नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले डडेल्धुरामा पुगेर गत वैशाख २२ गते भनेकी थिइन्, '...त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।'
कांग्रेस र माओवादीसहितको संयुक्त सभालाई सम्बोधन गरेको ९ दिनपछि नै उनको र पति शेरबहादुर देउवाको मतदाता नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको छ।
डडेल्धुरामा आक्रमक मन्तव्य दिने क्रममा उनले कांग्रेसले नजितेका ठाउँमा बजेट नै नदिने चेतावनी दिएकी थिइन्। यो विवादास्पद अभिव्यक्ति दिएपछि आरजुलाई निर्वाचन आयोगले स्पष्टीकरण समेत सोध्यो।
कांग्रेसले मेयर नजितेको ठाउँमा पैसा दिँदैनौँ, करुवा पार्टीलाई भोट नहाल्नू : आरजु राणा
उनले कांग्रेसले मेयर नजितेको ठाउँमा पैसा नपठाउने पनि चेतावनी दिए पनि कर्ण मल्ल नेतृत्वको नेपाली कांग्रेस बीपीको पक्षमा नतिजा गएको हो। कर्ण मल्ल तिनै हुन्, जसलाई देउवाले कांग्रेसको साधारण सदस्यबाटै निष्काशित गरेका छन्।
चौधौँ महाधिवेशनका क्रममा डडेल्धुराको अधिवेशनमा प्रहरी लगाएर एकपक्षीय अधिवेशन गरेको भन्दै आक्रोशित मल्लले नेपाली कांग्रेस (बीपी) पार्टी बनाएका छन्।
उक्त पार्टीले अहिले डडेल्धुरामा नेकपा एमालेसँग मिलेर चुनावी प्रतिस्पर्धा गरिरहेको छ। एमाले र मल्लको पार्टीबीच तालमेल हुँदा त्यहाँ अन्य दल एक्ला एक्लै चुनावी मैदानमा छन्।
'कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ?,' देउवा पत्नीले त्यसबेला भनेकी थिइन्, 'त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।'
उनले सम्बोधनका क्रममा कांग्रेसबाट विद्रोह गरे डडेल्धुराका सबै पालिकामा नेपाली कांग्रेस बीपी खडा गरेर चुनावमा होमिएका पूर्व जिल्ला सभापति मल्लप्रति आक्रोश पोखेकी थिइन्।
त्यसपछि डडेल्धुरा पुगेका देउवाले पनि मल्लबारे तल्लोस्तरको टिप्पणी गर्दै गाली बर्साएका थिए। देउवाको दबदबा र आरजुको धम्कीबीच पनि मल्लले रुवाखोलाको नतिजा आफ्नो पक्षमा पारेर बलियो राजनीतिक सन्देश दिएका छन्।
Shares
प्रतिक्रिया