सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) जनकपुर आउँदै छिन्।
बिहान पौने ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुर आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।
उनका अनुसार पौने ११ बजे जनकपुरस्थित संघीय प्रहरी इकाइको कार्यालय परिसरमा हेलिकप्टरबाट अवतरण गरेपछि भण्डारी जानकी मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्ने छिन्।
त्यसपछि भारत उत्तर प्रदेशको अयोध्याबाट आएका साधुशन्तको जन्तीलाई स्वागत तथा साम्बोधन गर्न उनी ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा पुग्ने कार्यक्रम छ।
धार्मिक एवं सांकृतिक पर्वको रुपमा रहेको सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागि हुन प्रत्येक ५ वर्षमा एकपटक अयोध्याबाट शाधुशन्तसहित रामको जन्ती जनकपुर आउने परंपरा छ।
मंसिर १५ गते अर्थात आइतबार हुने विवाहपञ्चमी महोत्सवमा सहभागि हुन यस वर्ष पनि अयोध्याबाट संयौको संख्यामा साधुशन्तको जन्ती बिहीबार जनकपुर आइपुगेको छ।
राष्ट्रपतिबाट जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णबले जानकारी दिए।
प्रतिक्रिया