ad ad

राजनीति


एमसीसीको विरोधमा बन्दको प्रभाव : कैलालीको राजमार्गमा भेटियो बमजस्तो वस्तु

एमसीसीको विरोधमा बन्दको प्रभाव : कैलालीको राजमार्गमा भेटियो बमजस्तो वस्तु

बुधबार बिहान सुनसान देखिएको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर।


गोकुल जोशी
फागुन ४, २०७८ बुधबार ८:८, महेन्द्रनगर

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा बुधबार आह्वान गरिएको नेपाल बन्दको सुुदूरपश्चिम प्रदेशमा आंशिक प्रभाव परेको छ। 

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दका कारण बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन्।

बुधबार बिहान सुनसान देखिएको महेन्द्रनगर।

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा बन्दको प्रभाव सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले बताए। 

‘जिल्ला भित्रिने रात्रिकालीन बसहरु आइरहेका छन्। जिल्लाबाट बाहिरिने सवारीसाधन भने चल्न सकेका छैनन्’, उनले भने।

उनका अनुसार कैलालीमा मोटरसाइकल र अटो रिक्साबाहेक सवारीसाधन चल्न सकेका छैनन्। बजारक्षेत्रका पसल भने फाटफुट खुलेका छन्। विद्यालय, कलकारखाना, उद्योगधन्दा भने ठप्प भएका छन्।

बन्दका कारण सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए।

‘राजमार्गमा सवारी साधन पुरै ठप्प छन्। फाटफुट मोटरसाइकल चलिरहेका छन्’, उनले भने, ‘बजारमा पसलहरु खुल्ने क्रममा छन्।’

सुरक्षालाई ध्यान दिएर चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यातायातका साधन नचल्दा भारतबाट फर्किरहेका यात्रु अलपत्र परेका छन्।

शंकास्पद वस्तु फेला 
कैलालीमा बुधबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलामा प्रेसर कुकरमा शंकास्पद वस्तु भेटिएकाे हाे। 

‘प्रेसर कुकरमा टेप बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ’, डीएसपी जोशीले भने।

लम्की–चिसापानी सडकखण्डमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली त्यसतर्फ गएकाे छ।  

सरकारले एमसीसी प्रतिनिधि सभामा टेबल गर्ने तयारी गरेपछि विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बुधबारका लागि बन्द घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .