ad ad

समाज


विधि भत्काएर प्रहरी संगठन गिजोल्दै गृहमन्त्री लामिछाने

विधि भत्काएर प्रहरी संगठन गिजोल्दै गृहमन्त्री लामिछाने

फाइल तस्बिर


उजिर कार्की
बैशाख ३०, २०८१ आइतबार २२:३६, काठमाडौँ

नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) ले आइतबार दज्र्यानी चिन्ह लगाएसँगै तीन डीआईजीको पद रिक्त भएको छ। तर ती रिक्त पदमा बढुवा गर्न गृहमन्त्री रवि लामिछानेको स्वार्थका कारण ढिलाइ भइरहेको छ। 

लामिछानेले तीन ब्याच जुनियर एसएसपीहरुलाई डीआईजीमा बढुवा गर्न खोजिरहेका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नै ब्याचका एसएसपीहरु हुँदाहुँदै जुनियरलाई बढुवा गर्दा प्रहरी संगठनमा चेनअफ कमान्ड कमजोर हुने भन्दै रोक्न प्रयास गरिरहेका छन्। 

गृहमन्त्री भएदेखि नै प्रहरीमा विधि भत्काउन थालेका रविको पछिल्लो मिसन डीआईजी बढुवामा देखिएको छ। उनी अहिले भइरहेका एसएसपीमा २०५४ सालमा भर्ना भएको टोलीबाट डीआईजी बनाउन खोजिरहेका छन्। 

हाल कार्यरत एसएसपीहरुमध्ये प्रहरी महानिरीक्षक कुँवरकै ब्याच २०५१ चैत ५ गते भर्ना भएका तीन जना एसएसपी छन्। ध्रुुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द त्यतिबेला प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

यस्तै हाल पहिलो नम्बरमा रहेका एसएसपी कृष्णहरि शर्मा पाखरेल पनि एआईजी दीपक थापाकै ब्याची हुन्। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

यस्तै २०५३ पुस ५ को अर्को टोली पनि रविले डीआईजी बनाउन चाहेको टोलीभन्दा अगाडि छ। उनीहरु प्रहरी निरीक्षकमा भर्ना भएदेखि एसएसपीसम्मै अगाडि छन्। तर रवि उनीहरुलाई पनि पछि पारेर २०५४ सालमा भर्ना भएको टोलीबाट एसएसपीहरु दानबहादुर कार्की र मनोजकुमार केसीलाई डीआईजी बनाउन लागिपरेका छन्। 

यसअघि नै उनले यो प्रयास गरेको भए पनि प्रधानमन्त्रीले तत्कालका लागि रोकिदिएका थिए। तर प्रधानमन्त्री र प्रहरी महानिरीक्षकले त्यतिबेला बढुवा नगरे पनि रवि उनीहरुलाई नै डीआईजी बनाउनुपर्ने जिद्दीबाट पछि नहटेको प्रहरी उच्च स्रोतले बताएको छ।

लामिछाने गृहमन्त्री भएदेखि नै प्रहरीमा विधि भत्काउन थालेका हुन्। उनले पहिलोपटक एसपी सरुवा गर्दा तराईका जिल्लाबाट डेढ महिनामै एसपीहरुलाई सरुवा गरे। नेपाल प्रहरीमा इन्चार्ज पठाएको सामान्यतः एक वर्षमा मात्रै सरुवा गरिन्छ। 

तर, लामिछानेले तराईका जिल्लाबाट डेढ महिनामै तानेका थिए। इन्चार्ज भएको डेढ माहिनामै तराईका जिल्लाहरु सर्लाही र महोत्तरीका एसपी तानिएका थिए। यस्तै सिरहा, बारा र बाँकेका एसपीले पनि एक वर्ष बस्न पाएनन्। रविले त्यसअघि नै तानेर नयाँलाई पठाइदिए।

सरुवामा जस्तै प्रहरी बढुवामा पनि उनले मनोमानी गर्न थालेका छन्। एसपी बढुवामा पहिलो नम्बरका डीएसपी प्रदीप क्षत्रीलाई नै छुटाइदिए। नेताका पीएसओलाई भने वरीयतामा पछाडि भए पनि रविले बढुवा गरे। 

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि रविको मनोमानी चल्यो। त्यहाँ कार्यरत एसएसपीहरु भूपेन्द्र खत्री र सोमेन्द्रसिंह राठौरलाई एक वर्ष बस्न दिएनन्। रविले काठमाडौंमा वसन्त रजौरेलाई पठाउन भूपेन्द्रलाई सरुवा गरे भने अनुसन्धान कार्याललयमा सानुराम भट्टराईलाई पठाउन सोमेन्द्रलाई पनि सरुवा गरे। 

सार्वजनिक भाषणमा विधि र प्रक्रियाको कुरा गरे पनि संगठनभित्र भने रविको मनोमानी हाबी भइरहेको छ। लामिछानेले आफूनिकट रहेकै कारण भीम ढकाललाई एआईजीमा बढुवा हुनासाथ मानव स्रोत विकास विभागको जिम्मा दिएका छन्। 

एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले भने लामो समयसम्म महत्त्वपूर्ण जिम्मेवारी पाएनन्। गिरीलाई राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पठाइएको छ। ढकालसँगै बढुवा भएका उमेशराज जोशीलाई प्रदेश समन्वय विभागको जिम्मा दिइएको छ। 

एआईजीसँगै प्राविधिकतर्फका दुई डीआईजी डग स्कुलमा देउती गुरुङ र साइबर ब्यूरोमा नवीन्द अर्याललाई बढुवा गर्ने निर्णय भइसकेको छ। तर जनपदतर्फ भने रविकै दबाबका कारण रोकिएको छ। दुई डीआईजी एआईजीमा बढुवा र एक डीआईजी अनिवार्य अवकाशमा गएसँगै डीआईजीको दरबन्दी रिक्त भएको हो। 

आइतबारदेखि प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजीको पद रिक्त भएको छ।

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने आफूलाई अनुसन्धानबाट अलग गर्न सफल भए पनि चौतर्फी आलोचना खेपिरहेका छन्। सहकारी ठगीका आरोपी गीतेन्द्रबाबु (जीबी) राईलाई जोगाएको आरोप पनि गृहमन्त्री लामिछानेलाई छ।

उनी गृहमन्त्री हुनुपहिले नै मलेसियाबाट फिर्ता ल्याउन सबै प्रक्रिया गरिसकिएको थियो। तर, उनी गृहमन्त्री भएसँगै जीबी राई पक्राउका लागि कुनै प्रगति भएको छैन। जीबी रविकै व्यावसायिक साझेदार हुन्। 

बुटवलको सुप्रिम सहकारीमा नाम जोडिएर २ करोड लिएको कागजबाटै पुष्टि भए पनि प्रहरीले उनलाई सामान्य सोधपुछसमेत गर्न सकेन। यता पोखराको सूर्यदर्शन सहकारीमा पनि उनले आवेदन नै दिएर ऋण लिएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। 

रवि गृहमन्त्री हुनुअघि नै अनुसन्धान अगाडि बढाएको सीआईबीले पनि अहिले फाइल थन्क्याएको छ। सीआईबी प्रमुखमा श्यामलाल ज्ञवालीलाई रविले नै सरुवा गरेका हुन्।

रवि जोडिएका सहकारी ठगीमा अनुसन्धान गरिरहेको सीआईबीले पनि उनी गृहमन्त्री भएसँगै छाडिदिएको छ। रविको दबाबले प्रहरीमा चेन अफ कमान्ड कमजोर पार्ने र संगठन गिजोल्ने क्रमले निरन्तरता पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .