ad ad

राजनीति


प्रदेश २ को स्थायी राजधानी र नाम : जुटेन सहमति, के होला परिणाम?

प्रदेश २ को स्थायी राजधानी र नाम : जुटेन सहमति, के होला परिणाम?

शैलेन्द्र महतो
माघ २, २०७८ आइतबार १७:४७, काठमाडौँ

प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति सहमतीय प्रयासमा असफल भएको छ। नाम र राजधानी सम्बन्धी केही प्रस्तावहरू परिमार्जन गरेर घटाउन सके तापनि कुनै एउटा नाम र राजधानीको प्रस्तावमा सहमति जुटाउन नसकेको हो। 

आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्दै अब गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको छ। बैठकमा विशेष समितिको लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका प्रमेश्वर साहले प्रतिवेदन पढेर सुनाएका हुन्। 

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई चारवटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गर्न सकेको उल्लेख छ। 

अब नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति श्रोत साधन, मतदान सामग्रीहरु तथा सुरक्षा प्रबन्ध लगायतका यथोचित व्यवस्थापन गर्नु पर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको हो। 

राजधानीका तीन र नामका चार प्रस्ताव, यी हुन् प्रस्तावक
नामको प्रस्तावहरुमा ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ रहेको छ। यस्तै, राजधानीको लागि जनकपुरधाम र वीरगञ्जको दुई वटा प्रस्ताव पेश भएको छ। 

‘मधेश प्रदेश’ नाम सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र सत्ता घटक नेकपा (माओवादी केन्द्र)को संयुक्त प्रस्ताव हो भने त्यसमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको छ।

‘मधेश’ नामको प्रस्तावकमा जसपाका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह रहेका छन्। समर्थकहरुमा वविता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगत प्रसाद यादव र  दिलीप साह रहेका छन्।  

‘मिथिला भोजपुरा’ नामको प्रस्ताव नेपाली कांग्रेसको रहेको छ। यस नामको प्रस्तावक कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरी छन् भने समर्थकहरु  नागेन्द्र प्रसाद सिंहा, प्रमिला देवी दास र मञ्जु कुमारी रहेकी छन्। 

‘जानकी प्रदेश’ काे प्रस्ताव नेकपा (एकीकृत समाजवादी) को हाे। यो नाममा प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गरेको छ। यो नामको प्रस्तावक नेकपा एसका प्रदेश मामिलामन्त्री प्रमोद कुमार यादव छन् भने समर्थकहरु बेची लुंगेली, दिल्ली प्रसाद उप्रेती र नागेन्द्र राय यादव रहेका छन्।  

त्यस्तै ‘मध्य मधेश प्रदेश’ नामको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने समर्थकहरु कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी हुन्। 

राजधानीमा दुई प्रस्ताव
जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्ताव सबै दलका साझा प्रस्ताव रहेको छ। उत्तरमा धनुषा ढल्केवरको पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रको सम्पूर्ण भूभाग ‘जनकपुरधाम’ राजधानी हुने प्रस्तावमा उल्लेख छ। 

दोस्रो, राजधानीको प्रस्तावमा ‘वीरगञ्ज’ रहेको छ। यसमा पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग समेटिएको छ। 

यसको प्रस्तावक जसपाका सांसद सिंगासन साह कल्वार रहेका छन् भने समर्थक लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादव रहेकी छन्। 

तेस्रो प्रस्ताव वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग रहेको छ। जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी समर्थक छन्। 

पुनः नाम र स्थायी राजधानी दुवै फेल हुने सम्भावना 
प्रदेशको स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा हाल कायम रहेको प्रदेश सभा सदस्यको संख्याको दुई तिहाइ बहुमतले पारित गर्न सक्ने संवैधानिक प्रावधान रहेको छ।

प्रदेशसभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना प्रदेश सांसदहरु छन्। सत्तारूढ जसपाका ३९, सत्ता घटक कांग्रेसका १९, सत्ता घटक एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ प्रदेश सांसद छन्। 

यस्तै, प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ सांसद छन्। दुई तिहाइका लागि ७० जना सांसदको मत चाहिन्छ। 

तर, यी मध्ये राजधानीका लागि सबै दल एकमत भएपनि नामको लागि कुनैपनि प्रस्तावको लागि दुई तिहाइ बहुमत कसैसँग छैन। तर, रौतहट, बारा र पर्साका सबै दलका केही सांसदहरु राजधानी वीरगञ्ज हुनुपर्नेमा आन्तरिक तथा बाहिरी अभ्यासमा देखिएकाले जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको साझा प्रस्ताव पनि फेल हुने हो की सम्भावना बढ्दै गएको चर्चा चल्न थालेको छ। 

मधेश प्रदेश नाम हुनुपर्ने पक्षमा तीन दल जसपा, लोसपा र माओवादी केन्द्र छन्। जसमा एक नेपाल संघीय समाजवादी पार्टी पनि सो प्रस्तावमा मत दिने देखिन्छ। उनीहरुको सबै संख्या जोड्दा ६४ मत पुग्छ। तर ६ मत अझै अपुग छ। 

आइतबारको प्रदेशसभा बैठकमा दलहरुले चार वर्षमा नाम र राजधानीको टुंगो लगाउन नसक्नु दुःखद कुरा रहेकाले जसरी भएपनि कुनै एउटा प्रस्तावमा सहमतिको प्रयास गर्नुपर्नेमा जाड दिएका छन्। 

यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो। तर दुई तिहाई कुनै पनि प्रस्तावमा संख्या नपुग्दा फेल भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .