राजनीति


विप्लवमाथि आरोप : एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाए, संसदवादमा रमाए

विप्लवमाथि आरोप : एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाए, संसदवादमा रमाए

फाइल तस्बिर


नेपालखबर
बैशाख २८, २०७९ बुधबार १३:२१, काठमाडौँ

नेत्रविक्रम चन्द विप्लवमाथि नेकपा (बहुमत) पक्षले संसदवादी, संशोधनवादी र वितण्डतावादीको आरोप लगाएको छ। 

गत २६ वैशाखमा राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका नेताहरुले विद्रोह गरेर नयाँ पार्टी घोषणा गरेका छन्। 

विप्लवले चुनावमा भाग लिने निर्णय गरेर अघि बढेपछि असन्तुष्ट समूहले नेकपा बहुमत घोषणा गर्दै ‘वितण्डावादी यात्रा’को रुपमा लिएको छ। 

३० वैशाखमा हुने स्थानिय तह निर्वाचनमा देशभरबाट ७५६ जना विप्लवका उम्मेदवारहरू स्वतन्त्रबाट सहभागी हुँदैछन्। जसलाई असन्तुष्ट समूहले संसदीय संशोधनवादका रुपमा लिएर विद्रोह गरेको जनाएको छ।

नेता धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा ‘नेकपा बहुमत’ को औपचारिक घोषणा गरिएको हो। नेकपा बहुमतको घोषणा गर्दै बाँस्तोलासहितका नेताहरुले विप्लवलाई संसदवादी र संशोधनवादीसँगको विद्रोहको रुपमा ब्याख्या गरेको छ। 

पार्टी विभाजित भएसँगै विप्लव नेकपाको मुखपत्र समेत रहेको साप्ताहिक पत्रिका ‘रातोखबर’ ले ‘संसदवादी संशोधनवादसँग ऐतिहासिक विद्रोह’ शीर्षकमा सम्पादकीय लेखेको छ। ‘विप्लव समूह दक्षिणपन्थी अवसरवादमा पतन’ भएको नेकपा बहुमतका नेता बाँस्तोलाले बताएका छन्।

बहुमतको आरोप
विप्लवले कणिकाहरूदेखि ब्रह्माण्डसम्म लागू हुने भौतिकवादी द्वन्द्ववादको नियम ‘विपरीतहरूको एकत्व’ लाई पार्टीभित्र लागु गर्न नचाहेको, पार्टीभित्र विकास हुने दुई लाइन संघर्षलाई हटाएर अन्तरसघर्ष मात्रै भनेको, पार्टीभित्र आलोचना तथा आत्मालोचनाको पद्धतिलाई हटाएको, समाजवादीहरु संसदमा पुगेर संसदीय व्यवस्थालाई निलेपछि वैज्ञानिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भनी दस्तावेजीकरण गरेको लगायत आरोप नेकपा बहुमतले लगाएको छ। 

एकीकृत जनक्रान्तिलाई मनचिन्ते झोली बनाउँदै यसको ठोस विश्लेषण नगरेको, निजी स्वामित्व र सामूहिक स्वामित्वको आर्थिक समायोजन गर्ने समन्वयवादी नीति लिएको लगायत सैद्धान्तिक गल्तीहरु स्पष्ट रुपमा देखिएको आरोप उनीहरुले लगाएका छन्। 
 

पुनर्गठित नेकपा बहुमतका वरिष्ठ सदस्य हेमन्तप्रकाश वलीले वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सबैखाले संसदीय संशोधनवादविरुद्ध संघर्ष गर्न र कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई संस्थागत गर्न विशेष राष्ट्रिय भेला सम्पन्न गरेको बताएका छन्। 

त्यस्तै, पार्टीको मुखपत्र रातोखबरमा एक लेख लेख्दै बास्तोलाले विप्लवमा पेटी बुर्जुवा प्रवृत्ति देखापरेको आरोप लगाएका छन्। 

‘...राजनीतिक रुपले विप्लवमा संसदवाद, अत्यन्त संकिर्ण) प्रकारको रोमान्टिसिज्मम, पेटी बुर्जुवा प्रवृत्ति देखा पर्यो‍। उग्रवामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखापर्यो‍‍। विप्लवमा जुन विचलन देखियो,’ उनले भनेका छन्, ‘संघर्षले त जनताको जीवन परिवर्तन गर्न मद्दत गर्नुपर्दछ। तर उनले संघर्ष कस्तो हुने, त्यसपछिको कार्यक्रम कस्तो हुनेबारे सोचेका रहनेछन्। त्यो भनेको वितण्डतावाद हो। उनीहरु चुनावपछि फेरि फर्किएलान् तर उनीहरु संसदवादी भइसकेका हुनेछन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad