२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मधेश प्रदेशमा निकै कमजोर प्रदर्शन गर्यो। ०७२ को संविधान घोषणा र नाकाबन्दीका बेला अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दल र तिनको आन्दोलनविरुद्ध दिएका अभिव्यक्तिका कारण एमाले सो प्रदेशमा निकै अलोकप्रिय बनेको थियो।
फलस्वरुप स्थानीय तहको निर्वाचनमा एमाले पाँचौँ दल बन्न पुग्यो। मधेश प्रदेशमा कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राजपाले २५ र माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमालेले १८ स्थानीय तहमा चित्त बुझाएको थियो।
मधेशमा पार्टीको खराब प्रदर्शनलाई आगामी चुनावमा दोहोरिन नदिने चुनौती यतिबेला एमालेलाई छ। त्यसबेला संविधान निर्माणको किचलो, मधेशमा रहेका जनतालाई हेर्ने दृष्टिकोण र नेताहरुको अभिव्यक्ति तथा अन्तर्घातका कारण चुनाव हारिएको भन्दै अब मधेशमा एमालेले रणनीति बदलेको एक एमाले नेताले बताए।
आगामी वर्ष हुने तीनै चरणको चुनावमा पहिलो पार्टी बन्नेगरी आफूहरु मधेश प्रदेशमा खटिएको उनको भनाइ छ।
अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय दुई पटक मधेश झरिसके। चैत ८ गते फेरि उनी पर्सा पुग्दैछन्।
पछिल्लो एक महिनामा महासचिव शंकर पोखरेल मधेश प्रदेशका ८ मध्ये ५ वटा जिल्लामा पुगेका छन्। उपमहासचिव प्रदीप ज्ञवाली पनि मधेशमै तय गरिएका विभिन्न कार्यक्रममा सहभागी भए।
सोमबार धनुषा जिल्लाको अधिवेशन राखिएको छ। उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जाने तय भएको एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिए। उनले मधेशमा पार्टीको तयारी एकदमै राम्रो रहेको दाबी पनि गरे।
‘गठबन्धनका दलहरु एक्लाएक्लै लडेको अवस्थामा त एमालेलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन,’ यादव भन्छन्।
सबैभन्दा बढी जनघनत्व भएको मधेश प्रदेशमा पहिलो पार्टी बन्नेगरी तयारीमा लाग्न अध्यक्ष ओलीले निर्देशन दिएका छन्।
नेकपा विभाजनपछि माओवादी केन्द्रका प्रभु साहलगायतका नेता एमालेमै बसे। पछिल्लो समय मधेशकेन्द्रित दलका नेताहरुलाई पनि एमालेले पार्टी प्रवेश गराउँदै छ।
वीरगञ्जका मेयर विजय सरावगीलाई टिकट दिने प्रतिबद्धता जनाएर एमाले प्रवेश गराइएको छ। अहिलेसम्म पाँच हजारभन्दा बढी नेताकार्यकर्ता विभिन्न पार्टीबाट एमाले प्रवेश गरिसकेका उनीहरुको दाबी छ।
‘वीरगञ्ज महानगरपालिकाको मेयर प्रवेश गर्नुभयो। अब चैत ८ गते विभिन्न स्थानीय तहका जनप्रतिनिधि र दोस्रो स्थान हासिल गरेका नेताहरु एमाले प्रवेश गर्ने निधो भएको छ,’ अध्यक्ष यादवले भने, ‘हाम्रो पहिलो जोड जसपा, कांग्रेस र माओवादीका नेताहरु तान्ने हो।’
एमालेका एक पदाधिकारीका अनुसार अन्य पार्टीका नेतालाई भित्र्याउने र टिकटको प्रतिबद्धता जनाउने अधिकार प्रदेशलाई दिइएको छ। त्यस्तै, एमालेले पार्टी प्रवेशलाई लिएर मधेशमा आक्रामक प्रचार पनि गरिरहेको छ।
प्रदेश अध्यक्ष यादवले ओलीप्रति मधेशको जनधारणा बदलिएको दाबी पनि गरे।
‘हाम्रो अध्यक्ष प्रधानमन्त्री बनेपछि हुलाकी राजमार्ग, प्रदेशमा सिँचाइ विस्तार, सडक विस्तारदेखि कांग्रेसले गर्न नसकेका कामहरु भए,’ यादवले नेपालखबरसँग भने, ‘त्यसले मधेश प्रदेशमा हाम्रो अध्यक्षप्रतिको धारणा बदल्यो।’
अहिले टिकट खरिदबिक्री पनि पुरै रोकिएकाले पार्टी बलियो बनेको उनको भनाइ छ।
‘विगतमा मधेशमा टिकट बेचिने, अन्तर्घात हुने समस्या थियो,’ यादवले थपे, ‘अहिले त्यो समस्या दोहिरिने सम्भावना कम छ। अनावश्यक हस्तक्षेप पनि पार्टीबाट हुँदैन।’
एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले ०७४ को चुनावदेखि नै मधेशमा पार्टीको स्थिति सुधार्न आफूहरु लागेको र त्यसमा सफल पनि भएको बताए।
‘मधेशविरोधी पार्टी भनेर हामीलाई कमजोर बनाइएको थियो,’ मण्डलले भने, ‘त्यसलाई सुधार गरेर ८ वटै जिल्लामा बलियो अवस्थामा पुगेका छौँ।’
माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन्। सो पार्टीले एमालेलाई धक्का पुर्याउने विश्लेषण भइरहेका बेला मण्डल भने त्यसले ठूलो प्रभाव पार्न नसक्ने दाबी गर्छन्।
यद्यपि, कतिपय जिल्लामा पार्टीको आन्तरिक किचलोले समस्या निम्त्याउन सक्ने एक प्रदेश सांसदले बताए।
‘पार्टीभित्र भयंकर द्वन्द्व छ, त्यसले असर गर्न सक्छ,’ ती सांसदले नेपालखबरसँग भने, ‘बाहिर आकर्षण छ तर भित्रै कुरा मिलेन भने जोखिम छ।’
एक नेताका नजरमा मधेशका जिल्लामा एमालेको अवस्थाः
रौतहटः माधव नेपालको कारण कमजोर तर प्रभु साहले गर्दा एउटा क्षेत्र जित्ने निश्चित। केही स्थानीय तह जित्ने।
सर्लाहीः ठिकठिकै, प्रदेश र केही स्थानीय तह जित्न सकिने।
महोत्तरीः भन्न गाह्रो। माओवादी केन्द्र र लोसपाको पकड।
धनुषाः पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण समस्या।
पर्साः प्रदेशमा सबैभन्दा राम्रो बनेको।
सप्तरीः अहिले सुधार भएको, प्रतिस्पर्धामा पुगेको।
बाराः चुनाव जित्न सकिने स्थिति।
सिराहाः पार्टी बलियो भए पनि नेताहरुको भूमिका र व्यवहारले कमजोर बन्ने खतरा।
Shares

प्रतिक्रिया