राजनीति


एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

सुदीप भण्डारी
चैत १६, २०७८ बुधबार १६:१९, बुटवल

लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतो भएको भन्दै मुख्यमन्त्री कुल प्रसाद केसीको राजीनामा मागेको छ। 

प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री नै सेटिङमा सहभागी भएको एमालेको आरोप छ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारलाई डेढ अर्ब नोक्सान पुर्याउन संलग्न भएकाले तत्काल मुख्यमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएको छ। 

संसदीय दलका उपनेता बैजनाथ चौधरीले मुख्यमन्त्री केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने बताए।

अस्पतालको १० तले भवन निर्माणको लागि टेण्डर खोल्दा सेटिङ भएको भन्दै त्रुटि भेटिएपछि प्रदेश पूर्वाधार प्राधिकरणका सीईओ अनन्तराम घिमिरेले राजीनामा दिएका थिए।

‘यसमा सेटिङ गरेर ठूलो नोक्सानी पुर्याउने दुनियत प्रदेश सरकारको देखिन्छ। प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले  यस सेटिङका मुख्य जिम्मेवार मुख्यमन्त्री कुल प्रसाद केसी हुनुहुन्छ’ चौधरीले भने ‘स्वयं मुख्यमन्त्री नै सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुर्याउन संलग्न भएकाले तत्काल पदबाट राजीनामा दिनु अनिवार्य छ।’

सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि विवादास्पद क्रियाकलापको शृङ्खला शुरु भएको एमालेको आरोप छ। 

‘पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले सार्वजनिक गरे अनुसार, बोलपत्र दर्ता गर्ने कम्पनीलाई हार्ड कपी दर्ता गर्न तीन दिनको समय दिइएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएकोले सेटिङ भएको पुष्टि हुन्छ। सात अर्बको ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउने काम प्रदेश सरकार र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी हो’  पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .