ad ad

राजनीति


घरमै पुगेर भरतपुरका बागी फकाउँदै, गृहमन्त्रीपछि उमेश श्रेष्ठ पनि पुगे

उम्मेदवारीबाट पछि नहट्ने पौडेलको अडान यथावत
घरमै पुगेर भरतपुरका बागी फकाउँदै, गृहमन्त्रीपछि उमेश श्रेष्ठ पनि पुगे

भरतपुरस्थित पौडेल निवासमा दुई मन्त्रीसहितका नेताहरु। तस्बिर: नेपालखबर


नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १२:२, काठमाडौँ

भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुलाई हम्मे परेको छ। 

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्ने समय आज सकिँदै गर्दा कांग्रेसको समर्थनमा दोहोरिन तयार माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध बागी दिएका पूर्वसांसद पौडेललाई फकाउन सभापति शेरबहादुर देउवाले एकपछि अर्का दूत पठाएका हुन्। 

बुधबार दिउँसो काठमाडौंबाट चितवन पुगेर भरतपुरमै बास बसेका गृहमन्त्रीले बागी उम्मेदवार पौडेललाई मनाउन जुटिरहेका बेला देउवाले अर्का दूतलाई पठाएका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेलको भरतपुर महानगरपालिका-७ स्थित घरमा बिहानै पुगेका छन्। 

उनीहरु दुवैले बागी उम्मेदवार पौडेलसँग उनको घरमै वार्ता गरेका छन्। उक्त वार्तामा बागी उम्मेदवार पौडेललाई मनोनयनमा प्रस्ताव गरेका पाका कांग्रेस नेता कृष्णलाल सापकोटा पनि सहभागी थिए। 

पौडेललाई फकाउन दुई मन्त्रीसहित चितवन कांग्रेस सभापति पनि पुगेका थिए। पौडेलले उनीहरुलाई फूल र खादासहित आफ्नो निवासमा स्वागत गरे। 

पौडेलसँगको संवादपछि राज्यमन्त्री श्रेष्ठले बागी उम्मेदवारी फिर्ता लिन सकारात्मक भएको पत्रकारहरुलाई बताएका छन्।

बागी उम्मेदवार पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

तर मन्त्री श्रेष्ठले भने पौडेल पछि हट्न सकारात्मक रहेको पत्रकारहरुलाई बताएका छन्। 

यसअघि गत मंगलबार पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क काठमाडौंबाट चितवन पुगेर फर्किएका थिए। 

तर उनले त्यहाँ पुगेर कोसँग वार्ता गरे भन्ने केही खुलेको छैन। भरतपुरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ। 

यो तालमेलका कारण पाँच दलीय गठबन्धनलाई चुनौती बढेको छ। एकातिर राप्रपा-एमाले तालमेल अर्कातिर कांग्रेसबाटै बागी उठेपछि सत्ता गठबन्धनलाई तनाव बढेको छ।

यसैबीच कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारी दिएका पार्टीका नेता-कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेका छन्। ​

बिहीबार बिहान विज्ञप्ति निकालेर उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न फिर्ता लिन आग्रह गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .