नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताएका छन्।
चितवनको शारदानगर जेसिजको २२औं पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महतले एमसिसीबारे प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेकोमा जोड दिए।
एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने प्रष्टीकरण दिए। एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले बताए।
प्रवक्ता महतले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको आरोप लगाए। नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने उनले बताए।
फरक प्रसंगमा प्रवक्ता महतले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको बताउँदै आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे। उनले भने, ‘विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो।’
Shares

प्रतिक्रिया