ad ad

राजनीति


काठमाडौं र पोखराका एमाले उम्मेदवारमाथि ‘सोसल मिडिया ट्रायल’

काठमाडौं र पोखराका एमाले उम्मेदवारमाथि ‘सोसल मिडिया ट्रायल’

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १८:५६, काठमाडौँ

केपी शर्मा ओलीको निजी निवास बालकोटमा शनिबार साँझ बसेको नेकपा एमाले सचिवालय बैठकले पोखरा महानगरपालिकाको प्रमुखमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्यो ।

सोही बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापितलाई उठाउने निर्णय लियो ।

आइतबार बिहानसम्म आइपुग्दा सीसी क्यामेराले खिचेको भनिएको पौडेलको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । कतिपय अनलाइनले त्यही भिडियोमा आधारित भई समाचार नै बनाइसकेका थिए ।

एमाले उम्मेदवार पौडेलको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाएर सार्वजनिक गरिएको त्यो फुटेज यदि सही हो भने उनले मेयर पदमा चुनाव लड्ने नैतिक मर्यादा र बल केही पनि बाँकी रहँदैन । 

यो पनि : ‘मौन अवधिमा सामाजिक सञ्जाल बन्द गर्दा कसो होला?’

त्यसैगरी काठमाडौंमा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापितका विषयमा पनि उनको व्यक्तिगत सांस्कृतिक आचरणमाथि प्रश्न उठाएर सामाजिक सञ्जालमा कतिपय स्क्रिन शटहरु सार्वजनिक भएका छन् । स्थापितको विरुद्धमा आएको त्यस्तो स्टाटसले उनीमाथि व्यक्तिगत रुपमै असर पार्ने देखिन्छ । 

एमाले उम्मेदवारमाथि सामाजिक सञ्जालमा लगाइएका यस्ता व्यक्तिगत लाञ्छना सही हुन् या गलत, त्यो आफ्नो ठाउँमा छ, तर चुनावका बेला सोसियल मिडियाको प्रभाव कस्तोसम्म पर्न सक्छ भन्ने चाहिँ यी दुई घटनाले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा उठाइएका यी प्रश्नहरुको एमाले उम्मेदवारले उचित जवाफ दिन सकेनन् भने त्यसले चुनावी नतिजामै प्रभाव नपार्ला भन्न सकिन्न ।

सामाजिक सञ्जालमा प्रश्न उठेपछि एमालेले पोखराको मेयरको उम्मेदवारबारे पुनर्विचार गर्ने संकेत गरेको छ । तर, काठमाडौंको हकमा भने केशव स्थापितले नै मनोनयन दर्ता गर्ने लगभग निश्चित रहेको एमाले नेताहरु बताउँछन् । 

यसैबीच, तीन दिनअघि निर्वाचन आयोगले सम्पादकहरूसँग आयोजना गरेको एक छलफल कार्यक्रममा आयोगका पदाधिकारीले चुनावमा सामाजिक सञ्जालले पारिरहेको नकारात्मक प्रभावबारे चिन्ता प्रकट गरेका थिए ।

चुनावका बेला केही समय सामाजिक सञ्जाल नै बन्द गरिदिने हो कि भन्ने प्रश्नसमेत  आयोगका एकजना पदाधिकारीले उठाएका थिए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .