राजनीति


बागमतीमा ०७४ को वर्चस्व जोगाउने यस्तो छ एमालेको तयारी

बागमतीमा ०७४ को वर्चस्व जोगाउने यस्तो छ एमालेको तयारी

सागर न्यौपाने
चैत १६, २०७८ बुधबार २२:४०, काठमाडौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उपत्यकाका दुई कार्यक्रममा सम्बोधन गरे। भक्तपुर र ललितपुरमा भएका अलगअलग कार्यक्रमलाई सम्बोधन गरे पनि ओलीले एउटै कुरा भने, ‘जसरी पनि स्थानीय तहको चुनाव जित्नुपर्छ।’

‘गठबन्धनमा रहेका पाँच दल भनेका एकएक केजीका ढक हुन्, तर एमाले एक्लै एक क्विन्टलको ढक हो,’ ओलीले भने, ‘अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुईपट्टि राखेर जोख्दा तुलनै हुन सक्दैन। एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ।’

ललितपुरको होटल हिमालयमा पार्टीको प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशालालाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनमा सबै एक भएर होमिन निर्देशन दिए। कार्यक्रममा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम प्रचार गर्न मतदाताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।

पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी भएको भर्चुअल बैठकमा ओलीले यसअघि जितेका स्थान कायम राख्दै थप जित्नेगरी खट्न आग्रह गरे।

मंगलबार नेपाली कांग्रेसले सत्ता साझेदार दलसँग स्थानीय तहको चुनावी तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट ओलीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई भर्चुअल सम्बोधन गरेका हुन्। 

उनले कार्यक्रम स्थल चयन गरेका थिए ललितपुर महानगरपालिकामा रहेको होटल। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले ललितपुर महानगर गुमाएको थियो।

नेपाली कांग्रेसले जितेको त्यही महानगरमा आयोजित कार्यक्रममा ओलीले आफ्ना कार्यकर्तालाई भने, ‘पाँच दलको गठबन्धनभन्दा बढी सिट जितेर देखाउनुपर्नेछ, तपाईंहरु लाग्नुहोला।’ 

गत निर्वाचनमा एमालेले बागमती प्रदेशमा आधाभन्दा बढी स्थानीय तहमा जित हात पारेको थियो। काठमाडौँ महानगरपालिका, हेटौँडा उपमहानगरपालिकासहित कुल ११९ तहमध्ये ३३ गाउँपालिका र ३१ नगरपालिका प्रमुख एमालेले जितेको थियो। ३८ गाउँपालिका उपाध्यक्ष जितेको एमालेले ३१ वटै नगरपालिकाको उपप्रमुख पनि जितेको थियो। 

यस हिसाबले २०७४ मा एमालेले बागमतीमा ५२ प्रतिशत स्थानीय तह जितेको थियो।

५७ सयमध्ये ३ हजार २७ वडाध्यक्षमा एमाले विजयी भएको थियो। 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यो संख्या अझै बढाउनेगरी पार्टी खटिएको बताउँछन्, स्थायी कमिटी सदस्य तथा बागमती इन्चार्ज काशीनाथ अधिकारी।

‘२०७४ भन्दा थप हुनेगरी हाम्रो पार्टीले गतिविधि गरिरहेको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘अध्यक्षको निर्देशन पनि त्यही छ, अब हामी बृहत् छलफल गरेर बढी स्थान जित्ने रणनीति तय गर्दैछौंँ।’

बुधबार स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठसँग काठमाडौँ जिल्लाको चुनावी रणनीतिबारे उनले छलफल गरिसकेका छन्। ०७४ मा एमालेले काठमाडौँका ११ मध्ये महानगरसहित ७ स्थानीय तह जितेको थियो।

यस्तै सिन्धुलीमा ३, रामेछापमा ५, दोलखामा ७, सिन्धुपाल्चोकमा ७, काभ्रेमा ७, रसुवामा २, नुवाकोटमा ३, धादिङमा ८ र मकवानपुरमा एक उपमहानगरसहित ६ स्थानीय तह जितेको थियो।

भक्तपुरमा चारमध्ये ३ नगरपालिका जितेको एमालेले ललितपुरमा महांकाल गाउँपालिका र महालक्ष्मी नगरपालिका जितेको थियो।

बागमतीमा रहेका १३ मध्ये १० जिल्लामा बहुमत तह जितेको एमाले अहिले पुरै आफ्नो शक्ति लगाएर पुरानै बर्चस्व जोगाउने दाउमा छ।

‘२०७४ को अवस्था कायम मात्र राखेर हामीलाई पुग्दैन, अब बढाउनुपर्छ,’ पोलिटब्युरो सदस्य आनन्द पोखरेलले भने, ‘१३ वटा जिल्लामा पहिलो पार्टी बनाउनुपर्छ।’

चुनाव जित्न एमालेले अन्य पार्टीका कार्यकर्ता आफ्नोमा तान्ने प्रयास गरिरहेको छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेता र कार्यकर्ता एमालेमा प्रवेश गराउने योजना सो पार्टीको छ।

‘एमालेमा नयाँ आशा जगाउने काम थालेका छौँ। आफ्नै नेतृत्वको सरकार हुँदा गरेका काम प्रचारमा लागेका छौँ,’ पोखरेलले भने, ‘मनोवैज्ञानिक दृष्टिकोणले जनउभार बढ्न थालेको छ।’

एमालेको सहरी इलाका र केही सदरमुकामबाहेक गाउँतिर प्रभाव राम्रो भएको रिपोर्ट अध्यक्ष केपी ओलीलाई दिइएको छ। 

त्यही भएर ओलीले नेताहरुलाई सहरमा नरमाउन र गाउँ पसेर घरघरमा पुग्न निर्देशन दिएका छन्।

‘अहिलेसम्मको अवस्था हेर्दा बागमतीमा हामी रसुवामा सबैभन्दा कमजोर छौँ। सबैभन्दा बलियो दोलखा, दोस्रोमा रामेछापमा छौँ,’ पोलिटब्युरो सदस्य पोखरेलले थपे। 

चितवनमा २०७४ मा गुमाएका महानगरसहितको नगरपालिका समेत फिर्ता ल्याउने एमालेको दाबी छ। 

‘चितवनमा भरतपुर महानगर यसपटक फिर्ता ल्याउँछौँ, काठमाडौंमा पनि सबै स्थानीय तह जित्नेगरी खटिने छौँ।’

ललितपुरमा महानगर र बागमती गाउँपालिका जित्न कठिन हुने रिपोर्ट छ।

कोन्ज्योसोम, महांकाल गाउँपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका जित्ने एमालेको दाबी छ। २०७४ मा कोन्ज्योसोम माओवादीले जितेको थियो भने, गोदावरी नगरपालिका कांग्रेसले जितेको थियो। 

सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, भक्तपुर लगायतका जिल्लामा बलियो पकड कायम रहेकोले अहिले भएकै अवस्थालाई कायम राख्दै मतदातालाई अन्य पार्टीमा जानबाट रोक्ने एमालेले रणनीति बनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad