ad ad

राजनीति


प्रदेश १ मा अन्तरघात नै अन्तरघात : गठबन्धन फुट्दा एमालेमा पनि धोका

दुवैतर्फ भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाए
प्रदेश १ मा अन्तरघात नै अन्तरघात : गठबन्धन फुट्दा एमालेमा पनि धोका

राष्ट्रियसभामा विजयी सोनम ग्याल्जेन शेर्पा तथा पराजित सुमित्रा भण्डारी र गुरु बराल


कृष्ण बहाब
माघ १२, २०७८ बुधबार २१:१४, इटहरी

बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सातै प्रदेशबाट १९ सिट नै क्लिन स्विप गर्ने योजना बनाएको थियो। त्यही अनुसार देशैभर एमालेलाई धक्का दिने गरी गठबन्धनका नेताहरु पनि जुटेका थिए।

मंगलबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १९ वटै सिटमा जितेर एमालेलाई नराम्ररी पछारिदिने घोषणा गरेका थिए। 

उनले सबै सिटमा जितेर गठबन्धनले नयाँ राजनीतिक तरंग दिने घोषणा पनि गरे। तर प्रदेश १ मा भने नेता नेपालले भनेको भन्दा फरक दृश्य हिजैदेखि देखिएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशसमेत रहेको त्यहाँको नतिजा उल्ट्याउन सकिने योजनासहित एमालेले यसअघि मनोनयनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल प्रयास पनि गरेको थियो। 

तर अन्तिममा एक्लै मैदानमा उत्रिएको एमालेले प्रदेश १ मा गठबन्धन फुटाउन सफल भएको छ। तीनवटा सिटका लागि भएको प्रतिस्पर्धामा एमालेले एउटा र गठबन्धनले दुईवटामा जित निकालेका छन्। 

एउटा मत बराबरी भएपछि गरिएको गोलाप्रथाबाट एमालेले हार भोग्नुपरेको छ। यद्यपि एमालेले त्यहाँ पाँच दलीय गठबन्धनभित्र विभाजन ल्याउन भने सफल भएको छ। यसले गठबन्धनमा पनि खैलाबैला र शंकाको अवस्था पैदा गरिदिएको छ।

सत्ता गठबन्धनले पनि सातमध्ये ६ वटामा जित निश्चित रहेको आँकलन गरेका थिए। तर गठबन्धनका नेताहरुले सार्वजनिक खपतका लागि भने सबै सिट जित्ने  बताइरहेका थिए। 

सत्ता पक्षीय पाँच दलको गठबन्धन एक हुँदासमेत प्रदेश १ मा एमालेले तीन सिट जित्ने कोसिस गरेको थियो। यद्यपि गठबन्धनमा विभाजन ल्याएको एमालेले आफ्नै भोट जोगाउन नसक्दा नतिजामा गडबडी भएको छ। तीनै सदस्यमा कन्फिडेन्ट एमालेले एउटा सिटमा जित निकाल्यो। 

सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सोनाम ग्याल्जेनले गठबन्धनका उम्मेदवार हेमराज राईलाई पराजित गरेर क्लिन स्विप हुनबाट जोगाएका छन्। 

प्रदेशतर्फ सोनमले ४२ जना प्रदेश सांसद र १५२ स्थानीय प्रतिनिधिको मतभारसहित ४६५२ मत ल्याए। 

पराजित जसपाका हेमराज राईले ४९ प्रदेश सांसदको र १३३ स्थानीय प्रतिनिधिको मतभार सहित ४३८६ मत ल्याएका हुन्।

एमालेका ४० जना सदस्यले मात्रै मत हालेको राष्ट्रियसभाको बुधवारको निर्वाचनमा सोनाम ग्याल्जेनलाई ४२ जना प्रदेश सांसदले भोट हालेको देखिन्छ। अर्थात् एमाले बाहेक अन्य २ सांसदले सोनामलाई मत हाले।

राप्रपाको अल्पसङ्ख्यकतर्फको उम्मेदवार नभएकाले सोनामलाई एक मत त्यताबाट आएको अनुमान छ। एक मत राप्रपाबाट ल्याउँदा कांग्रेस वा गठबन्धनको तर्फबाट समेत सोनामले मत तानेको परिणामले देखाएको छ।

तीन सदस्यमध्ये २ जना सत्तारूढ गठबन्धनले जित्यो। गठबन्धन तर्फका उम्मेदवार गोपाल बस्नेतले ४४८८ मत ल्याउँदा एमालेका गुरु बरालले पनि ४४८८ मत ल्याएका थिए। 

प्रदेशसभाका ५० संसदहरुबाट २४०० र स्थानीय प्रतिनिधिहरूबाट ११६ जनाको २०८८ मत पाएका थिए। 
बरालले प्रदेशसभाबाट ३८ सांसदहरूबाट १८२४ मत पाए भने स्थानीय तहबाट १४८ जनाको २६६४ मत पाएका हुन्। दुई जनामध्ये गोला तान्दा बस्नेत विजयी भए।

जित्ने गुरुमाथि अन्तरघात

प्रदेश १ सभामा एमालेका जेल सजाय पाएकी गुलेफून खातुनसहित ४१ जना सांसद छन्। ५० सांसदसहितको सत्ता गठबन्धनमा र दुवै पक्षमा नरहेको राप्रपाबाट प्रदेश १ मा एक जना सांसद छन्।

एमाले सांसद गुलेफुन खातुनलाई अदालतले कैद सजाय सुनाएपछि फरार छिन्। त्यसैले खातुन मतदानमा सहभागी भइनन्। खातुन नआएकाले एमालेको प्रदेशसभाका ४० सांसदले मात्रै राष्ट्रियसभा निर्वाचनमा मत हाले।

सोनामका लागि दुई जना अन्य सांसदहरूले मत हाले पनि गुरु बराललाई एमालेभित्रैबाट अन्तरघात भएको छ। 

बरालको परिणाम हेर्दा भोट एमाले ४० सांसदहरूमध्ये ३८ जनाले मात्रै मत दिए। दुई सांसदले अन्तरघात गर्दा बराल गोला प्रथामा पुग्नु पर्‍यो। र, पराजय पनि भोगे।

एमाले नेता बरालले उम्मेदवारी दिएको पदमा राप्रपाका उम्मेदवार अमरबहादुर थापाले भने प्रदेशसभाका २ जना सांसदले पाएको देखिन्छ। प्रदेश १ मा राप्रपाका ए मात्रै सांसद छन्। तर थापालाई २ जना प्रदेश सांसदले मत दिए।

एमालेका उम्मेदवार बरालकहाँ ४० सांसद मध्ये ३८ सांसदको मात्रै मत आउनु र राप्रपाका उम्मेदवारको मत बढी देखिनुले बराललाई एमालेबाटै अन्तर्घात भएको बुझिन्छ।

बराललाई गोलाप्रथामार्फत पराजित गरेका गोपाल बस्नेतलाई भने गठबन्धनका सबै अर्थात् ५० जना सांसदहरूले मत दिए। 

एमालेका सोनाम ग्याल्जेनले जित्दा गठबन्धनभित्रै अन्तरघात भएको देखिए पनि बस्नेतको मामिलामा गठबन्धन एकजुट देखिएको हो।

एमालेकी सुमित्रालाई पनि अन्तर्घात!

एमालेबाटै महिलातर्फ उम्मेदवार बनेकी सुमित्रा भण्डारीलाई पनि प्रदेश १ का एमाले सांसदहरूले अन्तर्घात गरेका छन्। 

सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मारेकी थिइन। भण्डारीले पनि पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३८ को मात्रै मत पाइन्। 

गठबन्धनमा अन्तरघात

उता गठबन्धनमा पनि स्थानीय जनप्रतिनिधि र सांसदहरुबाट अन्तरघात भएको छ।

अल्पसंख्यक तथा अपाङ्गता कोटामा गठबन्धनका हेमराज राईलाई ५० मध्ये ४९ मात्रै सांसदले मत दिए। अर्कातिर स्थानीय तहका १२ जनाले पनि उनलाई अन्तरघात गरेका छन्। उनले १२५ जनाको मत पाउनुपर्नेमा ११३ ले मात्रै मत हाले। 

अर्कातिर खुल्लातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर विष्टलाई एकजना अन्य दलका सांसदको मत गएको छ। प्रदेश १ मा राप्रपाका एक मात्रै सांसद छन्। त्यस्तै उनलाई चार स्थानीय प्रतिनिधिले मत दिए। जबकि त्यहाँ राप्रपाका तीन मात्रै स्थानीय प्रतिनिधि छन्। 

प्रदेश १ मा एमालेबाट राष्ट्रियसभाका सांसदहरु पर्शु मेघी गुरुङ, अगम बान्तवा र नैनकला ओझाको पदावधि फागुन २० मा सकिँदैछ। 

उनीहरुको स्थानमा बुधबार निर्वाचन हुँदा पाँच दलीय गठबन्धनले २ र एमालेले एक सिटमा जित निकालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .