नेपालको डिष्ट्रिक्ट गभर्नर बने। यी सबै मोर्चामा रहँदा उनले पार्टीलाई आर्थिक सहयोग जुटाउने काम गरे।

धनराजले रवीन्द्र अधिकारीको २०७४ र त्यसपछिको उपनिर्वाचनमा रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईको चुनावी कमाण्ड सम्हाले। 

संयोग कस्तो भने हालका प्रतिस्पर्धी कृष्ण थापालाई २०५४ सालमा मेयर बनाउँदा पनि उनले विद्यार्थी फाँटबाट सघाएकै थिए।

कास्की क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेश सांसद बन्दा पनि एमाले नेता थापालाई आचार्यको साथ थियो। 

‘एमालेको संगठन कसरी चलाउने भन्ने संगठकका रुपमा बुझेकै थिए’, एक एमाले नेता भन्छन्, ‘चुनावी कमाण्डर हुँदा संगठनको कमजोरी र भोट बैँकबारे जुन जानकारी थियो, धनराजले यसपटक आफ्नै लागि प्रयोग गरे।’

२०४१ सालमा पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापतिसमेत रहेका कृष्ण थापासँगै यसपटक चुनावी प्रतिस्पर्धामा उत्रनुपर्ने बाध्यता भने धनराज स्वयंले सिर्जना गरेका थिए। त्यसले उनलाई बेफाइदा गरेन। कांग्रेससहित ५ दलीय गठबन्धनको साथ पाएका धनराजलाई एमाले कार्यकर्ताको  ठूलो पंक्तिले मत दिए।

एमालेले कलम रोज्दा कांग्रेसी र आम पोखरेली मतदाताले उनीमाथि भरोसा गरे।

व्यवसायमा लागेर धन कमाएकै थिए। ज्योतिषीले राजग्रहबारे के भनेको थियो कुन्नि ? तर, उनी  पहिलो प्रयासमै मेयर चुनिए।

चुनिनु एउटा कुरा, उनले आफूलाई नेकपा एकीकृत समाजवादीको खम्बा, अध्यक्ष माधव नेपालको भरपर्दो लौरो र उत्तराधिकारीका रुपमा उभ्याउन सफल भएका छन्।

माधव नेपालको  उत्तराधिकारी  

माधव नेपाल जीवनको उत्तरार्द्धमा आफ्नै घरबाट बाहिरिन बाध्य भए। घरभित्र विद्रोह गर्नु शक्तिको चाहना थियो कि लोकतन्त्रप्रतिको विश्वास ? फरक कोणबाट व्याख्या गर्न सकिएला। 

तर, माधवले रहरले पार्टी त्यागेका पक्कै हैनन्। केपी ओली अध्यक्ष भएदेखि भोगेको हेपाइ र प्रताडनाले उनलाई रुष्ट बनायो नै। नेकपा हुँदा तेस्रो दर्जाको नेता पनि बनाइएन। समानान्तर संगठन चलाएका उनले अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी सुरु गरे।

त्यो  २०७७ सालको तिक्ततापूर्ण कालखण्डकै बीच ओलीले पुस ५ गते संसद विघटन गरिदिए। माधव त्यसको विरुद्धमा उभिए। अदालतको ११ फागुनमा संसद विघटन बदर गरिदियो।  त्यो बेलासम्म नेकपामा माधव र प्रचण्ड बहुमतमै थिए। तर, २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी छुट्याइ दिएपछि पुनः माधवका दुःखका दिन सुरु भए।

एमालेभित्र अल्पमतमा रहेका माधवविरुद्ध ठूलै आक्रमण भयो। ओलीले  २०७६ जेठ ८ गते पुनः संसद विघटन गरे। फेरि माधवको काम सुरु भयो। 

ओलीको कदमविरुद्ध एमालेभित्रकै २४ सांसदसहित उनले रिट निवेदन दर्ता गराए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरे।

२०७८ असार २८ गते ओलीको कदमविरुद्ध सर्वोच्चको परमादेश आयो। देउवा प्रधानमन्त्री भएसँगै माधवले पुरानो पार्टीमा बस्न नसकिने निर्क्योल निकाले। 

भदौ १ गते एमाले छाड्ने र २  गते पार्टी दर्ताको निवेदन हालियो। त्यो बेलासम्म धेरै केन्द्रीय सदस्यले साथ छाडिसकेका थिए। २०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी विधिवत् दर्ता हुँदा अध्यक्ष माधवसँग पार्टी त थियो तर कार्यालय नै थिएन।

असोजमा उनले मीनभवनमा पार्टी कार्यालय त खोले, तर कार्यकर्ताको अभाव छँदै थियो। त्यस्तो बेला गण्डकीका सांसद इन्द्रलाल सापकोटादेखि हिजो साथ दिने कास्कीकी सीता गिरी ओलीसम्मले पुरानै पार्टी रोजे।

स्याङ्जाको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले मात्रै उनको साथ छाडिनन्। बरु, ओलीकै पक्षमा रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ माधव क्याम्पमा आइपुगे। 

पोखराबाट तुलबहादुर गुरुङ, श्रीनाथ बराल, चूडामणि जंगली, धनराज आचार्य, होम नेपाली, पूर्ण लामा, शिवजी गुरुङ, राजन शर्माहरुको साथ पाए।

