ad ad

राजनीति


‘नेपालको जलस्रोत, बंगलादेशको ग्यासः आर्थिक समृद्धिको वाहक’

‘नेपालको जलस्रोत, बंगलादेशको ग्यासः आर्थिक समृद्धिको वाहक’

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १६:२१,

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बंगलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताएकी छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले लामो समयपछि बंगलादेशबाट भएको उच्चस्तरीय औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भएको बताइन्। उनले बंगलादेशसँग दौत्य सम्बन्ध कायम भएदेखि नै दुवै देशबीच घनिष्ठ सम्बन्ध रहेकामा सन्तोष व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले दुवै मुलुकसँग आर्थिक विकासमा अपार सम्भावना रहेको बताउँदै नेपालको जलस्रोत र बंगलादेशको प्राकृतिक ग्यासलाई दुवै देशको आर्थिक समृद्धिमा जोड्न सकिने धारणा व्यक्त गरिन्। बंगलादेशले हालै गरेको तीव्र विकासले आफूलाई खुशी लागेको बताउँदै उहाँले दुवै देशबीच व्यापार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक रहेकामा जोड दिइन्। नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको अवगत गराउँदै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पुरातात्विक सम्पदाले बंगलादेशका जनता नेपाल भ्रमणमा आकर्षित हुने विश्वास व्यक्त गरिन्।

नेपालले सन् २०२० अप्रिल २ देखि ४ सम्म पहिलो पटक जलवायु परिवर्तनको विषयसँग सम्बन्धित सगरमाथा संवाद आयोजना गर्न लागेको बताउँदै राष्ट्रपति भण्डारीले उक्त संवादमा बंगलादेशबाट उच्चस्तरको प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गरिन्। साझा चासो र हितमा द्विपक्षीय सहयोग बढाउँदै लैजानुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले गरीबी, बेरोजगारी, महिला हिंसा र कुपोषणबाट उन्मुक्ति पाउन यस क्षेत्रका क्षेत्रीय संस्था सार्क र बिम्स्टेकलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

Pro_Ktm_StateBanquet_3.jpg

प्रत्युत्तर भाषणमा बंगलादेशका राष्ट्रपतिले राष्ट्रपति भण्डारीसँग आज अपराह्न अत्युत्तम द्विपक्षीय भेटवार्ता भएको तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालको उच्च राजनीतिक नेतृत्वसँग भएका भेट द्विपक्षीय सम्बन्ध र सहयोगलाई बढाउनेमा नै केन्द्रित रहेका बताए।

उनले जलस्रोत व्यवस्थापन, जलविद्युत् उत्पादन, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, जलमार्ग, हवाई मार्ग, रेलसडकसहितका सम्पर्क सञ्जालका क्षेत्रमा दुवै देशले साझेदारी गर्न सक्ने प्रचूर सम्भावना छन् भन्दै ती क्षेत्रमा सहयोग बढाउन आफ्नो देश तत्पर रहेको बताए।

बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा बंगलादेश र नेपालले साझा चासोका मामिलामा साझेदारी गर्दै आएको बताउँदै उनले आफ्नो देश र नेपालका शान्ति सैन्यले राष्ट्रसंघीय शान्ति स्थापनाका कार्यमा उल्लेखनीय योगदान गरिरहेको उल्लेख गरे। बंगलादेशले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उनले सन् १९७१ को बंगलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन नेतृत्वबाट प्राप्त नैतिक एवं भौतिक सहयोगको सराहना गरे।

बंगलादेश र नेपाल इतिहास, संस्कृति र भाषाले अझ निकट जोडिएको बताउँदै उनले सन् २०२० मा राष्ट्रपिता बङ्गबन्धुको जन्मशतवार्षिकी समारोहका अवसरमा आयोजना हुने खुशीयालीको विशेष कार्यक्रममा नेपालबाट पनि सहभागिताको अपेक्षा गरे। नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले नीति तथा कार्यक्रमका लक्ष्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा सक्दो सहयोग गर्न बंगलादेश तत्पर रहेको बताए। सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणाीका कर्मचारीलगायत सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .