श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाय राजापाक्ष पहिलो विदेश भ्रमणका लागि भारत पुगेका छन्।
तीन दिने भ्रमणमा नयाँ दिल्ली पुगेका राजापाक्षले आफ्नो कार्यकालमा श्रीलंका–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बाचा गरे।
‘मेरो कार्यकालमा म श्रीलंका–भारत सम्बन्धलाई उच्च तहमा लैजान चाहन्छु,’ उनले भने, ‘हाम्रा दुई देशबीच लामो समयदेखि मित्रता कायम छ। आर्थिक विकास र हाम्रा जनताको सुरक्षाको लागि हामीले मिलेर काम गर्नुपर्छ।’
नोभेम्बर १७ मा भएको निर्वाचनमा राजापाक्षले विजय हात पारेका थिए।
उनलाई नयाँ दिल्लीमा २१ तोपको सलामी दिइएको छ। राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले उनको स्वागत गरे।
टापु राष्ट्र श्रीलंकामा केही वर्षयता भारत र चीनबीच प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा चल्दै आएको छ।
सन् २०१५ को निर्वाचनमा गोताबायका दाजु महिन्दाले अप्रत्यासित रुपमा चुनाव हारेपछि श्रीलंकामा भारतीय प्रभाव बढेको विश्लेषण गरिएको थियो। त्यसैले सत्तामा राजापाक्षको पुनरागमनले श्रीलंकामा चीनको प्रभाव बढ्ने र यसले दिल्लीको चिन्ता बढाउने बताइएको थियो।

प्रतिक्रिया