अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन्।
अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो। सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा शुक्रबार उनलाई रक्षामन्त्री नियुक्त गरेका हुन्।
पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ। अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए।
त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उनलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।
गत वर्षको डिसेम्बरदेखि अमेरिकामा रक्षामन्त्री थिएनन्। उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो। गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन्।
गत डिसेम्बर महिनामा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात गरेका थिए।
सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री म्याटिस्ले अकस्मात पदबाट राजिनामा दिएका थिए।
एस्पर गएको छ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति भएका छन्। उनले प्याट्रिक सानहानलाई विस्थापित गरेका हुन्। सानहान कार्यबाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उनका विषयमा पनि विभिन्न प्रश्नहरु आएका थिए। उनीमाथि विशेषगरी घरेलु हिंसामा संलग्न भएकोजस्तो प्रश्न गरिएको थियो।
रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ। एक शक्तिशाली मन्त्रीका रुपमा रहेको सो मन्त्रीको नियुक्ति पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरुभन्दा चर्को रुपमा मध्यपुर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गरेका छन्। उनका अभिव्यक्तिहरु सुन्दा अमेरिका इरानविरुद्ध आक्रमणको अवस्थामा देखिन्छ ।
इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो। त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको छ।
इरानले सो ड्रोन आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर खसालिदिएको बताएको छ।
तर इरानको यो भनाईको अमेरिकाले भने खण्डन गरेको छ। अमेरिकी भनाइअनुसार उसले इरानको सीमाना नाघेको थिएन।
अमेरिकी ट्यांकरहरुमा इरानमा त्यहाँका अज्ञात समूहहरुले हमला गर्ने गरेका छन्। त्यस काममा इरानको हात रही आएको अमेरिकी दाबी छ।
तर त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ। अमेरिकी ट्यांकरहरुमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ।
हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ। ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ।
उनलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गरेका थिए।
Shares

प्रतिक्रिया