राजनीति


अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश (आदेशसहित)

अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश (आदेशसहित)

दीपक खरेल
कात्तिक २९, २०७६ शुक्रबार ९:५५,

बम विस्फोटमा घाईते भएकाहरुलाई घटना लुकाउन इँट्टा भट्टामा जिँउदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद आलमले आफ्ना सहयोगीमार्फत् मुख्य जाहेरीकर्ता र साक्षी धम्काएको पुष्टि भएपछि अदालतले त्यसलाई गम्भीर रुपमा लिएको थियो। अदालतले साक्षीकाे संरक्षण गर्न पनि प्रहरीलाई संरक्षणात्मक आदेश दिएकाे छ।

प्रहरीले आलम बिरुध्दको मुद्दामा जिउँदै मान्छेलाई इट्टा भट्टीमा पोलेर प्रमाण नष्ट गर्न सघाउने राज इट्टा भट्टाका मुख्य संचालक बद्री सहनी समेत ११ जना प्रतिवादी कायम गर्दै गत सोमबार मुद्दा बुझाएको थियो ।

प्रहरीले घटनालगत्तै किटानी जाहेरी परेपनि कानूनी सजायका भागिदार नभएका मुख्य पाँच सहित ११ जनालाई प्रतिवादी बनाएको छ। यस्तै  मालिकसहित ५ जनालाई मुख्य अभियुक्त बनाएर मुद्दा पेश गरेको हो।

प्रहरीले घटनाका मुख्य अभियुक्त मोहम्मद अफताव आलम सहित मोहम्मद महताब आलम (फरार), मोहम्मद मोविन आलम (फरार), शेख भदई (फरार), शेख सेराज भन्ने शेष सर (फरार),  शेख फजलेह (फरार) र सगिर आलम (फरार) लाई घटनालगत्तै परेको किटानी जाहेरीका आधारमा प्रतिवादी कायम गरेको छ। यसबाहेक घटना अनुसन्धानमा प्रत्यक्ष संलग्न देखिएका नयाँ अभियुक्तहरु शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ती साह कायम गरेको हो।

यस्तो थियो आलम प्रकरणको घटना

२०६४ चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको राजपुरफरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरि भारतीय कारिगर सहितले बम बनाँउदा अचानक बिस्फोट भएको थियो।

सो बिस्फोटमा जाहेरीवाला नारायणसिंह राजपुतका छोरा वर्ष २२ को पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनका छोरा वर्ष २२ का ओसी अख्तर र अन्य व्यक्तिहरूको समेत उक्त घटनामा मृत्यु भएको थियो ।

संविधान सभा निर्वाचनमा उम्मेदवार रहेका आलमले आफू विजय हुन र अन्य पार्टीका कार्यकर्तालाई तर्साउन बम बनाउँदा विष्फोटन भएको, बम विष्फोटन हुँदा मोहम्मद आफताब आलमको काका शेख इद्रिसको घर र घरको छाना नष्ट भएको थियो।

सो बिस्फोटमा घाईते भएकाहरुलाई आलम समुहले उपचारको साटो आफ्नो लगानी र बद्री सहनीले संचालन गर्ने राज इट्टा भट्टाको आगो भट्टीमा हालेर जलाएका थिए। घटनामा कति जनाको हत्या भएको एकिन हुन सकेको छैन। प्रत्यक्षदर्शी स्थानीयहरुका अनुसार कम्तीमा २० भन्दा बढि ब्यक्तिलाई यसरी निर्ममतापूर्वक हत्या गरिएको आरोपमा पुलिसले मुद्दा दायर गरेको हो।

यो पनि: ५ लाख नगद, ५ कठ्ठा जमिनः बयान फेर्न पीडितलाई आलमको प्रलोभन (अडियो)

1_19.jpg२_2.jpg

 

३_2.jpg

४.jpg५.jpg

६.jpg

७.jpg

८_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .