ad ad

राजनीति


मन्त्रिपरिषद् हेरफेरअघि ओली-नेपाल चार घण्टा वार्ता

मन्त्रिपरिषद् हेरफेरअघि ओली-नेपाल चार घण्टा वार्ता

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १८:१५,

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा चार घण्टा एक्लाएक्लै वार्ता भएको छ।

नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको तीन महिनापछि लामो भेटवार्ता भएको हो, जहाँ सहमतीमै पार्टी र सरकार सञ्चालन गर्ने समझदारी भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

प्रधानमन्त्री ओलीकै पहलमा भएको भेटवार्तामा विगतका तिक्तताको समेत समिक्षा गर्दै पार्टीलाई एक ढिक्का पार्नका लागि मिलेर जानुपर्ने समझदारी भएको छ।

प्रधानमन्त्री निकट नेकपाका एक नेताका अनुसार भेटमा नेपालले विगतमा व्यक्ति नभई पार्टी सञ्चालनको प्रक्रिया र पद्धतिको विषयमा आलोचना गरेको प्रधानमन्त्री ओलीलाई सम्झाएका थिए। उनले त्यस्तो पद्धति र प्रक्रिया सञ्चालनको नेतृत्व अध्यक्षबाटै हुनुपर्ने तर्क गरे।

‘दुई नेताहरुबीच पार्टी, सरकार र देशको पछिल्लो अवस्थाबारे गहिरो छलफल भएको छ’, रिजालले भने।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार मिलेरै सञ्चालन गर्ने भन्दै त्यसमा भूमिका खेल्न नेपाललाई आग्रह गरेका थिए।

भदौ ३ गतेपछि दुवै नेताहरुबीच बैठक तथा औपचारिक कार्यक्रममा बाहेक यसरी एक्लाएक्लै छलफल भएको थिएन। त्यो दिन बसेको सचिवालय बैठकले पार्टीको बरियताक्रममा नेपाललाई तेस्रोबाट चौथोमा झारेको थियो।

सिंगापुरमा दोस्रो पटक उपचारमा जानुअघि भएको यो बैठकमा दुई नेताबीच चर्काचर्की भएको थियो। बैठकमा नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

कात्तिक पहिलो साता मृगौलामा समस्या देखिएपछि ओली ग्राण्डी अस्पताल भर्ना हुँदा समेत नेपाल स्वास्थ्यस्थित बुझ्न गएका थिएनन्।

‘प्रधानमन्त्रीका रुपमा मानिसहरूले मलाई भनेपनि, पार्टी मिलेर कालापानीको विषयमा जिम्मेवारी पूरा गर्नुपर्छ’, नेपालसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामीप्रति जनताले अपेक्षा गरेका छन्।’

मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले त्यसअघि नेपालसँग गरेको यो भेटले नेकपाभित्र तरंग ल्याएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .