ad ad

राजनीति


वैशाखमै स्थानीय निर्वाचन : दुई चरण कि एकै चरणमा?

प्रचण्डले भनेपछि यसरी सहमत भए देउवा
वैशाखमै स्थानीय निर्वाचन : दुई चरण कि एकै चरणमा?

फाइल फोटो


सागर न्यौपाने
माघ ३, २०७८ सोमबार २३:२२, काठमाडौँ

सरकारले वैशाख अन्तिम साता गर्ने गरी स्थानीय तहको निर्वाचन मिति तोक्ने भएको छ।

देशभरका ७ सय ५३ पालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदै छ।

निर्वाचन आयोगलाई चुनाव गराउन आवश्यक १२० दिनमा सय दिनको समय राखेर सरकारले मिति तोक्न लागेको हो। 

विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति तोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए।

नेपालखबरसँग कुरा गर्दै मन्त्री खतिवडाले कानुनी बाध्यात्मक अवस्थालाई सरकारले पालना गर्ने पनि बताए।

‘अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्छ,’ मन्त्री खतिवडाले भने, ‘संविधानको व्यवस्थालाई हामीले पालना गर्नुपर्छ, हामी संविधानको पालनकर्ता हौँ, चुनावी मिति तोक्छौँ।’

निर्वाचन आयोगले सरकारलाई पुसमै माघको पहिलो हप्तासम्म निर्वाचनको मिति तोक्न आग्रह गरेको थियो।

सत्ता गठबन्धनका पाँच दलबीच साझा समझदारी नबनेकाले मिति तोक्न ढिलाइ हुँदा निर्वाचन हुने वा नहुने आशंका थियो।

यसबीचमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेताहरुलाई कोरोना देखिएपछि राजनीतिक भेटघाट ठप्प भएको थियो।

पाँच दलका नेताहरुबीच साझा धारणा र सहमति नजुटी निर्वाचनबारे निर्णय हुने सम्भावना थिएन।

त्यसकारण निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भइरहेको थियो। 

तर, सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भएको छलफलपछि स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने समझदारी बनेको स्रोतले जनाएको छ। 

‘प्रधानमन्त्री र प्रचण्डजीबीच निर्वाचन आयोगले प्रस्ताव गरेकै मितिमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, वैशाख अन्तिमसम्म चुनाव गर्नेगरी मन्त्रिपरिषद्ले मिति घोषणा गर्नेछ।’  

‘संविधानमै उल्लेख भएको व्यवस्था अनुसार जानुपर्छ,’ प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएको सुझाव उधृत गर्दै स्रोतले थप्यो, ‘संयन्त्र र गठबन्धनको बैठक बोलाउ, त्यही निर्णय गरेर निर्वाचन मितिबारे निर्णय गराएर अघि बढौँ।’

देउवा र प्रचण्डबीच सहमति बनेपछि भोलि मंगलबार सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक बोलाइएको छ। बिहान ९ बजे बालुवाटारमा बैठक बस्नेछ।

कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रमा सत्ता गठबन्धनका पाँचै दलका नेताहरु छन्। त्यही संयन्त्रको बैठकले निर्वाचनका लागि सरकारलाई आवश्यक सुझाव दिनेछ। त्यही सुझावअनुसार मन्त्रिपरिषद्ले मिति घोषणा गर्नेछ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन मिति घोषणाअघि सत्ता गठबन्धनको बैठक बस्ने पनि समझदारी बनेको छ। संयन्त्रको बैठक लगत्तै सम्भवतः गठबन्धनको पनि बैठक बस्न सक्नेछ।

स्थानीय तहको निर्वाचनमा जाने विधिका विषयमा गठबन्धनमा छलफल हुने स्रोतले जनाएको छ।

सरकारलाई निर्वाचन आयोगले वैशाख १४ र २२ गते गरी दुई चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव गरेको थियो।

तर, अहिले आयोगले त्यो समयमध्ये वैशाखभर चुनाव गर्न सकिने विकल्प पनि दिएको छ।

आयोग तयार
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार वैशाख २७÷२८ सम्म निर्वाचन गर्न आयोगले सक्नेछ। 

‘हामीले सरकारलाई वैशाख १४ र २२ गतेको मिति प्रस्ताव गरेका छौँ, एकै चरणमा गर्ने हो भने वैशाख २२ गते सबैभन्दा राम्रो समय हो,’ थपलियाले नेपालखबरसँग भने, ‘तर, २८ गतेसम्म गर्दा पनि हुन्छ। हामी जेठ लागेपछि चुनाव गर्न सक्दैनौं, त्यो कानुन र संविधानको व्यवस्थाविरुद्ध हुन्छ।’

एकै चरणमा चुनाव गर्न आयोग तयार रहेको थपलियाले दाबी गरे।

‘हामी एकै चरणमा चुनाव गर्न सक्षम छौँ, अहिले भएको जनशक्तिमा अलिकति बढाउनुपर्छ, दिनरात खट्नुपर्छ, चुनाव गराउन सक्छौं,’ उनले भने, ‘यदि दुई चरणमा गर्नुपर्यो भने २२ गते र २८, २९, ३० मध्ये कुनै एकदिन गर्न सकिन्छ।’

समय छोटिँदै
सरकारले मिति घोषणा गर्न ढिलाई गर्दा आफूहरुको तयारी गर्ने समय पछि छोटिँदै गएको उनले बताए।

सरकार सञ्चालन समन्वय संयन्त्र र गठबन्धनको बैठकले आयोगसँग मितिबारे परामर्श माग गर्ने सम्भावना छ।

त्यसो भएको अवस्थामा वैशाख २२ र २८ कै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ। 

आगामी वैशाखभित्र चुनाव नभए संवैधानिक जटिलता आउने भएकाले निर्धारित मितिमै चुनाव गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत भएपछि आयोगले अब भने चुनाव हुने विश्वास लिएको छ।

त्यसो त एकैपटक तीनै तहको स्थानीय, प्रदेश र संघीयको चुनाव गरेर जानेबारे पनि चर्चाहरु भएका थिए। तर, आयोगले त्यसको ठाडै खण्डन गरेको छ।

बाध्यता
‘तीनै चरणको चुनाव एकैपटक गर्नै मिल्दैन, सरकार र दलहरूलाई दिएको सुझाव उद्धृत गर्दै प्रमुख

निर्वाचन आयुक्त थपलियाले भने, संविधानले दिँदैन, त्यसविरुद्ध जान मिल्दैन, जाने हो भने प्रदेश र संघ विघटन गर्नुपर्छ, त्यो पनि मिल्दैन। आगामी माघ महिनासम्म संघ र प्रदेशको समय छ।

’आयोगले दिएको त्यही सुझावले गठबन्धन स्थानीय चुनावको लागि तयार भएको हो।

‘विभिन्न विकल्प छलफल भएको थियो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले भने, ‘तर, आयोगले आउँदो वैशाखमा स्थानीय तहको चुनाव गरिसक्नुपर्छ भनेपछि हामीले त्यसलाई

नमान्ने भन्न मिलेन, कि गछौँ भन्नुपर्यो कि गर्दैनौं भन्न सक्नुपर्यो। हामी चुनाव गछौँ, प्रस्तावित मितिमै गर्छौँ।’

२०७४ मा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। 

त्यसबेला तीन चरणमा चुनाव गरेको निर्वाचन आयोग अहिले एकै चरणमा चुनाव गर्न सक्ने बताइरहेको छ। 

विहीबार बस्ने क्याविनेट बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्‍यो भने देश संविधान जारी गरिएयता दोस्रोपटक चुनावमा होमिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .