ad ad

राजनीति


यी नवनियुक्त मन्त्रीले खेप्नेछन् झण्डा हल्लाउँदै ज्यानमुद्दाको पेशी

यी नवनियुक्त मन्त्रीले खेप्नेछन् झण्डा हल्लाउँदै ज्यानमुद्दाको पेशी

दीपक खरेल
मंसिर ५, २०७६ बिहिबार ११:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते मन्त्रीपरिषद हेरफेर गरे, जसमा थपिएका ६ मन्त्रीमध्ये एक हुन्, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ।

बुधबार मन्त्री नियुक्त हुनु ठ्याक्कै ३० दिन अघिमात्र उनी कर्तव्य ज्यान उद्योगमा काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका थिए।

उनीविरुद्ध पार्टीकै कार्यकर्ता वीरुध्वज खड्काले ‘आफुलाई व्यक्ति परिचालन गरेर ज्यानमार्ने उद्योग गरेको’ आरोप लगाएका थिए। खड्काले दिएको किटानी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि सांसद गुरुङ कात्तिक ३ गते अदालतमा हाजिर भएका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरकुमार उपाध्यायको इजलासले सोही दिन सांसद गुरुङलाई साधारण तारेखमा राख्ने आदेश दियो। उनीपछि यही साताको सुरुवातमा अर्का आरोपी गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामी समेत अदालतमा हाजिर भएर साधारण तारेखमा बाहिर छिन्।

प्रहरीले प्रतिवादी कायम गरेका सबै अदालतमा हाजिर भएपछि अब साक्षीको बकपत्र सुरु हुँदैछ।

मंसिर २४ मा मन्त्री गुरुङको मुद्दाको पेशी
काठमाडौं जिल्ला अदालतको इजलास नम्बर ७ मा मंसिर २४ गते एउटा फरक दृश्य देखिनेछ। त्यो दिन न्यायाधीश पूर्णेश्वरकुमार उपाध्यायको इजलासमा सरकारका एकजना नवनियुक्त मन्त्री उपस्थित हुनेछन्। उनी सरकारी गाडीमा नेपाली झण्डा हल्लाउँदै अदालत जानेछन्।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले गुरुङ सहितको मुद्दाको अर्को पेशी मंसिर २४ गते तोकिएको नेपालखबरलाई बताए। त्यो दिनको पेशीमा साक्षीहरुको बकपत्र हुनेछ। प्रहरीले जाहेरीकर्ता खड्कालाई मरणासन्न हुनेगरि कुटपीट गरेको देख्ने व्यक्तिहरुलाई साक्षी बनाएको छ। उनीहरुले अब इजलास समक्ष एकजना बहालवाला मन्त्री प्रतिवादी बनेको मुद्दामा बकपत्र दिनेछन्।

‘मुद्दा विचाराधिन छ, अर्को पेशी तोकिएको छ’, श्रेष्तेदार श्रेष्ठले नेपालखबरसँग भने, ‘पार्वत गुरुङलाई के बनाइयो वा के जिम्मेवारी दिइयो त्यो राज्यको निर्णय हो, यसमा अदालत बोल्दैन।’

अदालतका अनुसार २९ वैशाख २०७६ मा सांसद गुरुङ सहितका प्रतिवादी भएको मुद्दा दर्ता भएको हो। जसमा ७ जना फरार देखिएपछि अदालतले गुरुङ सहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

अदालतले सांसद गुरुङ, थामीसहित मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, जीवन तामाङ, सागर तामाङ र सविन तामाङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। सबै प्रतिवादी अदालतमा उपस्थित भै सकेकाले अब अदालतको कारबाही प्रक्रिया अर्को चरणमा पुगेको हो।

यस्तो थियो घटना
गत स्थानीय निकाय निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिका १ मा नेकपा एमालेबाट वडा सदस्य उम्मेदवार बनेका कुलबहादुर तामाङको हत्या भएपछि उत्पन्न विवादमा भएको झगडामा सांसद गुरुङ मुछिएका हुन्।

अनुसन्धानमा चुनावी प्रचारका समयमा प्रमुख विपक्षी रहेको माओवादी केन्द्रका कार्यकर्ताले रेशम डाँडामा २६ वैशाख ०७४ मा राति भाला र अन्य धारिलो हतियार प्रहार गरेर तामाङको हत्या गरेको खुलेको थियो। उनलाई पार्टी छोडेर एमालेमा लागेको भन्दै हत्या गरिएको अनुसन्धानमा खुलेको थियो। तामाङ घटनाको केही दिनअघि मात्र माओवादीको भातृ संगठन वाईसीएल छाडेर एमाले प्रवेश गरेका थिए।

तामाङ परिवारले छोराको हत्या आरोपमा माओवादीबाट राज्यमन्त्री बनिसकेकी देवी खड्का, नेता विशाल खड्का, गंगा कार्की, विमर्शराज कार्कीसहित ४० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, दोलखामा किटानी जाहेरी दिएका थिए। तर प्रमाण अभावमा जिल्ला अदालत दोलखाले उनीहरुलाई साधारण तारेखमा छाडेको थियो।

यही घटनामा संलग्न रहेको भनिएका जाहेरीकर्ता खड्कालाई स्थानीय चुनाव लगत्तै काठमाडौं गौशालामा कुटपीट भएको थियो। एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेर नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, गौशालामा बुझाएका थिए।

अदालत पुगेर रिहा भएपछि खड्काले हालका सांसद पार्वत गुरुङ र थामीको निर्देशनमा आफुमाथि कुटपिट भएको दावी गर्दै काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गराएपछि नवनियुक्त मन्त्री गम्भिर फौजदारी अभियोगका आरोपी बनेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .