ad ad

राजनीति


‘कालापानीबाट भारतीय सेना हटाउन युद्ध वा कुशल कूटनीतिबाट मात्रै सम्भव छ’

 ‘कालापानीबाट भारतीय सेना हटाउन युद्ध वा कुशल कूटनीतिबाट मात्रै सम्भव छ’

नेपालखबर
मंसिर २, २०७६ सोमबार ६:४८,

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषका लागि धन्यवाद व्यक्त गरेका छन्।

आइतबार प्रधानमन्त्री ओलीले नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गरेका थिए।

यो उद्घोषका लागि सोमबार पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधामन्त्री ओलीलाई धन्यवाद दिएका हुन्।

उनले कालपानीबाट भारतीय सेना हटाउन युद्ध र कुशल कूटनीतिबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै रणनीतिलाई सम्बोधन नगरेको आरोप समेत लगाएका छन्।

‘कालापानीबाट भारतीय सेना हटाउने भनेर सार्वजनिक रुपमै साहसिक उद्घोष गरेकोमा म प्रधानमन्त्री ज्युलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष भट्टराईले ट्विटरमा भनेका छन्, ‘तर, यो कि युद्ध कि त एक कुशल कूटनीतिबाट मात्र सम्भव छ। सत्तामा रहेका व्यक्तिले यसरी सार्वजनिक रुपमा दिएको मन्तव्यले माथि उल्लेखित कुनै रणनीतिलाई सहयोग गर्दैन।’

उनले प्रधानमन्त्री ओलीलाई कालापानी विवाद कुटनीतिक वा युद्ध कुन रणनीतिबाट हल गर्ने हो भन्ने कुराको निक्र्यौल गर्न समेत सुझाब दिएका छन्।

स्थायी सरकार भएको काठमाडौं र दिल्ली दुवैलाई यो समय समास्या सँधैको लागि समाधान गर्ने सबैभन्दा ठूलो अवसर भएको भन्दै उनले पटकपटकका बैठकहरुमा आफूहरुले राजनीतिक संवादमार्फत समाधान खोज्ने दिएको सुझाबको समेत स्मरण गराएका छन्।

भारतले नेपाली भूमि कालापानी क्षेत्रलाई आफ्नो नयाँ नक्सामा राखेर सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ। सरकारले सो भूमि आफ्नो भएको दावी गर्दै भारतीय नयाँ नक्सा अमान्य रहेको बताएँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .