प्रमुख प्रतिपक्षी नेकपा एमालेले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उक्त हस्ताक्षर संकलन गरिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनले महाभियोग दर्ता गरेपछि काउन्टर मुभका लागि एमालेले उक्त हस्ताक्षर लिएको हो। तर एमालेले यो बैठकबाट आगामी कदमबारे ठोस निर्णय लिन सकेन।
आइतबार साँझ एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने निर्णय लिएको थियो।
सचिवालयको बैठकको नीतिगत निर्णयका आधारमा संसदीय दलबाट केही निर्णय आउने अपेक्षा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढविरुद्ध प्रतिवादमा उत्रिने मात्रै बताए।
संसदीय दलको बैठकमा सांसदहरू भीम रावल र घनश्याम भुसालसहितले महाअभियोग लागेका जबरालाई अब एमालेले बोकिरहनु जरूरी नरहेको मत राखेका थिए।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चका चार न्यायाधीशमाथि महाअभियोग लगाउनेबारे ठोस निर्णय नभएको जानकारी दिए।
नेताहरुबीच नै मतभेद भएपछि एमाले यसबारे अनिर्णित भएको हो। तर एमालेले उक्त बैठकमै आफ्ना सांसदहरुको हस्ताक्षर भने संकलन गरेको छ।
बैठकले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने रणनीतिको जिम्मा नेतृत्वलाई दिएको छ। अध्यक्ष ओलीले वर्तमान परिस्थितिको विश्लेषण गरेर ‘यथोचित निर्णय’ लिने बताएपछि बैठक सकिएको हो।
एमालेले संसदीय दलको बैठकमै खाली ६ पृष्ठ कागजमा सांसदहरुको हस्ताक्षर संकलन गरेको हो। एमाले स्थायी कमिटी सदस्य एवम् संघीय सांसद शेरबहादुर तामाङले हस्ताक्षर संकलन गरिएको बताएका छन्।
एमालेले संसदीय दलको बैठकमा सोमबार ९७ सांसदमध्ये प्राय सबै उपस्थित थिए। एमालेले ६ वटा खाली कागजमा सांसदबाट लिएको हस्ताक्षरलाई जुनसुकै बेला प्रयोग गर्ने रणनीति बनाएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पछिल्लो राजनीतिक घटनाक्रमको वस्तुस्थिति विश्लेषण गरेर कदम चालिने जानकारी दिएका छन्।
‘वस्तुस्थितिको ठोस विश्लेषण र कानुनको अध्ययन गरेर हिजोका घटनाक्रम र सत्तारूढ गठबन्धनका सम्पूर्ण व्यवहारको प्रतिवादका लागि नेतृत्व बसेर ठोस निर्णय लिनेछ', उनले भने, 'नेतृत्वले यथाशीघ्र बैठक बसेर विश्लेषणसहित यथोचित र समयमै निर्णय गर्ने वचनबद्धता जनाएको छ।
एमालेका सांसदहरूको हस्ताक्षर ‘आवश्यक परेको ठाउँ’ मा प्रयोग गर्ने जिम्मा नेतृत्वलाई दिइएको भट्टराईले बताएका छन्।
‘आवश्यक परेको ठाउँमा आवश्यक मुद्दाका साथ एमाले सडक, सदन र अदालतबाट पनि यी सबै बेथिति र सत्ता गठबन्धनले अघि सारेका विसंगतिका विरुद्ध अघि बढ्छ’, भट्टराईले भने।
Shares

प्रतिक्रिया