ad ad

कारोबार


रहेनन् अर्बपति जिम, जो छोरा निकको सपना पूरा गर्न आइरहन्थे नेपाल

रहेनन् अर्बपति जिम, जो छोरा निकको सपना पूरा गर्न आइरहन्थे नेपाल

जिम र उनका छोरा निक (इन्सेटमा)


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १७:८, काठमाडौँ

अर्बपति समाजसेवी तथा गणितज्ञ जिम साइमन्सको ८६ वर्षको उमेरमा गत शुक्रबार अमेरिकाको न्युयोर्क सहरमा निधन भएको छ। 

एजेन्सीहरूका अनुसार साइमन हेजफन्ड रेनासा टेक्नोलजिजका संस्थापक थिए। उनी परिमाणात्मक लगानी विश्लेषकका रुपमा चिनिन्थे। जसले गणितीय र तथ्यांकीय विश्लेषणबाट बजारमा लगानी गर्ने मोडल बनाएका थिए। 

गणितमा उनको सानैदेखिको विशेष रुचि थियो। सन् १९३८ मा अमेरकाको म्यासाच्युसेट्स, न्युटनमा जन्मिएका उनले म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीबाट स्नातकोत्तर र युनिभर्सिटी अफ क्यालिफोर्निया, बार्कलीबाट विद्यावारिधि प्राप्त गरेका थिए। ७० को दशकमा पढाइको क्षेत्रबाट विदा लिएपछि १९८२ मा उनले रेनासा टेक्नोलजीको स्थापना गरेका थिए। 

पछि उनी परोपकार र समाजसेवाको क्षेत्रमा लागेका थिए। उनको नाम जेम्स साइमन्स भए पनि ‘जिम’का रुपमा चर्चित थिए। 

फोर्ब्सको अर्बपति सूचीअनुसार उनी ३१ अर्बका मालिक थिए। तर उनले अर्बौँ डलर दानमा खर्च गरेका छन्। खासगरी स्वास्थ्य र वैज्ञानिक अनुसन्धान, शिक्षा र प्रजातान्त्रिक अभिवृद्धिका क्षेत्रमा उनले दान र सहयोग गरेको एजेन्सीहरुले जनाएका छन्। 

नेपाललाई माया गर्थे, बेलाबखत आइरहन्थे 
निधन भएका साइमन्स नेपालसँग राम्रै परिचित अर्बपति थिए। उनी नेपाल आइरहन्थे। ०७९ असोज २४ मा पनि उनी निजी विमान लिएर नेपाल आएका थिए। 

खासगरी जिम र श्रीमती मरिलिन हवर्स छोरा निकको सम्झना र सपनाका लागि हरेक वर्ष नेपाल आउने गरेका थिए। पछिल्लोपटक आउँदा उनी गोरखा अस्पताल पुगेका थिए। 

जिम दम्पतीलाई नेपाल आइरहनुपर्ने कारण नै छोरा निक थिए। सन् २००२ मा निक साइमन्स नेपालमा ९ महिना बिताएर फर्केका थिए। आफ्नो घर पुगेपछि उनले आमालाई पूरै जीवन नेपालमै बित्नसक्ने र त्यसो भए आश्चर्य नमान्न भनेका थिए। 

९ महिना नेपाल बसेका निक नेपालमा मेडिकल स्कुल खोल्न चाहन्थे। तर सन् २००३ को समरमा इन्डोनेसियाको बालीमा उनको डुबेर मृत्यु भएको थियो। त्यसको २/३ महिनापछि उनका बुबाआमा (जिम दम्पती) र साथीहरु नेपाल आएका थिए। 

सो क्रममा उनीहरुले पाटन अस्पतालमा एउटा प्रसूति वार्ड स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए। त्यसपछि नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले निक साइमन फाउन्डेसनको स्थापना गरेका थिए। त्यसयता जिम दम्पती नेपाल आउनेजाने क्रमले निरन्तरता पाएको थियो। 

निक साइमन्स फाउन्डेसन सन् २००५ मा स्थापना भएको थियो।  यसले तयार गरेको सन् २०२०–२०२१ को वार्षिक प्रतिवेदनअनुसार यसका सहयोगी अस्पतालको संख्या ४८ छ। ती अस्पतालसँग मिलेर यसले १३ लाख ८९ हजार ७ सय २७ मानिसलाई स्वास्थ्य सेवामा योगदान दिएको छ। यसका २५९ कर्मचारी छन्। 

निक साइम इन्स्टिच्युट (एनएसआई)को अस्पताल सहयोग कार्यक्रम (एचएसपी) सञ्चालनमा छ। यसले सरकारी अस्पतालको मानकअनुसार न्यूनतम रुपमा आकस्मिक र अत्यावश्यक सेवामा सहयोग गर्दै आएको छ। इन्स्टिच्युटले सन् २०२०/२१ मा १० फरक कार्यक्रममा ७ सय ८४ स्वास्थ्य स्वयंसेवकभन्दा बढीलाई तालिम दिन सहयोग गरेको थियो। 

यसले समग्र, सामान्य, ल्याब, अपरेसन कक्ष, एक्सरे जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ। ग्रेडियन हेल्थ सिस्टमअन्तर्गत सन् २०१८ मा यसले आईसीयूमा भेन्टिलेटर, आकस्मिक रुमहरुमा काम गरेको थियो। टीबी रोगका बिरामीको लागि यसले अस्पतालसँग मिलेर परियोजना सञ्चालन गरेको छ। त्यस्तै कोभिड महामारीका बेला पनि यसले देशैभर स्थानीयका लागि परिचालित भएर सहयोग गरेको थियो। 

प्रतिवेदनअनुसार यसका धेरै ग्रान्टी पार्टनरहरु रहेका छन्। फाउन्डेसनले नेपालमा स्वास्थ्य र मेडिकल केयर सुधारका लागि १४ करोड १३ लाख अमेरिकी डलर अनुदान सहयोग गरेको छ। यो सबै जिम र मरिलिनले छोराको नेपालप्रतिको प्रेमका खातिर गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .