राजनीति


निर्वाचन हुने क्षेत्रमा विद्यालय बिदा

निर्वाचन हुने क्षेत्रमा विद्यालय बिदा

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:५९,

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि यही मंसिर १४ गते हुने उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा आजबाट लागू हुनेगरी तीन दिन सार्वजनिक बिदा दिइएको छ।

निर्वाचन कार्यालयले मतदान केन्द्र तोकेका शारदा मावि मौवानगरदह, कोटाञ्जर मावि कोटाञ्जर तथा साउदकडा माविमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

जिल्ला निर्वाचन कार्यालयले ती विद्यालयमा मतदान केन्द्र तोकेका कारण तीन दिन सार्वजनिक बिदा दिइएको जिल्ला शिक्षा समन्वय समिति डोटीले जनाएको छ। जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रम आयोजना नगर्न पत्रमार्फत जानकारी गरिएको बताए।

उनले भने, ‘निर्वाचन सुरक्षालाई मध्यनजर गरेर हामीले निर्वाचन केन्द्र तोकिएका विद्यालयमा कुनै कार्यक्रम नगर्न पत्राचार गरेका छौँ, सबै विद्यालयले पालना गर्नुहुनेछ।’ उक्त वडाको उपनिर्वाचनका कूल तीन वटा मतदान केन्द्र तोकिएको छ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित निर्वाचन सामग्री हस्तान्तरण गरेको छ। निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी बुधबार नै सम्बन्धित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए।

निर्वाचनमा सुरक्षाकर्मीसहित कूल २४५ कर्मचारी परिचालन गरिएको जिल्ला सुरक्षा समिति डोटीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। निर्वाचन हुने क्षेत्रमा आजदेखि मदिरा बिक्रीवितरण तथा सेवन पूर्ण रुपमा बन्द गरिएको छ।

मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइने र मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृत काफलेले बताए। उनले भने, ‘मतपत्र, कर्मचारी व्यवस्थापन, मतदाता शिक्षा, सुरक्षा प्रबन्धलगायत आवश्यक सम्पूर्ण तयारी सकेका छौँ। जनताले निर्धक्क भएर मतदान गरे हुन्छ।’ त्यस्तै मतदानस्थलको सरक्षादेखि उम्मेदवार तथा उनीहरुका घरको सुरक्षा व्यवस्था गरिएको बताइएको छ।

मतदाता नामावलीमा समावेश भएकाका लागि यसअघि वितरण गरिएको परिचयपत्र वा सरकारी कार्यालयबाट जारी भएको परिचय खुल्ने जुनसुकै कागजपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था गरिएको छ। उक्त वडामा कम्तीमा पनि दुई हजार ५०० मतदाता छन्। वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार गरी चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामबहादुर बोहरा, नेपाली कांग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझा तथा स्वतन्त्रका तर्फबाट स्थानीयवासी भूमिसिंह खड्का उम्मेदवार रहेका छन्।

गएरातिदेखि चुनावी आचार संहिता लागू भएसँगै यहाँका राजनीतिक दलले आफ्ना चुनावी प्रचारप्रसार तथा गतिविधि बन्द गरेका छन्। गएको वर्ष सो वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा परी मृत्यू भएपछि अहिले वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad