ad ad

राजनीति


एमालेले दुई राजावादी पार्टीसँग गर्ला चुनावी तालमेल?

प्रदीप ज्ञवाली भन्छन् : गठबन्धनविरुद्ध हामी एक्लै लड्न तयार छौँ
एमालेले दुई राजावादी पार्टीसँग गर्ला चुनावी तालमेल?

फाइल तस्बिर


ज्ञानेन्द्र खड्का
चैत १८, २०७८ शुक्रबार १४:३१, काठमाडौँ

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनले मोर्चा कसिसकेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले केन्द्रदेखि पालिकासम्मै संयुक्त संयन्त्र बनाएर चुनावी तयारी थाल्ने निर्णय गरिसकेको छ। 

प्रमुख सत्तारुढ नेपाली कांग्रेसको चार दिनसम्म बसेको केन्द्रीय कार्य समितिले आवश्यकता र स्थानीय परिस्थिति अनुसार गठबन्धनका दलहरूसँग मात्रै तालमेलमा जाने निर्णय गरेको थियो।

कांग्रेसको त्यही निर्णयअनुसार गठबन्धन दलले साझा संयन्त्र बनाएर स्थानीय तहसम्मै चुनावी मोर्चा अघि बढाउने सहमति गरेका हुन्।

सत्ता गठबन्धनले मोर्चा कसिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली एक्लै देशभर पुगिरहेका छन्। चुनावी सभाकै झल्को दिने गरी ठूला सभा गरिरहेका ओली बिहीबार मात्रै कर्णालीका दैलेख, कालिकोट र जुम्लामा सभा गरेर फर्किएका छन्। 

आफ्नो सरकार हुँदा साथ दिएको लोकतान्त्रिक समाजवादी पार्टीसमेत सत्ता गठबन्धनमा समाहित हुने तयारी भइरहँदा ओलीले वैशाख ३० को निर्वाचनमा एक्लै होमिनुपर्ने सम्भावना बढेर गएको छ।

कमल थापाको रहर 
यस्तोमा दुई राजावादी पार्टीहरुले एमालेसँग चुनावी तालमेलको इच्छा देखाइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई सक्रिय बनाएका कमल थापाले सार्वजनिक रुपमै एमालेसँग तालमेल हुन सक्ने बताइरहेका छन्। 

यही मंगलबार मात्रै पत्रकारहरूसँगको कुराकानीका क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको बताएका थिए।

करिब डेढ महिनाअघि राप्रपा नेपाल खोलेदेखि नै उनले एमालेसँग सहकार्य हुन सक्ने बताउँदै आएका छन्। गत फागुन ७ मा नयाँ पार्टी घोषणा गरेर संगठन निर्माणमा लागेका थापालाई स्थानीय निर्वाचनमा आफ्नो अस्तित्व देखाउन पनि गठबन्धन चाहिएको छ। 

उनले मंगलबार मात्रै राष्ट्रियतासँगको सवालमा आफूहरू एमालेसँग करिब नजिक रहेको तर्क पनि गरेका छन्। 

'सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ,' उनले भनेका थिए, 'स्थानीय निर्वाचनबाट राप्रपा नेपाललाई खुट्टा टेकाउने गरी बलियो बनाउने योजनामा छौँ।'

थापाले यसअघिका सार्वजनिक कार्यक्रममा पनि एमालेसँग तालमेलको व्याख्या गर्दै आएका छन्। दलहरुबीच गठबन्धन र सहकार्य संविधानमै अपेक्षित भएको बताउँदै त्यो सम्भावना रहेको तर्क उनले गरेका छन्। चुनावमा जितका लागि तालमेल चाहिने तर्क उनले गरे। 

राजेन्द्र लिङ्देन नेतृत्वको ​राप्रपा के चाहन्छ?
उता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि तालमेल गर्ने उचित दलको खोजीमा छ। एकता महाधिवेशनपछि हार स्वीकार्न नसकेर कमल थापाले एउटा पंक्तिसहित पार्टी छाडेपछि राप्रपा केही दबाबमा छ। 

तर पनि राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ देशभर पार्टीको पक्षमा लहर चलेको दाबी गर्छन्। 

‘स्थानीय तह निर्वाचन अभियान लिएर गाउँ गाउँ पुग्ने पहिलो पार्टी नै राप्रपा हो’, उनले भने, ‘हाम्रो अवस्था पहिले भन्दा धेरै बलियो भएको छ। देशभर पार्टीको पक्षमा लहर चलेको छ। तर चुनाव त एक भोटले पनि हारिन्छ नि! त्यहीकारण स्थानीय आवश्यकता अनुसार तालमेल पनि खुला राखेका छौँ।’

श्रेष्ठले त्यसका लागि राष्ट्रियता र लोकतन्त्रको पक्षमा विचार मिल्ने दलहरूसँग छलफल भइरहेको पनि स्वीकारे।

‘स्थानीय आवश्यकता र विशेषता हेरेर चुनावी तालमेल हुन्छ। हामीले जित्न सकिने धेरै ठाउँ छन्’, उनले भने, ‘त्यति हुँदा हुँदै पनि निर्वाचन परिणाम बढी भन्दा बढी आफ्नो पक्षमा पार्न तालमेल उपयोगी हुन सक्छ। विचार मिल्ने र यसअघि सहकार्य गरेका दलहरूसँग हामी छलफलको चरणमा छौँ।’

प्रवक्ता श्रेष्ठकै भनाइलाई पुष्टि गर्ने गरी बिहीबार राति नेपालगञ्जमा त्यहाँका मेयर एवम् राप्रपा महामन्त्री धवलशमशेर जबरा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ। 

उक्त भेटका क्रममा नेपालगञ्ज उपमहानगरमै दुई दलबीच तालमेलबारे प्रारम्भिक छलफल छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। 

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल भएको श्रेष्ठले बताए।

‘स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने पनि दुई नेताबीच सहमति भएको छ।’

ओली-थापा भेट 
आगामी निर्वाचनमा तालमेलका लागि राप्रपा नेपालका अध्यक्ष थापाले केही समयअघि एमाले अध्यक्ष ओलीसँग भेटेर छलफल गरिसकेका छन्। 

संगठन निर्माण प्रक्रियामा रहेकाले अहिले आफूहरु आगामी निर्वाचनमा खुट्टा टेक्ने उपायको खोजीमा मात्रै रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला बताउँछन्। 

‘एमाले अध्यक्ष ओली र अध्यक्ष थापाबीच केही समयअघि निर्वाचनमा तालमेलकै विषयमा भेटेर कुरा भएको हो। व्यक्तिगत रुपमा पनि अध्यक्ष थापातिर ओलीको सद्भाव रहेको छ’, बर्तौलाले भने, ‘राप्रपा नेपाल पनि सैद्धान्तिक र वैचारिक रुपमा एमालेसँग निकट छ। राष्ट्रियताको मुद्दामा पनि विचार मिल्ने भएकाले एकअर्कालाई सहयोग लेनदेन हुन सक्छ भन्ने निचोड हाम्रो छ।’

बर्तौलाले चुनावको मुखमा नयाँ शिराबाट अघि बढ्ने संकल्प गरेकाले कम्तीमा अडिने ठाउँसम्म बनाउन जरुरी रहेको उल्लेख गरे। 

‘अहिले त्यसमै मिहिनेत भइरहेको छ। जहाँ जहाँ मिल्न सक्छ, त्यहाँ तालमेल हुन्छ। केन्द्रमा सकारात्मक कुरा भएको छ’, उनले भने, ‘केन्द्रीयस्तरमै सहमति भएमा सम्भावना भएका ठाउँहरुमा आन्तरिक रुपमा सर्कुलर गरेका छौँ। जनाधार र संगठन भएका ठाउँहरुमा कुरा  भइरहेको छ।’

बर्तौलाले चुनावी तालमेलका लागि अहिलेलाई एमालेसँग मात्रै संवाद चलेको बताए।

‘अहिले तत्काल एमालेसँग मात्रै हाम्रो संवाद चलेको छ’, उनले भने, ‘विचार मिल्ने अन्य दलसँग पनि कुरा हुन सक्छ। सम्भवत: एमालेसँग केही स्थानमा तालमेल हुन सक्छ।’

एमालेको मुड 
प्रमुख प्रतिपक्षी नेकपा एमाले अहिलेकै अवस्थामा एक्लै चुनाव लड्ने तयारीमा छ। उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचनका लागि तालमेललाई लिएर अन्य कुनै पनि दलसँग संवाद नभएको बताएका छन्। 

ज्ञवालीले सत्ता गठबन्धन पहिलेबाटै एमालेलाई घेराउ गर्न लागिसकेकोले अहिलेको तालमेल निर्णयलाई अनौठो मान्न नसकिने बताए। 

‘त्यो हाम्रा लागि कुनै अनौठो विषय होइन। हामी वैशाख ३० को निर्वाचन एक्लै लड्न मानसिक रुपमा तयार भइसकेका छौँ’, ज्ञवालीले नेपालखबरसँग भने, ‘राष्ट्रियस्तरमा कुनै दलसँग तालमेल नहुने कुरा हाम्रो केन्द्रीय कमिटीले निर्णय नै गरिसकेको छ।’

ज्ञवालीले एमालेसँग तालमेलका लागि दुई राप्रपाले जोडबल लगाइरहेको कुरालाई पनि नकारिदिएका छन्। उनले एमालेले उनीहरुसँग तालमेल गर्नुको कुनै अर्थ नै नहुने पनि बताए। 

‘दुवै राप्रपाको कुनै राष्ट्रिय आकार नै छैन। उनीहरुसँग एमालेले तालमेल गर्ने कुरा हाम्रो एजेन्डा नै होइन’, ज्ञवालीले थपे, ‘तर स्थानीयस्तरका कमिटीहरुले जित्ने आधार हेरेर निर्णय लिन सक्छन्। जितको सम्भावना खोजी गर्दा यी दुई दलसहित अन्यसँग पनि तल्ला कमिटीले तालमेल र सहकार्यको निर्णय लिन सक्छन्।’

ज्ञवालीले सत्तारुढ पाँच दलीय गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको पनि दोहोर्‍याए। त्यही अनुसार एमालेले देशव्यापी पार्टी प्रवेश र चुनावी अभियानलाई अघि बढाइसकेको उनको भनाइ छ। 

झापामा के होला? 
एमाले र राप्रपाबीच माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल कोसिस भएको थियो। प्रदेश १ मा भएको राष्ट्रिय सभा निर्वाचनमा यी दुई दलबीच तालमेल कोसिस भए पनि अन्तिमा दुवैले आफ्ना उम्मेदवार उठाएका थिए।

२०७४ सालमा वाम गठबन्धन हुँदा एमालेले झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देनलाई सहयोग गरेको थियो। एमालेकै सहयोगका कारण लिङ्देनले कांग्रेस नेता कृष्ण सिटौलालाई हराएका थिए। झापा ५ मा ओलीले राप्रपाको समेत मत पाएर फराकिलो मतले २०७४ मा विजयी भएका थिए। 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि राप्रपा झापामा एमालेसँग तालमेलका लागि वार्ता गर्न खोजिरहेको छ। तर एमाले अध्यक्ष ओलीले ठोस उत्तर दिइसकेका छैनन्। 

आफ्नो सहयोगमा जिते पनि लिङ्देनले गुण भुलेको गुनासो पनि ओलीले गर्ने गरेका छन्। मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा लिङ्देनले सबै नेतालाई गाउँमा जनताले चोर भन्दा ओली बिच्किएका थिए। 

त्यही सभामा ओलीले लिङ्देनलाई संकेत गर्दै ‘बाच्छो जन्मने बित्तिकै बुरुक-बुरुक गर्छ’ भन्दै कटाक्ष गरे। ओलीको यो कटाक्षपछि उनीहरुबीच संवादहीनताको अवस्था छ।

ओलीको त्यही टिप्पणीका कारण राष्ट्रिय सभा निर्वाचनमा लिङ्देनले बिष्टलाई उम्मेदवार बनाउँदा एमालेका उम्मेदवार पराजित भएका थिए। राष्ट्रिय सभाको निर्वाचन परिणाम पछि एमाले अध्यक्ष ओली र अन्य नेताहरु राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिच्किएका हुन्। एमालेका एक नेताले ‘लिङ्देनले गुण बिर्सिएको’ टिप्पणी गरे।

राप्रपाको असहयोगका कारण प्रदेश १ मा एमालेले दुई सदस्य गुमायो। राप्रपाले झापाका अम्बर बिष्टलाई उम्मेदवार बनाएको थियो। 

हार पक्का हुँदा पनि विष्टलाई उम्मेदवार बनाएपछि एमालेका गुरु बराल बराबरी मत हुँदा चिट्ठाबाट कांग्रेसका गोपाल कुमार बस्नेतसँग पराजित भएका थिए। यस्तो अवस्थामा राप्रपाले चुनावी तालमेल चाहे पनि एमालेले अन्य दलसँगको सहकार्यबारे कुनै निर्णय लिइसकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .