आसन्न स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालयबाट घोषणापत्र सार्वजनिक गरेको हो।
त्यस्तै केन्द्रको निर्देशन अनुसार देशभरका ७५३ स्थानीय तहबाट एमालेले एकसाथ प्रतिवद्धता सार्वजनिक गरेको छ।
निर्वाचन घोषणासँगै एमालेले पार्टी मुख्यालय पनि सारेको छ। थापाथलीस्थित मुख्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सरेपछि अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
चुनावी घोषणापत्रमा एमालेले विभिन्न महत्वाकांक्षी योजना सुनाएको छ। प्रत्येक जनताको घर–घरमा निःशुल्क बिजुली, दुई वर्षभित्र हरेक घरमा खानेपानी, सडक पुग्न नसक्ने गाउँमा केबलकार लगायत योजना एमालेले घोषणापत्रमा समावेश गरेको छ।
घोषणापत्र सार्वजनिक र पार्टी प्रवेश कार्यक्रम सकिएपछि लामो भाषण गरेका ओलीले सत्ता गठबन्धनको आलोचना मात्रै गरेनन्। आफ्नो नेतृत्वको सरकारका कामको फेहरिस्त पनि सुनाए।
घोषणापत्रमा समावेश विषयलाई बुँदागत रुपमा भन्दै ओलीले भारतले अतिक्रमण गरेको भूभाग समेटेर चुच्चे नक्सा बनाउने, अन्तरिक्षमा स्याटेलाइट पुर्याउनेदेखि सडक मानवमुक्त अभियानसम्मका काम एमालेले गरेको जिकिर गरे।
ओलीको नजरमा एमालेका उपलब्धि
–देशका अशक्त, वृद्धवृद्धा सम्झिएर वृद्धभत्ता बढाउने एमाले।
–सेना, प्रहरी, कर्मचारीको सेवा सुविधा बढाउने एमाले।
–मधेशमा नागरिकताको समस्या समाधान गर्ने एमाले।
–सुनकोशी मरिन डाइभर्सनको पहरो फोडेर तराईमा सिँचाइ पुर्याउने एमाले।
–हुलाकी पैदल बाटोलाई मेची–महाकाली हुलाकी राजमार्ग बनाउने एमाले।
–पूर्वपश्चिम र मदन भण्डारी राजमार्ग नयाँ बनाउने, एमाले।
–जनकपुरमा रेल ल्याउने एमाले।
–रेल किनेर ल्याएर कुदाउने एमाले।
–गरिबलाई घर बनाएर वितरण गर्ने एमाले।
–खरका छानालाई विस्थापित गरेर जस्तापाता दिने एमाले।
–भूकम्पले ध्वस्त पारेको नेपाललाई पुनःनिर्माण गरेर हस्तान्तरण गर्ने एमाले।
–सडक मानव मुक्त बनाउने एमाले।
–मेलम्चीको पानी ल्याउने एमाले।
–देशको अर्थतन्त्र ७ प्रतिशतभन्दा बढी बनाउने एमाले।
–बालबालिकालाई भर्ना अभियान अघि बढाउने एमाले।
–समुन्द्रसम्म पुग्ने एमाले।
–अन्तरिक्षमा पुग्ने एमाले।
–धर्तीको अर्बिट पार गरेर अन्तरिक्षमा स्याटेलाइट पठाउने एमाले।
–चुच्चे नक्सा बनाउने एमाले।
–देशभक्त र जनताको पार्टी एमाले।
Shares
प्रतिक्रिया