नयाँ पार्टीमा जाँदा एमालेबाट धनराजलाई विभिन्न आश्वासन र प्रलोभन नदिएको हैन, तर धनराजले विद्रोह नै रोजे। २०७८ असोज ३ गते पोखराको सिर्जना चोकमा प्रदेश र जिल्ला कार्यालय खोल्ने तारतम्य मिलाए। 

‘मलाई पुरानै घरमा बस्न साथीहरुले आग्रह गर्नुभएको थियो, अवसरका कुराहरु पनि थिए’,उनले भनेका थिए,‘तर मैले विद्रोह रोजेँ।’

एकीकृत समाजवादीको कार्यालय साँच्चिकै व्यवस्थित थियो। अध्यक्ष नेपालले धनराजको प्रशंसा गरे र केन्द्रीय कार्यालयभन्दा व्यवस्थित भएकोमा धन्यवाद ज्ञापन गरे। धनराजहरु तुफानी वेगमा संगठन बनाउन लागे। पाँच  हजार सक्रिय सदस्य बनाएको जिकिर गरे।

यो भन्दा पनि बढी, उनले माधव नेपालको विश्वास जिते। सत्ता गठबन्धनबाट पोखराको मेयर आफ्नो भागमा पारिछाडे। एकीकृत समाजवादीले टिकट पाउनु के थियो, धनराज निर्विकल्प मेयरका उम्मेदवार बने।

उम्मेदवार बन्नु र जित्नु फरक कुरा थियो। धनराजको जितसँग एकीकृत समाजवादीको राजनीतिक भविष्य जोडिएको थियो। 

धनराजले दिएको जिम्मेवारी पूरा गरे। ठूलो संगठन अर्थात् कांग्रेस र माओवादीलाई विश्वासमा लिए। आफूलाई टाउकोबाट झरेको रौंसँग तुलना गरेका केपी ओलीका उम्मेदवारलाई हराएर देखाइदिए। माधव नेपालको विश्वास पूरा गरिदिए।

एकीकृत समाजवादीका लागि यो चुनाव उत्साहजनक छैन। तर, गएको भदौमा बनेको पार्टीले  महानगरमा पाएको उपलब्धी कम भने पक्कै छैन। 

कम्तिमा एकीकृत समाजवादीसँग एउटा महानगरको मेयर छ। र, ती अरु कोही नभएर धनराज नै हुन्। उनी राजकीय पदमा छन् र पार्टीको केन्द्रीय सदस्य अनि कास्की अध्यक्ष।

मेयर भएसँगै धनराजको उचाइ बढेको छ। पुरानो पार्टी छाडेर उनलाई फलिफाप तथा पुरानो राजनीतिक महत्वाकांक्षा पूरा गर्ने दिशा तय भएको छ। अब उनी माधव नेपालका विश्वासिला मात्रै नभएर त्यो पार्टीको खम्बा बनेर उदाएका छन्।

पोखराको १५ औं मेयरको रुपमा निभाउने भूमिकाले नै आचार्यको परीक्षा लिनेछ। खरो उत्रन सके ठीकै छ, उनलाई औसत बन्ने छुट छैन। माधव नेपालकै उत्तराधिकारी तथा देशको कार्यकारी बन्ने बाटो मेयरले खोलिदिएको छ।

तर, देशको कार्यकारी बन्न पार्टी बलियो हुनुपर्छ। अर्कोतर्फ, पुरानो पार्टीसँग एकीकरण भइहाले पनि अब धनराज स्थायी कमिटी सदस्यभन्दा तल नहुने उनको राजकीय यात्राले देखाइसकेको छ।

बाँकी त, उनको क्रियाशीलतामा पनि भर पर्छ।

पोखरा महानगरपालिकाको मेयरमा विजयी धनराजले सुन्दर पोखराको सपना सुनाउँदै गर्दा स्रोतको सुनिश्चितालाई विशेष महत्व दिएका छन्। समुन्नत पोखराका लागि ७ वटा प्रस्थानबिन्दु तय किटान गर्दै गुणस्तरीय स्वास्थ्य, उद्यमशीलता र रोजगारको प्रतिवद्धता गरेका छन्।

आचार्यको घोषणापत्रमा नेतृत्व सम्हालेको ६ महिनामै ३ हजारलाई रोजगारी दिने उल्लेख छ। ‘सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित रहेर महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दायाँबायाँ इलेक्ट्रिक ट्रेन सञ्चालन गरिने छ’,घोषणापत्रमा भनिएको छ।

घोषणापत्र सार्वजनिक गर्दा ‘डिजिटल युग’को प्रतिनिधि पात्रकै रुपमा उपस्थित भए। हरेक प्रश्नको सन्तुलित उत्तर दिए।  धनराज अब भने÷बोलेका कुरा कार्यान्वयन गर्ने तहमा पुगेका छन्। उनी मेयर बनेका छन्।

नेपाली कांग्रेसबाट निर्वाचित बहुमत वडाध्यक्ष र एमालेकी उपमेयरलाई साथमा लिएर धनराजले सुन्दर पोखरा बनाउनुपर्नेछ। आफ्नै घोषणा कार्यान्वयनले अब उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

धनराजले जे उपलब्धी पाएका छन्, त्यसले उनका लागि लामो राजनीतिक यात्राको ढोका भने खोलिदिएको छ।

जेठ १०, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad