राजनीति


लुम्बिनीबाट कांग्रेस संसदीय दलले देउवालाई सम्झायो: सरकारको नेतृत्व गर्ने हाम्रो पालो आयो

लुम्बिनीबाट कांग्रेस संसदीय दलले देउवालाई सम्झायो: सरकारको नेतृत्व गर्ने हाम्रो पालो आयो

फाइल तस्बिर : कांग्रेस सभापति शेरबहादुर देउवा र लुम्बिनी कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनोडिया।


सुदीप भण्डारी
चैत १२, २०७८ शनिबार १२:५९, बुटवल

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशमा सरकारको नेतृत्वका लागि पहल गरिदिन केन्द्रमा आग्रह गरेको छ। शुक्रबार प्रदेशको संसदीय दलको बैठक बसी निर्णय गरेर कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिन चाहेको जानकारी प्रधानमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई गराएको हो। 

नेकपा माओवादी केन्द्रसँग भएको भद्र सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व लिने पालो कांग्रेसको आएको भन्दै सभापतिलाई जानकारी गराइएको संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिए।

‘वर्तमान सरकार गठन हुँदा दुई पार्टीबीच भद्र समझदारी भएको थियो। त्यसको कार्यान्वयनका लागि हामीले अनुरोध गरेका हौं’, शनिबार नेपालखबरसँग उनले भने, ‘अब सरकारको नेतृत्व गर्ने पालो हाम्रो हो भनेर सर्वददीय बैठकबाट सर्वसम्मत रूपमा निर्णय गरेर सभापतिज्यूलाई जानकारी गरायौं।’

एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार ढलेपछि लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति गरी नयाँ गठबन्धन सरकार गठन गरिएको थियो। 

हाल गृहमन्त्री रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच फागुन ९ गतेसम्म माओवादीले र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। त्यो समयसीमा कटेर एक महिना गइसकेको छ। यसबीच एमसीसीको विवाद चर्किदाँ सबैको ध्यान त्यता गएको थियो।

गत साउन २८ गते लुम्बिनीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदसहितको संयुक्त सरकार बनेको छ।

सहमतिअनुसार कांग्रेसले प्रदेश सरकारको नेतृत्व पायो भने संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनोडिया मुख्यमन्त्री बन्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .