राजनीति


धनुषामा जनयुद्धका १०५ सहिदका परिवारलाई १-१ लाख आर्थिक सहयोग

धनुषामा जनयुद्धका १०५ सहिदका परिवारलाई १-१ लाख आर्थिक सहयोग

शैलेन्द्र महतो
चैत १३, २०७८ आइतबार २०:४१, जनकपुरधाम

मधेश सरकारले तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धका १०५ सहिदका परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ। 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठान मार्फत धनुषाका १०५ सहिद परिवारलाई नगद १–१ लाखको चेक प्रदान गरिएको हो। 

आइतबार मधेश भवनमा आयोजित सो कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले सहिद परिवारहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरेका छन्। 

धनुषामा मात्र माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट १ सय १८ जना मारिएका थिए। करिब सबै सहिद परिवारलाई मधेश प्रदेश सरकारले पहिलो चरणमा १ लाखको दरले रकम प्रदान गरेको मन्त्रालयले जनाएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि मातृका प्रसाद यादवले सहिदहरूका कारण  मुलुकमा आएको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता उपलब्धि मास्ने षड्यन्त्र भइरहेको बताए। 

कार्यक्रमका सभापति मन्त्री साहले पहिलो चरणमा ८ वटै जिल्लामा जनयुद्ध सहिदका परिवारलाई १ लाखका दरले राहत प्रदान गरेको बताए। उनले प्रदेश सरकारले सहिद परिवारलाई न्यून शुल्कमा उपचार, आश्रित परिवारका सन्तानलाई छात्रवृत्ति तथा अन्य सहयोगको कार्यक्रमहरू सञ्चालन गर्ने पक्षमा सरकार रहेको बताए। 

पहिलो चरणमा मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेहरुलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म मधेश सरकारले बाँडेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .