प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
बुधबार मध्यान्ह पूर्वप्रधानमन्त्री समेत रहेका देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्री सघन उपचार कक्ष (आईसीयू)मा रहेका कारण उनले उपचारमा संलग्न डाक्टर र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिजालसँग स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘प्रधानमन्त्रीलाई भेटन सभापति देउवा अस्पतालमै जानुभएको हो’, उनले नेपालखबरसँग भने, ‘तर, आईसीयूमा रहेका कारण भेटन नमिल्ने भएपछि डाक्टर र सल्लाहकारसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्कियौँ।’
यसअघि मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमै पुगेर प्रधानमन्त्रीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ बजे मनमोहन अस्पताल पुर्याइएको थियो ।
विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र ‘एपेन्डेक्टोमी’ (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया) गरिएको थियो।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा गुणात्मक सुधार भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया