रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट 'राहुल' नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका-३ स्थित धकधईमा गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई स्वागत गरिएको हो।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट विजयी भएका थिए। त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए।
एमाले प्रवेश गर्नेमा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमणि हरिजन पनि छन्। माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन्।
ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनीहरुलाई एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य लीला गिरी र दधिराम न्यौपानेसहितले स्वागत गरेका छन्।
Shares
प्रतिक्रिया