कारोबार


भासिएको पुल पुनःनिर्माण गरिएन

भासिएको पुल पुनःनिर्माण गरिएन

नेपालखबर
फागुन २, २०७८ सोमबार १७:३८, काठमाडौँ

निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण नहुँदा सर्वसाधारण सास्ती बेहोर्न बाध्य भएका छन्।

तराई–मधेशको लाइफलाइनकै रुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको थियो।
भासिएको पुल पुनःनिर्माण नहुँदा निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन्। 

‘ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुनसकेको छैन्’, धनुषाको कमला नगरपालिका–५ का सत्रुधन साहले भने, ‘पुलको पुनः निर्माणको काम हुन नसक्दा चारपाङग्रे गाडी सो मार्गमा चल्नै सकेका छैनन्, दुईपाङ्ग्रे सवारी पनि जोखिमपूर्ण रुपमा चलिरहेका छन्।’

सुख्खायाममा जेनतेन दुईपाङ्ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको उनको भनाइ छ। बाढीका कारण पहिला पूर्वतर्फको स्पर भासिएको थियो। त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो। 

‘भासिएकामध्ये पूर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ’, सिरहा नगरपालिका– ११ का कमलेश यादवले भने, ‘जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठूलै समस्या भइरहेको छ।’

सर्वसाधारणले ठूलै सास्ती भोग्दै आए पनि भासिएको पुल पुनःनिर्माणमा ठेकेदार कम्पनीले ध्यान नदिएको उनको गुनासो छ।

कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो। सुरूमा पप्पुले मात्र काम गरेको थियो। करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो। पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो। हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन्। 

केही दिनअघि कमला जलाधार संरक्षण अभियानले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र बुझाउँदै उच्चस्तरीय छानबिन गर्न मागसमेत गरेको थियो। गलत डिजाइनकै कारण पुल भासिएको पूर्वमन्त्री रामचन्द्र झाले बताए। 

हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टीदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दासमेत १० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीको गुनासो छ। 

सम्झौताअनुसार नै काम अघि बढाइएको निर्माण कम्पनी रोशन कन्ट्रक्सनका साईड इञ्चार्ज दानालाल यादवले बताए। 

‘सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौं’, साइड इञ्चार्ज यादवले भने, ‘वर्षात् सुरु भएपछि काम रोकिएको हो, बर्षा रोकिएपछि कात्तिकपछि काम पुनः सुरु गर्ने छौं।’ 

खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad