राजनीति


धवलशमशेर नउठ्ने भएपछि नेपालगन्जमा को होला मेयर?

यी हुन् दाबेदार
धवलशमशेर नउठ्ने भएपछि नेपालगन्जमा को होला मेयर?

सुदीप भण्डारी
चैत १३, २०७८ आइतबार १९:४३, बुटवल

हालसम्म भएका तीनवटा स्थानीय चुनावमा नेपालगन्जमा फरक–फरक दलले जितेका छन्। २०४९ सालमा नेपाली कांग्रेसका विजयकुमार गुप्ता मेयर बने भने २०५४ सालमा एमालेबाट धवलशमशेर राणा। 

उनै राणा २० वर्षपछि भएको अर्को स्थानीय तहको निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेर नेपालगन्ज उपमहानगरपालिकाको मेयर बने। २०६२–६३ को जनआन्दोलनपछि गणतन्त्र नस्वीकार्ने भन्दै राणा एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन्। 

हाल राप्रपाका महामन्त्रीसमेत रहेका राणाले अब संसदीय चुनाव लड्ने भन्दै तेस्रोपटक मेयरमा नउठ्ने बताइसकेका छन्। योसँगै अब नेपालगन्जमा धवल शमशेरको उत्तराधिकारी को हुने भन्ने चर्चा तीव्र बनेको छ। 

राणा उम्मेदवार नबन्ने भएपछि राप्रपा नेपालगन्ज उपमहानगरको नेतृत्वमा पुग्ने सम्भावना कमजोर भएको विश्लेषण गरिएको छ।

२०७४ सालको संसदीय चुनावमा बाँके जिल्लामा राप्रपाको समानुपातिक मत प्रतिनिधि सभातर्फ ८ हजार १०४ र प्रदेश सभातर्फ ९ हजार ९५७ हुन्।

तर मेयर पदमा विजयी हुँदा राणाले जिल्लामा राप्रपाले पाएको कूल भोटभन्दा निकै बढी अर्थात् १२ हजार ५१५ मत ल्याएका थिए। यसरी हेर्दा नेपालगन्जवासीले दललाई भन्दा धवलशमशेरको व्यक्तित्वलाई भोट दिएका हुन् भन्न सकिन्छ। 

तर यसपटक उनी मेयरका लागि उम्मेदवार नबन्ने भएपछि नेपालगन्जमा प्रमुख प्रतिस्पर्धी कांग्रेस र एमालेलाई ठानिएको छ। त्यसो त यी दुई दललाई माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि पच्छ्याएका छन्। 

गत स्थानीय चुनावमा नेपालगन्जमा कांग्रेसबाट मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडिया ८ हजार ७३० मतका साथ दोस्रो स्थानमा देखिएका थिए। नेकपा माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १९८ मत ल्याएर तेस्रो भएका थिए। एमालेका उम्मेदवार चौथो स्थानमा थिए। एमालेका समसुद्दिन सिद्दिकीले ६ हजार ९६५ ल्याएका थिए। चौथो स्थानमा आएको भए पनि एमालेले ७ वटा वडाध्यक्ष पद जितेको थियो। 

गत चुनावमा नेपालगन्जको उपमेयर पद भने नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसकी उमा थापामगर १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन्। उपमेयर पदको प्रतिस्पर्धामा राप्रपा दोस्रो, एमाले तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा देखिएका थिए। 

आगामी मेयरका दाबेदार
हाल नेपालगन्जको उपमहानगरपालिकामा उपमेयर रहेकी उमा थापामगरले मेयरमा दाबी गरेकी छन्। उपमेयर चलाएकाले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको बताउने गरेकी छन्। गत चुनावमा मेयरका प्रतिस्पर्धी सुरेशकुमार कनोडियाले पनि पुनः उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। 

कांग्रेसका नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट पनि मेयरका दाबेदार हुन्। हालै भएको पार्टीको नगर अधिवेशनमा उमा थापामगरलाई फराकिलो मतान्तरले हराउँदै उनी नगर सभापति पदमा विजयी भएका हुन्। आफू तीन कार्यकाल नगर सभापति भएकाले मेयरमा पनि दाबी स्वाभाविक भएको उनले बताउने गरेका छन्। 

गत स्थानीय चुनावमा एमालेबाट मेयरको उम्मेदवार समसुद्दिन सिद्दिकी बनेका थिए। पार्टी विभाजनका कारण अहिले भने उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन्। त्यसैले एमालेबाट नयाँ प्रतिस्पर्धी मैदानमा आउने छन्। 

गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहमा रहेर बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पशुपति दयाल मिश्र मंसिरमा एमाले पार्टीमा प्रवेश गरेका छन्। कांग्रेस, तमलोपा, त्रिपाठीको समूह हुँदै अहिले एमाले बनेका उनी पार्टीको केन्द्रीय सदस्य हुन्। नेपालगन्जको मेयर पदमा एमालेबाट मिश्र नै उम्मेदवार बन्ने निश्चितजस्तै रहेको चर्चा छ। पार्टी प्रवेश गर्नुअघि नै आफ्नो आकांक्षा एमालेलाई बताएको उनले बताउने गरेका छन्।  

मिश्रका साथै एमालेबाट जिल्ला कमिटी सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व नगर कमिटी अध्यक्ष दत्तप्रसाद आचार्यलगायत पनि मेयर पदका आकांक्षी छन्।  

नेकपा माओवादी केन्द्रबाट भने नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, प्रदेश सदस्य नविन शर्मा, जिल्ला सदस्य आदेश अग्रवालले मेयर पदको उम्मेदवार बन्ने दाबी गरेका छन्। 

नेपालगन्ज र आसपासका क्षेत्र पर्ने बाँके क्षेत्र नम्बर २ बाट मोहम्मद इस्तियाक राई प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी फोरम अर्थात् अहिलेको जनता समाजवादी पार्टीबाट उनी विजयी भएका हुन्। संसदीय चुनाव जितेको क्षेत्र भएकाले नेपालगन्जलाई जनता समाजवादीले आफ्नो प्रभाव पनि राम्रै भएको ठानेको छ। तर यो क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो। जसपाका तर्फबाट कमरुद्धिन राई मेयरको उम्मेदवार बन्ने निश्चित छ। उनी अघिल्लो चुनावका पनि प्रतिस्पर्धी थिए। 

एमाले, कांग्रेस र जसपाले नेपालगन्जमा आफू बलियो भएको दाबी गरिरहेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले प्रभाव बढाउन खोजिरहेका छन्।

कांग्रेसका बाँके जिल्ला सभापति नारायण गौडेल नेपालगन्जमा आफ्नो पार्टीले सहजै जित्ने दाबी गर्छन्। ‘विगतमा उपमेयर पनि हामीले जितेको हो। यसपटक हामीलाई मेयर र उपमेयर दुवै जित्न सहज छ’, उनले नेपालखबरसँग भने, ‘कांग्रेसका पक्षमा जनलहर बढेको छ। पहिलेभन्दा धेरै वडा जित्छौं।’ 

एमालेका बाँके जिल्ला अध्यक्ष किस्मत कक्षपतिले पनि नेपालगन्ज जित्ने लक्ष्यका साथ अघि बढेको संगठन पनि मजबुत बन्दै गएको दाबी गरे। ‘०७४ मा ७ वटा वडा हामीले जितेका थियौं। अहिले संगठन चुस्त दुरुस्त ढंगले अघि बढिरहेको छ। ठूलो संख्यामा पार्टी प्रवेश पनि भएको छ’, उनले भने, ‘एमालेको बढ्दो लोकप्रियताले नेपालगन्जमा हामीले जित्ने लक्षका साथ अघि बढेका छौं।’ 

संसदीय चुनावमा बाजी मारेको जनता समाजवादी पार्टीले बाँकेमा गठबन्धनको औचित्य नरहेको बताएका छ। अघिल्लोपटक मेयरका प्रतिस्पर्धी र यसपटकका पनि दाबेदार जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राईले नेपालगन्जमा जसपाको प्रभाव बलियो भएकाले गठबन्धन आवश्यक नभएको बताएका छन्। 

‘हामीले तालमेल गर्नुपर्ने आवश्यकता छैन। हाम्रो संगठन मजबुत छ। त्यसको बलमा चुनाव जित्छौं’, उनले भने, ‘चुनाव हारेपछि हामी संगठन बनाउनै खटेका छौं। प्रतिनिधि सभा चुनावमा हामी जित्यौं। अहिले पनि बलियो छौं।’ 

अघिल्लो चुनावमा ४ वटा वडा जितेको माओवादी केन्द्र पनि नेपालगन्जमा आफ्नो प्रभाव बढाउन सकिन्छ कि भनेर लागेको छ।माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष आईपी खरेलले अघिल्लो चुनावबाट पाठ सिकेर अहिले धेरै ठाउँ जित्नेगरी अघि बढेको बताए।

‘अहिले ७ देखि ८ वटा वडा हामी जित्छौं। गठबन्धन भए ठीकै छ, एकल लड्न परे पनि तयारी अवस्थामै छौं’, नेपालखबरसँग उनले भने, ‘गत वर्ष हाम्रा लागि स्थानीय चुनाव नयाँ अनुभव थियो। वडाको सेट मिलाउन सकेका थिएनौं। अहिले त्यसबाट पाठ सिकेका छौं।’ 

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको  छ। अघिल्लो चुनावमा कोहलपुरको मेयरमा एमालेका लुटबहादुर रावतले कांग्रेसका भानुभक्त भटराईलाई जम्मा ८३ मतान्तरले हराएका थिए। उममेयरमा कांग्रेसकी सञ्जुकुमारी थारु विजयी भएकी थिइन्।

यहाँ पनि कांग्रेस र एमालेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ। जिल्लाका अन्य ६ वटा गाउँपालिका मध्ये ३ वटामा एमाले, दुईवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम विजयी भएका थिए। यी गाउँपालिकामा पनि अहिले चुनावी रौनक छाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .