सांसद राजेन्द्र राईले मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरी रोस्टममै उभिएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सोमबार प्रतिनिधि सभामा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ। मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए। उनलाई १० मिनेट समय दिइएको थियो।
रोमस्टमा पुगेर सांसद राईले सभामुखलाई सम्बोधन गर्दै मन्त्री नभएको गुनासो गरे। ‘म के भनौँ? अस्ति पनि अर्थमन्त्री हुदैन्थ्यो। मैले मन्त्री चाहियो भनेको थिए,’ उनले भने।
संसद्मा मन्त्रालयको बजेटमाथि छलफल चलिहरँदा मन्त्रीहरू उपस्थित हुनुपर्ने उनले माग गरे। मन्त्रीहरू उपस्थित नहुँदा बोल्नुको अर्थ नभएको उनको भनाइ थियो।
‘आज पनि नौ मन्त्रालयको बजेटमाथि छलफल छ, तर दुई मन्त्री मात्रै छन्,’ सांसद राईले भने, ‘म के गरौँ? मन्त्री त चाहिन्छ। नौ मन्त्री त अनिवार्य चाहियो नि। खैत मन्त्री?’
उनी रोस्टममा उभिएर चुपचाप लागे। त्यसपछि सभामुख अर्यालले बोल्न आग्रह गरे। सांसद राईले भने मन्त्रीहरू नआउँदासम्म नबोल्ने बताए।
त्यसपछि पनि सभामुख अर्यालले पटकपटक बोल्न भने। तर, सांसद राईले भने बिधिअनुसार, मन्त्री उपस्थित हुनुपर्ने माग गरे।
सभामुख अर्यालले बोल्न आग्रह गरिरहेपछि सांसद राईले नबोल्न र रोस्टम नछाड्ने बताउँदै भने, ‘म यही बसिदिन्छु।’
त्यसपछि भने सभामुख अर्यालले आजै १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए।
Shares

प्रतिक्रिया