ad ad

राजनीति


४ दल मिलेर मधेसमा नयाँ सरकार बनाउने तयारी, मुख्यमन्त्रीमा तीन जनाको दाबी

४ दल मिलेर मधेसमा नयाँ सरकार बनाउने तयारी, मुख्यमन्त्रीमा तीन जनाको दाबी

मुख्यमन्त्रीमा दाबी गरेका एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी दलका नेता भरत प्रसाद साह र जनमत पार्टीका दलका नेता महेश यादव


सागर न्यौपाने
बैशाख ३०, २०८१ आइतबार १७:५२, काठमाडौँ

मधेस प्रदेशमा चार पार्टीले सरकार बनाउने प्रयास थालेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन सरकार बनाउने भएका हुन्। 

सोही अनुसार आइतबार (वैशाख ३०) मा एमाले र माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको छ। 

माओवादीबाट मन्त्री बनेका भरत प्रसाद साह र  युवराज भट्टराईले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

‘हाम्रोबाट भरतप्रसाद साहको मुख्यमन्त्रीमा दाबी रहनेछ,’ भट्टराईले नेपालखबरसँग भने। 

यस्तै, एमालेका मन्त्रीहरुले पनि राजीनामा बुझाएका छन्।

गृह, सञ्चार तथा कानूनमन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनसिंह कोइरी र शिक्षा तथा संस्कृतिमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय चैत १० गते मन्त्रीमा नियुक्त भएका थिए।

स्वतन्त्र सांसद जयसवाल एमालेमा प्रवेश गरेका थिए।

‘हामीले सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ एमाले सांसद राजकुमार लेखीले नेपालखबरसँग भने, ‘अब नयाँ सरकार बन्छ।’

एमाले २५ र माओवादीका ९ गरी ३४ जनाको समर्थन फिर्ता भएसँगै जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव अल्पमतमा परेका हुन्। 

अब उनले संसदमा विश्वासको मत लिनको लागि एक महिनाको समय पाउँछन्। यदी नपाए उनको सरकार ढल्नेछ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएका हुन्। 

यसैबीच चार दलले नयाँ सरकार निर्माण थालेका छन्।

‘एमाले, माओवादी, जनमत र लोसपा गरी चार पार्टी मिलेर सरकार बनाउने सहमति भएको छ,’ माओवादी सांसद युवराज भट्टराईले नेपालखबरसँग भने, ‘नेतृत्व प्रष्ट भइसकेको छैन, अहिलेसम्म माओवादी र जनमतबाट दाबी छ।’

मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो। एकसय ७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन्। 

जनमतको १३ सांसद छन्। यसैगरी माओवादी केन्द्रको ९ सांसद हुँदा लोसपाको ९ सांसद नै छन्। यसैगरी नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्।

जुन सरकार बनाउन पर्याप्त बहुमत हो।

एमालेका सांसद राजकुमार लेखीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी समेत नयाँ गठबन्धनमा सहभागी हुने बताए।

‘पाँच दल मिलेर मधेसमा सरकार बनाउँछौँ, नेतृत्वमा सबैभन्दा ठूलो दल भएकोले एमालेको स्वभाविक दाबी हुने नै भयो,’ लेखीले भने, ‘माओवादी र जनमतको पनि दाबी छ।’

एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका नेता भरतकुमार साह र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्रीमा दाबी गरेका छन्। नेतृत्वमा दाबी भएपनि मिलेर सरकार बनाउने लेखीले बताए। 

जसपाले २०७४ सालमा पूरै कार्यकाल सरकारको नेतृत्व गरेको थियो।

यसपटक पनि केन्द्रीय गठबन्धन भत्किने र नयाँ बन्दा समेत जसपाको सरकार जोगिएको थियो। १९ सदस्यीय जसपामा विभाजन आएपछि पहिलो पटक सरकार ढल्ने भएको हो। 

उता, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले मधेस प्रदेशबाट बढीभन्दा बढी सांसदहरू आफूहरूतिर खुल्ने दाबी गरिन्। 

‘सरकारको नेतृत्व नै हामी गर्न सक्छौँ, छलफल चलिरहेको छ,’ उनले आइतबार अपरान्ह नेपालखबरसँग भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .