युद्धकालिन समयका रक्षा प्रमुख गोताबायाले निर्वाचन जित्ने निश्चित भएको श्रीलंकाका अधिकारीहरुले बताएका छन्। यद्यपी आधिकारिक नतिजा भने आउन बाँकी छ।
राजापाक्षले आफूले निर्वाचन जितेको भनेर उद्घोष गरिसकेका छन्। उनका मुख्य प्रतिस्पर्धी सजित प्रेमदसाले आफ्नो हार स्वीकार गरिसकेको बीबीसीले जनाएको छ।
निर्वाचन अधिकारीहरुका अनुसार हालसम्म ८० प्रतिशत मत गणणा सकिएको छ। प्रेमदसाको पक्षमा ४५ प्रतिशत मत खसेको जनाइएको छ। राजापाक्षको पक्षमा ४८.२ प्रतिशत मत खसेको जनाइएको छ।
राजापाक्षले ५३ देखि ५४ प्रतिशत मतले निर्वाचन जित्ने अनुमान गरिएको छ।
प्रेमदसाले हार स्वीकार गर्दै राजापाक्षलाई देशको ७ औं राष्ट्रपति बन्न लागेकोमा शुभकामना व्यक्त गरिसकेका छन्।
आइतबार नै मत परिणाम सार्वजनिक हुनेछ।
यसैवर्षको अप्रिल महिनामा भएको आतंकवादी हमलामा २ सय ५० मानिसको मृत्यु भएपछि श्रीलंकामा राष्ट्रपतिय निर्वाचन सम्पन्न भएको हो।
अहिलेसम्मकै सबैभन्दा धेरै ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।
यस निर्वाचनमा राष्ट्रपति मैत्रीपाल सिरिसेना मैदानमा उत्रिएका थिएनन्। इस्टर सन्डे बम घटनामा चर्को अलोचना व्यहोरेका उनले राष्ट्रपतिका लागि उमेद्वारी दर्ता नगरेका हुन्।

प्रतिक्रिया