राजनीति


निर्वाचनमा धाँधली भए प्रतिकार गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

निर्वाचनमा धाँधली भए प्रतिकार गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

शैलेन्द्र महतो
चैत ८, २०७८ मंगलबार १७:२८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रुपमा लिन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। उनले सोही अनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन्। 

जनकपुरधाममा चुनाव लक्षित मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

‘अगामी निर्वाचन अन्य दलको लागि निर्वाचन हो। हामी माओवादी केन्द्रको लागि लडाइँ हो’ उनले भने ‘लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरिदिन्छ र चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस्। पुरै शक्ति लगाएर एक्लै कसरी चुनाव जित्ने तिर लाग्नुस्, होमिनुस्।’

एक्लै चुनाव जित्ने तयारी गर्नलाई उनले गठबन्धन विरोधी हो भनेर नबुझ्न पनि आग्रह गरे।

माओवादी हारे देश हार्ने प्रचण्डले बताए। एमालेप्रति लक्षित गर्दै उनले प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिहरु माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको दावी गरे।

‘माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्न सम्भव भएको हो। समानुपातिक, समावेशीता लागू भएको हो। यस विरुद्ध प्रतिक्रान्तिकारी शक्ति र विदेशी शक्तिहरु एकजुट भएर उल्टाउन खोज्दैछन्। माओवादीलाई जसरी पनि सिध्याउने रणनीति बनाएका छन्’ प्रचण्डले भने,  ‘त्यस कारण प्राप्त उपलब्धिहरूको रक्षा गर्न माओवादी जित्नै पर्छ। माओवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।’

अबको निर्वाचनमा धाँधली गर्नेहरुलाई प्रतिकार गर्न, नंग्याउन र परास्त गर्न समेत प्रचण्डले निर्देशन दिए। 

देशमा माओवादीलाई हराउन ठूलो षड्यन्त्र भइरहेको दावी गर्दै उनले कांग्रेसले आफ्ना नेता कार्यकर्ता एमालेमा पठाउनुको फण्डा के हो भनेर प्रश्न तेर्स्याए। 

संघीयताको जननी र संरक्षक मधेशी जनता नै भएको प्रचण्डको भनाइ थियो। देशमा भएको ठूलठूला परिवर्तनमा मधेशी जनताको महत्वपूर्ण योगदान रहेको उनले बताए। 

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि प्रशिक्षण मन्तव्य राखेका थिए। कार्यक्रममा माओवादीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, मातृका प्रसाद यादव लगायत मधेशका आठवटै जिल्लाबाट अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .