राजनीति


बुटवल : गढ जोगाउन एमालेलाई सकस, साख फर्काउने दाउमा कांग्रेस

यी हुन् मेयरको दौडमा रहेका नेता
बुटवल : गढ जोगाउन एमालेलाई सकस, साख फर्काउने दाउमा कांग्रेस

सुदीप भण्डारी
फागुन ३०, २०७८ सोमबार १३:२९, बुटवल

बहुदल आएपछिको एक दशक बुटवलमा कांग्रेस र एमालेको प्रभाव झण्डै बराबर थियो। चुनावमा दुवै दल आलोपालो विजयी हुन्थे। 

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए। 

२०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बने। २०५४ सालमा भएको स्थानीय चुनावमा उनै एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भए। 

मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने। त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए। 

८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलबाटै विजयी भएका थिए। उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो। 

त्यसयताको चुनावमा विष्णु पौडेलले निरन्तर बाजी मारिरहेका छन्। २०७४ को स्थानीय चुनाव समेत जितेको एमालेले बुटवलमा दबदबा कायमै राखेको छ। कांग्रेसले बुटवलमा २ दशकदेखि आफ्नो झण्डा फहराउन पाएको छैन। 

अंकगणित
आगामी वैशाख ३० गते हुने स्थानीय चुनावबाट बुटवलमा एमालेले आफ्नो गढ जोगाउला कि कांग्रेसले २२ वर्षअघिको साख फर्काउला? 

दलका स्थानीय कार्यकर्ताहरूले अघिल्लो चुनावको हिसाबकिताब, पार्टी प्रवेशका गतिविधि, सत्तासीन पार्टीबीच गठबन्धन, एमाले विभाजनलाई आधार बनाएर जित हारको अनुमान गरिरहेका छन्। 

बुटवल उपमहानगरपालिकामा गत चुनावमा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत ल्याएर मेयरमा विजयी भएका थिए। कांग्रेसका खेलराज पाण्डेले २४ सय जति कम अर्थात २० हजार ८५१ मत पाए। 

पाण्डेले पाएको मत सबै कांग्रेसको मात्रै थिएन। बुटवलमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको थियो। गठबन्धनमा माओवादी केन्द्रका जगत पोखरेल उपमेयरका उमेदवार बनेका थिए। 

वडाअध्यक्षहरूको मतलाई आधार मान्दा बुटवलमा त्यसबेला माओवादी केन्द्रको ३५ सयको हाराहारीमा मात्रै मत थियो। 

कांग्रेस उम्मेदवार पाण्डेले पाएको मतमा त्यो संख्या घटाउँदा १७ हजार मात्र हुन आउँछ। यो भनेको एमालेले पाएको भन्दा कांग्रेसको ६ हजार कम हो। यो अन्तरलाई आधार मान्दा बुटवलमा जित्न कांग्रेसलाई बढी मेहनत गर्नुपर्ने देखिन्छ। 

पार्टी विभाजित भएकाले एमालेलाई पनि बुटवलको नेतृत्व हात पार्न ५ वर्षअघि जस्तो सहज छैन। एमालेसँग प्रतिस्पर्धाका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेलको चर्चा छ। त्यसो भएमा चुनावी प्रतिस्पर्धा अझै कडा बन्न सक्छ। 

एजेन्डा
कांग्रेस रुपन्देही ३ का क्षेत्रीय सचिव प्रजापाल गिरिले ५ वर्षको अवधिमा  मुख्य समस्या यथावत रहेको र राष्ट्रिय गतिविधिका कारण बुटवलमा एमालेप्रति आकर्षण घटेको बताए। 

‘बुटवलमा मुख्य त अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या हो। तीनै तहको सरकारमा उनीहरु रहँदा पनि समाधान हुन सकेन। सुख्खा लागेपछि खानेपानी समस्या हुन्छ। त्यसको पनि कुनै हल भएको छैन,’ उनले भने ‘प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक गतिविधिका कारण एमालेप्रति जनता आजित छन्।’ 

घोषणा पत्रमा स्मार्ट सिटी भनिए पनि अहिले बुटवलका सडकहरू धुलाम्मे भएको, नागरिकमाथि कर बढाएको जस्ता कारण मतदाता कांग्रेसप्रति आकर्षित भएको गिरिको दाबी छ। 

एमालेका जिल्ला सदस्य तथा रुपन्देही २ का क्षेत्रीय संयोजक बाबुराम पन्थीले बुटवलमा पार्टी संगठन बलियो भएकाले जित निश्चित रहेको दाबी गरे। 

‘पहिलो त यहाँ हाम्रो संगठनात्मक संरचना बलियो छ। अर्को एमालेको अगुवाइमा बुटवलमा विकासका काम भइरहेको छ,’ उनले भने, ‘खानेपानी र फोहर व्यवस्थापनको काम एक हिसाबले अघि बढिसकेको छ। विकास हेरेर जनताले एमालेलाई नै जिताउँछन्।’ 

सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहँदा सरकार फेरिएर काम गर्न नदिएको र यो जनताले पनि बुझेको पन्थीको भनाइ छ।

एक्ला–एक्लै चुनाव लडे पनि आफूहरुले जित्ने कांग्रेस र एमालेको दाबी छ। कांग्रेस क्षेत्रीय सचिव प्रजापाल गिरिले बुटवलमा एकल रुपमा चुनाव लडे पनि यो पटक आफूहरु बलियो रहेको बताए।

‘गठबन्धन गर्नुपर्दैन कांग्रेस बलियो छ भन्ने आम कार्यकर्ताको धारणा छ। राष्ट्रिय परिस्थिति अनुसार कहिलेकाहीँ गठबन्धन पनि आवश्यक हुन्छ,’ उनले भने, ‘पार्टीको केन्द्रले गठबन्धन कोसँग गर्ने भन्ने निर्णय गर्यो भने आवश्यक परे स्थानीय स्तरबाटै टुंगो लाग्छ। तर, गठबन्धन नगरे पनि हामी चुनाव जित्छौँ।’ 

एमालेका क्षेत्रीय संयोजक बाबुराम पन्थीले पार्टी विभाजनबाट बुटवलमा एमालेलाई कुनै असर नपरेको बताउँदै अन्य दलहरु गठबन्धन गरेर आए पनि जित्ने दाबी गरे।

‘नेकपा एमालेबाट एउटा सानो झुण्ड गएको छ। त्यसले बुटवलमा असर गर्दैन  हिजो माओवादीमा रहेर राम्रो प्रभाव राख्ने नेता अहिले एमालेमा हुनुहुन्छ,’ उनले भने ‘अरु दलबीच गठबन्धन भए पनि हामी सजिलै चुनाव जित्छौँ।’ 

एमालेका दाबेदार 
आगामी वैशाख ३० गते हुने स्थानिय चुनावमा बुटवल उपमहानगरपालिकाको मेयर दुबै दलका १२ जना बढीले आकांक्षा देखाएका छन्। 

अहिले बुटवलको मेयर रहेका शिवराज सुवेदी दोहोरिने सम्भावना छ। हाल एमाले केन्द्रीय सदस्य रहेका सुवेदी यसअघि जिल्ला अध्यक्ष थिए। 

रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला भए पनि सुवेदी महासचिव शंकर पोखरेलनिकट मानिन्छन्। पोखरेलको जोडबलले काम गरेमा उनले मेयरको टिकट पाउन सक्छन्। 

उपमेयर गुमादेवी आचार्यले पनि मेयरमा दाबी गरेकी छन्। उनी पनि एमालेको केन्द्रीय सदस्य हुन्। 

एमाले रुपन्देहीका पूर्व उपसचिव तथा हालका प्रदेश सदस्य गोपाल राना अघिल्लो चुनावमा पनि टिकटको दाबेदार थिए। यस पटक फेरि मेयरमा उनको दाबी छ। राना विष्णु पौडेलको पहिलो रोजाइमा पर्ने चर्चा छ।

अघिल्लो पटक पार्टीको जिल्ला अध्यक्षले मेयरमा टिकट पाएकाले त्यही नजिर बसेमा यो पटक जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पनि टिकट पाउन सक्छन्। 

एमालेका प्रदेश सदस्य बाबुराम भट्टराईलाई पनि आकांक्षी मानिएको छ। नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष भइसकेका भट्टराई एमालेको स्वास्थ्य विभागका पूर्वसदस्य पनि हुन्। 

पार्टीका जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक बाबुराम पन्थीले पनि टिकटको लागि आकांक्षा राखेका छन्। 

कांग्रेसका दाबेदार
कांग्रेसमा राजनीतिकर्मीसँगै उद्योगी व्यवसायीहरुले पनि टिकटको दौडधूप गरेका छन्। अघिल्लो चुनावमा शिवराज सुवेदीसँग पराजित खेलराज पाण्डेको सम्भावना बलियो छ। उनी तेस्रो कार्यकाल कांग्रेसको बुटवल नगर सभापति छन्। 

क्षेत्रीय सभापति हरि लम्साल पनि मेयरका आकांक्षी हुन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका उनी दोस्रो कार्यकालमा कांग्रेस रुपन्देही २ को क्षेत्रीय सभापति छन्। 

त्यस्तै कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, उद्योगी व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले पनि बुटवलमा मेयरको आकांक्षी छन्। 

बुटवलमा हुने चुनावलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र गृहमन्त्री बालकृष्ण खाँणको प्रतिष्ठासँग पनि जोडिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .